अदालतले थुनामा पठाएपछि रेशम चौधरीले के भने ? हेर्नुस् भिडियो

अदालतले थुनामा पठाएपछि रेशम चौधरीले के भने ? हेर्नुस् भिडियो

धनगढी : टीकापुर घटनाका मुख्य योजनाकार आरोपी रेशमलाल चौधरीलाई जिल्ला अदालत कैलालीले सोमबार पुर्पक्षका लागि कैलाली कारागार चलान गरेको छ। चौधरीले सोमबार बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। आफ्ना कार्यकर्तालाई समेत जानकारी नगराई आएका रेशम अदालतमा झुल्किएपछि मात्रै सबैलाई थाहा भएको थियो।

बिहान साढे १० बजे नै रेशम चौधरी आउने सुइँको पाएपछि जिल्ला अदालतमा प्रहरीले बाहिरबाटै प्रक्राउ गर्ने योजना बनाएको थियो। तैपनि, प्रहरीलाई छकाउँदै चौधरी आफैं मोटरसाइकल चलाएर अदालत पुगेका थिए।

चौधरीले अदालत आएपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले सोमबार उनको तीन/चार घण्टा लामो बयान लिएका छन्। बयानका क्रममा रेशमले टीकापुर घटनाका बेला आफू टीकापुरमा नरहेको र घटनामा कुनै संलग्नता नरहेको बयान दिएको अदालत स्रोतले जानकारी दिएको छ। चार घण्टा लामो बयानपछि रेशमका तर्फबाट चार जना अधिवक्ताले उनलाई साधारण तारेखमा छाड्न अपिल गरेका थिए।

चौधरीका तर्फबाट कैलाली बार इकाइका पूर्वअध्यक्ष गंगाराम पाध्याय, गजेन्द्र केसी, नाथुराम महतो र मिलन राईले बहस गरेका थिए। चारै जनाले रेशम टीकापुर घटनाका मुख्य योजनाकार नरहेको र वारदात भएको दिन टीकापुरमा पनि नरहेकाले उनलाई साधारण तारेखमा छाड्न मागदाबी गरेका थिए। उनीहरूले भारी मतान्तरले प्रतिनिधिसभा सदस्यमा जितेका चौधरीलाई जनमत रहेको र उनी माननीय भइसकेकाले पनि अदालतले साधारण तारेखमा छाड्न दलिल पेस गरेका थिए।

तर, न्यायाधीश परशुराम भट्टराईको इजलासले जनमतका सम्मान गरिए पनि त्यसअघिको फौजदारी अभियोगलाई पनि नजरअन्दाज गर्न नमिल्ने भन्दै उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ। वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता प्रकाशबहादुर भण्डारी, सहन्यायाधिवक्ताद्वय नवीनकुमार भट्ट र भानदेव जोशीले बहस गर्दै पक्राउ परेका २५ जनामध्ये अधिकांशले चौधरीलाई मुख्य योजनाकार भनेर बयान दिएकाले उनलाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका थिए।

चौधरीसहितका ५८ जनाविरुद्ध कैलाली जिल्ला अदालतमा कर्तव्य ज्यान, डाँका चोरी र ज्यान मार्ने उद्योग गरी तीन मुद्दा दर्ता गरिएका छन्। उक्त अभियोगपत्रमा अहिले कैलाली कारागारमा रहेका राजपाकै नेता लक्ष्मण चौधरीसहितका ८/१० जनाले उक्त घटनाका मुख्य योजनाकार रेशमलाल चौधरी भएको बयान दिएको उल्लेख छ।

टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट, केशव बोहरासहित आठ जना सुरक्षाकर्मी र एक दूधे बालक टेकेन्द्र साउदको बीभत्स हत्या भएको थियो। वादी पक्षले टीकापुर घटना राजनीतिक घटना नभएको र फौजदारी अभियोगमा जनमतलाई राजनीतिक आवरण बनाउन नहुने दलिल पेस गरेको थियो।

रेशमलाल चौधरी पक्षका चार र सरकार पक्षका चार जनाको बहसपछि अदालतले गरेको आदेश सुनाउँदै स्रेस्तेदार इन्द्रबहादुर कठायतले अर्को पेसी फागुन १६ गते हुने बताए। अदालतले चौधरीलाई मौकामा फरार रही सोमबार उपस्थित भएका, अभियोजन पक्षको अभियोग दाबी पूर्ण इन्कार हुने गरी बयान दिएको हुँदा ‘कसुरदार रहेनछन्’ भन्न नमिल्ने भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

‘किटानी जाहेरी दरखास्त, घटना मुचुल्का, लासजाँच मुचुल्का, शव परीक्षण प्रतिवेदन, घटनास्थलको साक्षी, घटनाको वस्तुस्थिति, पोलिग्राफ परीक्षण, कल डिटेलजस्ता संलग्न धेरै प्रमाण, हृदयविदारक तथ्य, आधार र कारणको दफा १८ बमोजिम प्रमाण मान्न सकिने भएकाले उहाँलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ’, कैलाली जिल्ला अदालतले दिएको आदेशमा उल्लेख छ।

अदालतको आदेशपछि चौधरीलाई प्रहरीले पक्राउ गरी कैलाली कारागार लगेको छ। कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरे सोमबार बिहानैदेखि जिल्ला अदालत परिसरमा आफैं खटिएका थिए। धेरैबेरसम्म अदालत परिसरमा सञ्चारकर्मीलाई पनि प्रदेश गर्न दिइएको थिएन। तर पछि पालैपालो गरी इजलासमा पनि जान दिइएको थियो।

पुर्पक्षका लागि थुनामा पठाइएका चौधरीले अदालत परिसरमै पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै आफूले अदालतको सम्मान गर्ने बताएका छन्। तर, अदालतले आफूलाई थुन्न लगाएर जनमतको सम्मान नगरेको महसुस भएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.