विश्वासको मत लिदैं मुख्यमन्त्री शाही
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही प्रदेशसभाबाट विश्वासको मत लिदैं छन्। प्रदेशसभाको आज (मंगलबार) दिउँसो बस्ने बैठकमा उनले विश्वासको मत लिनेछन्।यसका लागि संसदमा मत विभाजन हुनेछ।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।माओवादी संसदीय दलका नेता शाही यही फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले विश्वासको मत लिन थालेका हुन्। दिउँसो १ बजेका संसद लागि बैठक बोलाइएको छ।
बैठकमा सर्वप्रथम मुख्यमन्त्री शाहीले आफूलाई विश्वासको मतका लागि प्रस्ताव राख्नेछन्। उनले प्रस्ताव राखेपछि त्यसमा छलफल हुनेछ।त्यसपछि छलफलमा उठेका विषयमा मुख्यमन्त्री शाहीले जवाफ दिनेछन्।
उनले जवाफ दिएपछि संसदमा लिखित रुपमा मतदान हुनेछ।मतदानमा मुख्यमन्त्रीको पक्षमा बहुमत अर्थात् २१ मत प्राप्त भए उनी मुख्यमन्त्रीमा पक्का हुनेछन्।प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएपछि मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्नेछैन।
कर्णाली प्रदेशमा सभामुखबाहेक ३९ जना सांसद छन्। सरकार गठनका लागि २१ सांसदको समर्थन भएमात्र बहुमत पुग्छ। प्रदेशसभामा सभामुखबाहेक एमालेका १९ जना र माओवादी केन्द्रका १३ जना सदस्य छन्। दुवै दलको कुल सिट सदस्य संख्या ३२ छ। मुख्यमन्त्रीलाई एमालेको पनि समर्थन रहेकाले संसदमा दुई तिहाइभन्दा बढी बहुमत प्राप्त हुने देखिन्छ।