धरमराउँदै फोरम-राजपा गठबन्धन

धरमराउँदै फोरम-राजपा गठबन्धन

 

वीरगन्ज : प्रदेश २ मा सरकारले पूर्णता नपाउँदै संघीय फोरम-राजपा गठबन्धन धरमराउन थालेको छ । संघीय फोरम केन्द्र सरकारमा सहभागी हुन लागेपछि प्रदेशमा राजपासँगको गठबन्धन समस्यामा परेको हो ।

राजपा नेताले फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा गए प्रदेश २ मा सरकार छाड्न सक्ने संकेत गरेका छन् । राजपा अध्यक्षमण्डल सदस्य राजेन्द्र महतोले फोरम केन्द्र सरकारमा गए आफूहरूले प्रदेशमा समर्थन फिर्ता लिन सक्ने जनाउ दिएका हुन् ।

‘हामीसँगको पछिल्लो कुराकानीमा उहाँ (उपेन्द्र यादव)ले केन्द्र सरकारमा जाने कुरा गर्नुभएको छैन’, नेता महतोले भने, ‘उहाँ केन्द्र सरकारमा जानुहुन्छ भने हामी पनि सोच्न बाध्य हुन्छौं ।’

फोरम-राजपा गठबन्धनले प्रदेश २ मा ५४ सिटमा जित हासिल गरेको थियो । दुवै दल मिलेर सरकार गठन भइसके पनि विस्तार हुन सकेको छैन ।

राजपा अध्यक्षमण्डलकै सदस्य राजकिशोर यादवले फोरम केन्द्र सरकारमा गए गठबन्धनको औचित्य नरहने बताए । ‘फोरम केन्द्र सरकारमा जान्छ भने गठबन्धनको औचित्य रहनेछैन’, उनले भने, ‘उनीहरू सरकारमा गए भने हामी प्रदेश नम्बर २ मा विचार गर्न बाध्य हुन्छौं ।’

मधेसका लागि कुनै पनि सम्झौता राजपाको उपस्थितिबिना हुन्छ भने मान्य नहुने चेतावनी उनले दिए । ‘संविधान संशोधन हाम्रो बटमलाइन हो । तसर्थ जुनसुकै सम्झौता राजपाको उपस्थितिमा हुनुपर्छ’, उनले भने, ‘अन्यथा पछि हामी आन्दोलन गर्न र गठबन्धनविरुद्ध उत्रिन बाध्य हुन्छौं । हामी पर्ख र हेरको अवस्थामा छौं ।’ यही कारण प्रदेश २ को मन्त्रिपरिषद् विस्तार नगरेको उनले खुलाए । ‘फोरम एकलौटी केन्द्र सरकारमा जान्छ भने त्यसपछि राजपा अर्को निर्णय गर्न बाध्य हुन्छ’, उनले भने ।

राजपा महामन्त्री मनीष सुमनले फोरमसँगको सहकार्यबारे पार्टीमा छलफल भइरहेको जानकारी दिए । ‘फोरम र राजपाबीच सहमति भएरै प्रदेश २ मा सरकार बनेको हो’, उनले भने, ‘फोरम सहमतिविपरीत जान खोजेको संकेत हामीले पनि पाएका छौं ।’

प्रदेश २ मा एक सय सात प्रदेशसभा सदस्य छन् । फोरम-राजपा गठबन्धन सरकारलाई वाम गठबन्धनको पनि समर्थन छ । राजपाले सरकार छाडे पनि वाम गठबन्धनको समर्थन रहने हुँदा फोरमकै नेतृत्वमा प्रदेश सरकार रहने देखिन्छ । राजपा बाहिरिएको अवस्थामा पनि फोरम नेतृत्वको सरकारलाई ६३ प्रदेशसभा सदस्यको समर्थन रहनेछ । सरकार गठनका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन भए आवश्यक बहुमत पुग्छ ।

कुन दलको कति सिट ?

फोरम २९

राजपा २५

एमाले २१

कांग्रेस १९

माओवादी ११

संघीय समाजवादी १

स्वतन्त्र १


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.