के गर्दैछन् कांग्रेस नेता रामचन्द्र पौडेल ?

के गर्दैछन् कांग्रेस नेता रामचन्द्र पौडेल ?

काठमाडौँ: नरम स्वभावका नेताको छबि बनाएका रामचन्द्र पौडेल केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कडारुपमा प्रस्तुत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रमकरुपमा प्रस्तुत भएपछि वरिष्ठ नेता पौडेल राजनीतिक वृतमा चर्चामा छन् । देउवाले गुटसंरक्षण बाहेक केही नगरेको गम्भीर आरोप पनि लगाए ।

१७ पटक प्रधानमन्त्री र एक पटक पार्टी सभापतिमा पराजित भइसकेका पौडेल २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा समेत पराजित भएका छन् । उनी मात्र पराजित भएनन्, कांग्रेसको पनि लज्जास्पद हार भएको छ ।

कसरी अघि बढ्लान् ?

पछिल्लो समय पराजयका श्रृंखला बेहोरिरहेको पौडेल अब कसरी अगाडि बढ्छन् ? अब उनको पार्टी र देशको राजनीतिमा कस्तो कस्तो भूमिका हुन्छ ? १७ पटक प्रधानमन्त्रीको निर्वाचनमा हारेका पौडेललाई छाया सरकारको प्रधानमन्त्री बनाउने चर्चा समेत चलेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको निगरानीका लागि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया प्रधानमन्त्री बनाउने बैधानिक निर्णय कांग्रेसले गरिसकेको छ ।

बर्दिया क्षेत्र नम्बर १ संजय गौतम छाया प्रधानमन्त्री संसदीय दलको नेता नै हुने बताउँछन् । उनले पौडेल समग्र कांग्रेसको नेता भएको बताए । उनले पौडेलको विचार र नेतृत्वका पछाडि धेरै कांग्रेसीहरु गोलबन्द रहेको बताए ।

‘रामचन्द्र कांग्रेसको नेता हो, उहाँले पार्टी भित्र एउटा विचारको प्रतिनिधित्व गर्नुहुन्छ, त्यसको पछाडि हामी छौँ’, युवा नेता गौतमले भने,‘गणितीय हिसाबले निर्वाचन हारेपनि उहाँको विचारमा कांग्रेस अघि बढ्छ ।’उनले चुनावमा हारेर पौडेलको कांग्रेसमा भुमिका कम नभएको पनि बताए । १३ औँ महाधिवेशनमा पराजित भएका पौडेलको पार्टी नेतृत्वका लागि खाँचो महसुस भइरहेको बताए ।

कांग्रेसलाई सवल र समक्ष बनाउन पौडेलको नेतृत्वको विकल्प नरहेको समेत उनले बताए । नेता गौतमले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कांग्रेसको भूमिका र लोकतन्त्रको पक्षमा पौडेलले स्पष्ट विचार राखेको समेत अवगत गराए ।

छायाका नाममा साइड लाउने खेल

प्रधानमन्त्री हुने अवस्थामा नदिने तर निर्वाचन हारेको अवस्थामा छाया प्रधानमन्त्री बनाउन खोज्नुको अर्थ के हुने ? छायाँ प्रधानमन्त्रीको नाम पौडेलको ल्याएर पार्टीको भूमिकाबाट पन्छाउन खोजेको समेत एक कांग्रेस नेताले बताए ।

आफुलाई साथ दिनेलाई संरक्षण गर्न नसक्ने नेताका रुपमा आलोचित पौडेल तत्काल नै हुने संसदीय दलको नेतामा सभापति देउवाको विकल्प खोज्नुपर्ने पक्षमा छन् । पौडेल महामन्त्री डा.शाशंक कोइराला वा पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई संसदीय दलको नेता बनाउनुपर्ने पक्षमा छन् । हुन त देउवा समेत महामन्त्री कोइरालालाई आफु पक्षमा लिन संसदीय दलको नेता हस्तान्तरण गर्ने सोचमा रहेको देउवानिकटस्थ स्रोत बताउँछ ।

जित भन्दा हार धेरै

रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनमा निरन्तर लागिरहेका शालिन नेता हुन् । २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे ।

राजा महेन्द्रले ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई जेल हालेपछि पौडेल राजनीतिमा होमिएका हुन् । सुशील कोइरालाको मृत्युपछि कांग्रेसको कार्यवाहक सभापति समेत भइसकेका पौडेलले पाँच पटक संसदीय चुनाव जितेका छन् ।

उनले २०४८ को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं १ बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं २ बाट विजय हासिल गरेका थिए । तनहुँ क्षेत्र नम्बर २ बाट २०६४ र २०७० सालको दुवै संविधान सभाको निर्वाचनमा पौडेल निर्वाचित भएका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले गुटसंरक्षण बाहेक केही गर्न नसकेको गम्भीर आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल कडारुपमा प्रस्तु भएका छन् ।

तनहुँको क्षेत्र नम्बर १ बाट लगातार ५ पटक निर्वाचित २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचनमा पौडेल पराजित भए । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका उनलाई वाम गठबन्धनका एमाले उम्मेदवार किसानकुमार श्रेष्ठ किसानले पराजित गरे ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पौडेल व्यवस्थापिका सांसदको सभामुखदेखि शान्ति तथा पुन:र्निर्माण मन्त्री र उपप्रधानमन्त्री लगायत विभिन्न मन्त्रालय सम्हालिसकेका छन् ।

बीपी कोइरालाको सान्निध्य र त्यागबाट प्रभावित भई राजनीतितर्फ आकर्षित भएका ७३ वर्षीय पौडेल पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण पटकपटक गरी १५ वर्ष जेल परेका छन् । ज्ञानेन्द्र शाहको शासनकालमा पौडेल पछिल्लो पटक एक वर्षसम्म नजरवन्दमा परेका थिए।

पौडेलको राजनीतिक जीवनमा प्रधानमन्त्री पदमा १७ पटकको पराजय भए । २०६७ साउनमा प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, माओवादीबाट प्रचण्ड र एमालेबाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । मतसंख्या तीनैजनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीनजनाबीच प्रतिस्पर्धा भयो ।

आठौं प्रतिस्पर्धापछि प्रचण्ड प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । १७ औ पटकमा झलनाथ प्रधानमन्त्रीमा निर्वाचित भए भने रामचन्द्र पराजित भए । उनलाई प्रधानमन्त्री १७ पटक हारेको धब्बा सधैँ लागिरहेको छ ।

अडान नभएका नेता

उनलाई अडान नभएको नेताको आरोप लाग्नेगर्छ । उनका निकटस्थहरु साँघुरो सोच र सानो चित्तको नेता भन्नेहरु समेत छन् । गुटको संरक्षण गर्न नसक्ने नेता भनेर उनी निकटहरु नै बताउँछन् ।

आफ्नो पक्षमा लाग्नेहरुलाई संरक्षण गर्न नसक्ने भएका कारण सधै नेताले उनलाई छोडेका छन् । उनी आफ्नो स्थानको मात्र सुरक्षामा ध्यान दिन्छन् । उनको गुटको नेतृत्व गर्ने क्षमता कमजोर भएकै कारण लामो समयदेखि कोइराला गुटको बर्चश्व रहेको कांग्रेसमा एकाएक देउवा गुट बलियो भएर शेरबहादुर देउवा पार्टी सभापति हुन पुगे ।

राजनीतिक दाउपेचमासमेत उनी कमजोर देखिन्छन् । राजनीतिक दाउपेचमा कमचोर भएकै कारण उनी कहिलै पार्टीको वा देखको प्रमुखपदमा पुग्न सकेका छैनन् ।१७ पटक प्रधानमन्त्रीमा पराजित भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.