भैरहवामा बडीबिल्डिङ प्रतियोगिता हुने
भैरहवा : भैरहवामा पहिलो पटक बडीबिल्डिङ तथा मेन्स फिजिक्स प्रतियोगिता हुने भएको छ।बडीबिल्डिङ तथा फिटनेश एशोसियसन रुपन्देहीको आयोजनामा अगामी फागुन २५ र २६ गते लुम्बिनी अञ्चल स्तरीय प्रथम बुद्ध क्लासिक बडीबिल्डिङ तथा मेन्स फिजिक्स प्रतियोगिता हुने भएको हो।
मंगलबार आयोजकले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगितामा ५ वटा तौल समुह ५५, ६०, ६५, ७० र ७० केजी भन्दा माथिको तौल समुह बिच प्रतिष्पर्धा हुने जनाएको छ ।
प्रत्येक तौल समुहका प्रथमबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा हुने संस्थाका अध्यक्ष अर्जुन विकले बताए ।उनले प्रतियोगितामा प्रत्येक तौल समुहका विजेताले ५ हजार रुपैयाँ, स्वर्ण पदक, दोश्रोले रजत पदक र तेश्रोले काश्य पदक तथा उपाधी विजेताले ३५ हजार रुपैयाँ, ब्यानेट र ट्रफी प्राप्त गर्ने बताए।
त्यस्तै मेन्स फिजिक्स खुल्ला प्रतियोगितामा प्रथम हुने खेलाडीले ५ हजार रुपैयाँ र स्वर्ण पदक प्राप्त गर्ने संस्थाका सचिव विजेन्द्रमान श्रेष्ठले बताए। यस्तै उनले महिला स्क्यावट (खुल्ला)मा प्रथम विजेतालेस्वर्ण पदक प्राप्त गर्नेछन् भने दोश्रो र तेश्रो विजेताले रजत र काश्य पदक प्राप्त गर्ने बताए।
भैरहवास्थित गणतान्त्रिक सभागृहमा आयोजना हुने प्रतियोगितामा लुम्बिनी अञ्चलका ६ जिल्लाका ८० बढी खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ।लुम्बिनी अंचलमा ३ दर्जनभन्दा बढी जिम हाउसहरु छन्। त्यसमध्ये करिब २५ वटा जिम हाउस रुपन्देहीमा मात्रै छन्।