युएईविरुद्ध नेपाल पाँच विकेटले विजयी

युएईविरुद्ध नेपाल पाँच विकेटले विजयी

काठमाडौँः आईसीसी विश्वकप छनोट खेलका लागि जिम्बाब्वे पुगेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा युनाइटेड अरब इमिरेट्सलाई ५ विकेटले पराजित गरेको छ ।

बर्षातले प्रभावित भएपछि २९ ओभरमा छोट्याइएको खेलमा युएईले दिएको १७२ रनको चुनौती नेपालले ४ बल बाँकी छँदै भेट्टाएको हो । टस हारेर पहिले फिल्डिङमा गएपछि युएईले दिएको चुनौती पछ्याउँदै नेपाललाई विजयी गराउने क्रममा शरद भेसवाकर र दिपेन्द्रसिंह ऐरीले समान ४१–४१ रनको योगदान दिए । त्यसैगरी कप्तान पारस खड्काले २८ र नटआउट रहेका अरिफ शेखले २३ रनको योगदान दिए ।

युएईका लागि अमिर हायातले दुई विकेट लिएका थिए । त्यसैगरी मोहम्मद नाबिद, अहमेद राजा र रोहन मुस्ताफाले १–१ विकेट लिन सफल भए । यसअघि टस जितेर ब्याटिङ गरेको युएईले २८।५ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन बनाएपछि नेपालले १७२ रनको चुनौती पाएको थियो ।

जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा टस जितेर ब्याटिङमा उत्रेको युएईका लागि मध्यम स्कोर बनाउने क्रममा अस्फाक अहमदले सर्वाधिक ४२ रन बनाएका थिए । उनले ५१ बलमा ४ चौका र १ छक्कासहित त्यो स्कोर बनाएका थिए ।

युएईका लागि अदन मुफ्तीले २६ बलमा ३७ रन बनाए भने गुलाम सहबीरले ३८ बलमा ३२ रनको योगदान दिएका थिए । त्यसैगरी महम्मद उसमानले २० बलमा २६ रन बनाउन सफल भए ।

पढ्नस्: छोटो तयारी, ठूलो सपना

नेपालका लागि करण केसीले ५।५ ओभर बलिङ गर्दै ३८ रन खर्चिएर ३ विकेट लिन सफल भए । त्यसैगरी ललित भण्डारीले ६ ओभर बलिङ गर्दै ४० रन खर्चेर ४ विकेट लिन सफल भए । त्यसैगरी ललित राजवंतशीले २ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिन सफल भए ।

नेपाली टोली सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने क्रिकेट विश्वकपको अन्तिम छनोट प्रतियोगिताका लागि शनिबार जिम्बावेतर्फ प्रस्थान गरेको थियो । 

फागुन २० गतेदेखि सुरु हुने प्रतियोगिता नेपाली टोलीका लागि निक्कै महत्त्वपूर्ण छ। युएईविरुद्धको अभ्यास खेलको जितले नेपाली टोलीमा हौसला भने बढाएको छ । यो प्रतियोगिताले नेपाललाई पहिलो पटक ५० ओभर क्रिकेटको विश्वकपमा पुर्‍याउने मात्रै हैन, आगामी चार वर्षका लागि एक दिवसीय टोलीको मान्यता पनि दिलाउनेछ। यद्यपि त्यसका लागि नेपाललाई प्रतियोगिताको फाइनलमा पुग्नु पर्नेछ।

आईसीसीको अहिलेसम्मको निर्णयअनुसार प्रतियोगिताको शीर्ष दुई टोली अर्काे वर्ष हुने विश्वकपका लागि छनोट हुनेछन् भने एसोसिएटमध्ये (नेदरल्यान्ड्सबाहेक) शीर्ष तीनमा रहने टोलीले सन् २०२२ सम्मका लागि एक दिवसीय टोलीको मान्यता पाउनेछन्। नेपालका लागि ५० ओभर क्रिकेटको विश्वकप छनोट तथा एकदिवसीय टोलीको मान्यता दुवै पहिलो उपलब्धि हुनेछन्।

नेपाली क्रिकेटले अहिलेसम्म चाहेको अवसर पनि यही हो। आईसीसीबाट प्राप्त हुने फन्ड र खेलाडीको क्षमता अभिवृद्धिका लागि महत्र्वपूर्ण मानिने ५० ओभर क्रिकेटको सफलताले मात्रै नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउनेछ।

नेपालका लागि यो अवसर सहज भने छैन। यसअघि दुई पटक विश्वकप जितिसकेको वेस्ट इन्डिजसहित टेस्ट टोलीहरू जिम्बावे, अफगानिस्तान, आयरल्यान्डसहित पछिल्लो चार वर्षयता डिभिजन एकमा रहेर उच्चस्तरको प्रतियोगिता खेल्दै आइरहेका हङकङ, पपुवान्युगिनी, नेदरल्यान्ड्स, स्कटल्यान्ड्स र डिभिजन दुईको विजेता टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालका लागि त्यो अवसर निक्कै चुनौतीपूर्ण रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.