इँटाभट्टाबाट १८ सय घर प्रभावित
ललितपुर : महालक्ष्मी नगरपालिका-६ स्थित सानोगाउँका बासिन्दा विनोद श्रेष्ठको चिन्ता बनेको छ इँटाभट्टाबाट निस्कने कालो धुवाँ । वर्षौंदेखि सञ्चालित इँटाभट्टाको धुवाँले वातावरण प्रदूषित मात्र गरेका छैनन्, सानोगाउँवासीको स्वास्थ्यमा पनि नकारात्मक असर पारिरहेको श्रेष्ठले बताए । ‘यस क्षेत्रका करिब १८ सय घरधुरी प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्’, एमालेको महालक्ष्मी नगरपालिका नगरकमिटीको कोषाध्यक्ष रहेका उनले आक्रोशित हुँदै भने, ‘बस्तीभित्र इँटाभट्टा बन्द गर्न वा हटाउन सम्बन्धित निकायमा वर्षौंदेखि धाइरहँदा पनि कसैले सुनेन । अब जनता नै नजागेसम्म केही हुन्न ।’
सिद्धिपुर बस्दै आएका विजय श्रेष्ठको गुनासो निकै मननयोग्य छ । ‘यहाँका बासिन्दा सफा कपडा लगाउन पाउँदैनन्, कपडा सुकाउँदा धुवाँले झन् कालो हुन्छ’, उनले भने, ‘विषेशगरी इँटा पोल्न कोइला बालेका बेला बाक्लो कालो धुवाँको मुस्लो निस्किन्छ र २४ घन्टा बलिरहन्छ । त्यो धुवाँ सधैं सिद्धिपुरको आकाशमा मडारिइरहन्छ ।’ ज्ञानप्रसाद नेमकुलले पनि उस्तै समस्या भोग्दै आएको गुनासो गरे । उनका अनुसार भूकम्पपछि यहाँका इँटाभट्टाले इँटा उत्पादन धेरै बढाएका छन् ।
६ नम्बरका वडाध्यक्ष वासुदेव महर्जनका अनुसार महालक्ष्मी नगरपालिकामा दुईवटा भट्टा मात्र सञ्चालनमा छन् । उनले भने, ‘हामी सौहार्दपूर्ण वातावरणमा भट्टाहरू हटाउनुपर्ने माग गर्छौं, जसरी पनि यी इँटाभट्टा हट्नेछन् ।’ भट्टा हटाउन अनुगमन गरिने र इँटा उद्योगी÷व्यापारीलाई पनि मारमा पार्ने नहुने उनले बताए । ‘महालक्ष्मी नगरपालिका हराभरा नगरका रूपमा चिनाउने प्रयत्नमा लागेका छौं’, उनले भने, ‘यसका लागि महानगरले मापदण्ड र कार्यविधि बनाइरहेको छ ।’
इँटाभट्टा सञ्चालित क्षेत्रमा बिस्तारै बस्ती बढ्दै गएको बताउँछन् गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन । उनका अनुसार गोदावरी नगरपालिकामा ८ वटा इँटाभट्टा सञ्चालनमा छन् । ‘चाँडै अनुगमन सुरु गर्ने र तीमध्ये मापदण्डअनुरूप नभएकालाई कारवाही गर्ने र हटाउने तयारीमा छौं’, उनले भने । ललितपुर महानगरपालिकाको हकमा भने अहिलेसम्म कसैको पनि गुनासो नआएको उपमेयर गीता सत्यालले बताइन् । उनले भनिन्, ‘जनगुनासोका आधारमा अनुगमन गर्ने हो । तर अहिलेसम्म गुनासो आएका छैनन् ।’
ललितपुरमा ३१ वटा इँटाभट्टा सञ्चालनमा रहेको ललितपुर इँटाभट्टा संघका अध्यक्ष प्रेमकृष्ण महर्जन बताउँछन् । भट्टा सञ्चालित क्षेत्रमा घनाबस्ती बढ्दै गएकाले समस्या बढेको उनको भनाइ छ । ‘वातावरणप्रति हामी जिम्मेवार छौं’, उनले भने । वातावरण प्रदूषित नहोस् भनेर नै सुधारिएका चिम्नी प्रयोग गरिरहेको र नयाँ प्रविधि आत्मसात् गर्दै नेपाल इँटा व्यवसायी संघले इसिमोडसँग सहकार्य गरेको उनले बताए । ‘धुवाँरहित भट्टा सञ्चालन गर्ने लक्ष्यमा छौ’, उनले भने । उनले ललितपुरका केही भट्टाले मात्र कालो धुवाँ फालेको बताए । ‘व्यवसायीमाथि आक्षेप लगाउनुभन्दा राज्यले विकल्प दिए हुन्थ्यो’, उनले भने, ‘ठाउँ स्थानान्तरणको व्यवस्था गर्नुपर्यो ।’ राज्य र व्यवसायी मिलेर प्रदूषण न्यूनीकरणको पहल गर्नुपर्ने उनले बताए ।
ललितपुरका प्रजिअ महादेव पन्थले यसबारे खासै गुनासो नआएको प्रतिक्रिया दिए । उनले भने, ‘गुनासो आए वातावरण संरक्षण विभागका निरीक्षक टोली पठाएर प्रदूषण स्तर के हो बुझ्ने र प्रदूषण अत्यधिक भए कारवाही गर्छ ।’ धुवाँरहित इँटा उद्योग सञ्चालन गर्न सकिनेमा विश्वास गर्छन्, ललितपुर कांग्रेसका नेता चन्द्र महर्जन । उनले इमाडोलमा स्विस प्रविधिको धुवाँरहित इँटाभट्टा सञ्चालन गरिरहेको बताउँदै भने, ‘वातावरणमा कुनै प्रभाव पार्दैन । नयाँ प्रविधि अपनाउने बेला भइसकेको छ ।’ जेजस्तो प्रविधि आए पनि स्थानीय बस्तीमा यस्ता उद्योग सञ्चालन गर्न नमिल्ने बताउँछन् । मापदण्डअनुसार पनि बस्तीभन्दा एक÷डेढ किलोमिटर टाढा मात्र उद्योग सञ्चालन गर्न पाइन्छ ।