सहर सफाइमा मुख्यमन्त्री
जनकपुर : जनकपुर उपमहानगरपालिकामा मंगलबार सरसफाइ अभियान सुरु भएको छ। अभियानको अगुवाइ मुख्यमन्त्री लालबालु राउतले गरे। उपमहानगरपालिकाको आयोजनामा स्थानीय जनक चोकबाट अभियान सुरु भएको थियो। अभियानमा प्रदेशसभा सदस्य, सरसफाइ अभियन्तासहित प्याब्सन, एनप्याब्सन र उद्योग वाणिज्य महासंघका तर्फबाट सहभागिता थियो।
मुख्यमन्त्री राउतले स्वस्थ्य रहन सरसफाइ अपरिहार्य रहेको उल्लेख गर्दै अभियानमा असहयोग गरे कानुनी कारबाही गर्ने चेतावनी दिए। ‘सरसफाइ अभियानमा सहयोग गर्न र जथाभावी फोहोर नफाल्न प्रदेशवासीलाई आग्रह गर्दछु’, उनले भने, ‘फोहोर जथाभावी फ्याँक्नेलाई स्थानीय प्रशासनले कानुनी कारबाही गर्नेछ।’
उनले लाखौं हिन्दू धर्मावलम्बी जनकपुरधाम भ्रमणमा आउने भएका कारण पनि जनकपुरलाई स्वच्छ, सफा एवं सुन्दर सहरका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। जनकपुरवासी पनि आफ्नो सहरलाई सुन्दर बनाउन अग्रसर हुन जरुरी रहेको उनले स्पष्ट पारे।
सरसफाइ कार्यक्रम जनकपुरका मठमन्दिर, सरोवर तथा धार्मिक क्षेत्र एवं परिक्रमा मार्गमा केन्द्रित गरिएको थियो। स्थानीय विद्यालयहरूले पाँच सय मिटर वरपर सरसफाइ कार्यक्रम सञ्चालन गरेका थिए। महासरसफाइ अभियानले जनकपुरवासीमा सरसफाइप्रति चेतना बढाउन महŒवपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ।
माध्यमिकी मिथिला परिक्रमामा सहभागी १५ दिनको परिक्रमा सकेर जनकपुर आउन लागेको पूर्वसन्ध्यामा भएको अभियानलाई निरन्तरता दिन जरुरी रहेको अभियन्ता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले बताए। विद्यार्थीले घरमा गएर फोहोर व्यवस्थापनका बारेमा अभिभावकलाई पनि जानकारी गराउने भएकाले कार्यक्रम महत्वपूर्ण भएको प्याब्सनका अध्यक्ष विश्वलाल सिंहले बताए।