सत्यवतीलाई लिग क्रिकेट उपाधि
पोखरा : सत्यवती मावि दमौलीले तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको उपाधि जितेको छ । पोखरा रंगशालामा मंगलबार भएको फाइनल खेलमा सत्यवतीले क्रिकेट मैदानमा कुमुदिनी होम्सलाई तीन विकेटले हरायो । कुमुदिनी होम्सले दिएको ९९ रनको लक्ष्यलाई सत्यवतीले १६ ओभरमा सात विकेटको क्षतिमा पूरा गरेको हो । सत्यवतीका मध्यक्रमका ब्याट्सम्यानले राम्रो रन निकालेपछि उसले जित निकालेको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको कुुमदिनी होम्सले १८.२ ओभरमा ९८ रनको स्कोर बनायो । कुमुदिनी होम्सका दुई ब्याट्सम्यानले मात्र दोहोरो रन बनाउन सके । अनिश खड्काले इनिङ सम्हाल्दै ३२ रन र सम्राट पराजुलीले १० रनको योगदान गरे । अन्य ब्याट्सम्यान सस्तैमा पबेलियन फर्किए । बलिङमा सौरभ अली र सुशील गिरीले तीनतीन विकेट लिए । सन्तोष श्रेष्ठले दुई र विनय भण्डारीले एक विकेट झारे ।
९९ रनको लक्ष्य पछ्याएको सत्यवतीले पहिलो ओभरमै अतिरिक्त रन दिँदै दबाबमा खेल्न पुग्यो । चार ब्याट्सम्यानले दोहोरो अंकको रन हिर्काएपछि झिनो लक्ष्य सात विकेटको क्षतिमा पूरा गर्यो । सत्यवतीका लागि विपुल काफ्लेले २६, कप्तान विनय भण्डारीले १५, विमल सुनारले १५ र रूपक बरालले १४ रन बनाए ।
बलिङमा देव साहले तीन, समिर सेनले र विश्वास पराजुलीले दुईदुई विकेट लिए । प्रतियोगितामा आठ कलेजको सहभागिता रहेको थियो । प्रतियोगिताको म्यान अफ दि सिरिजबाट सत्यवतीका कप्तान विनय भण्डारी घोषित भए । सत्यवतीकै सुशील गिरी बेस्ट बलर, रूपक बराल बेस्ट ब्याट्सम्यान र कुमुदिनी होम्सका अनिश खड्का बेस्ट फिल्डर घोषित भए । विपुल वाग्ले फाइनल खेलको म्यान अफ दी म्याच घोषित भए । प्रतियोगिताका विजेता टोलीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेललगायतले पुरस्कार प्रदान गरे ।