अनशनस्थलमा होलीको रङ

अनशनस्थलमा होलीको रङ

वीरगन्ज : वीरगन्जलाई प्रदेश राजधानी बनाउन आन्दोलनरत स्थानीयले मंगलबार अनशनस्थलमै होली (फागु) पर्व मनाएका छन्।

वीरगन्ज घण्टाघर चोकमा उनीहरूले मंगलबार अनशनस्थलमै एकअर्कालाई अबिर दल्नुका साथै नाचगान गरेर होली मनाएका हुन्। वीरगन्ज राजधानी संघर्ष समितिले गरेको होली मिलन समारोहमा उनीहरूले आन्दोलनको सफलताको शुभकामनासमेत आदानप्रदान गरे। भोजपुरिया गायकहरू सुनील पण्डित र नेपाली निरहुवाले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए।

संघर्ष समितिका संयोजक सुरेन्द्रप्रसाद चौधरीले आन्दोलनलाई थप ऊर्जा दिन अनशनस्थलमै होली मनाइएको जानकारी दिए। होली अवधिमा पनि रिले अनशन जारी नै रहने र होलीलगत्तै सडकमा उत्रिने उनले बताए। ‘होलीलगत्तै आन्दोलनको आँधीबेहरीसहित हामी सडकमा उत्रिन्छौं’, उनले भने, ‘त्यसले प्रदेश राजधानी वीरगन्जमा बनाउने निर्णय गर्न प्रदेश सरकारलाई बाध्य बनाउँछ।’

संघर्ष समितिका सचिव श्याम पटेलले राजधानीका लागि वीरगन्जमा चलिरहेको आन्दोलन जनताको आन्दोलन भएको पुष्टि भइसकेको जिकिर गर्दै यसले लक्ष्य प्राप्त गरेरै छाड्ने बताए। ‘प्रदेश सरकारले हामीसँग एक चरणको वार्ता गरिसकेको छ, यसले यो आन्दोलन जनताको हो भन्ने स्वीकार गरिसकेको पुष्टि भएको छ’, उनले भने, ‘हाम्रो आन्दोलनले ढिलो–चाँडो लक्ष्य प्राप्त गर्छ भन्नेमा हामी विश्वस्त छौं।’

मुख्यमन्त्री लालबाबु राउतको निर्देशनमा भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र संघर्ष समितिका पदाधिकारीबीच फागुन ८ गते वार्ता भएको थियो। पर्सा र बाराबाट निर्वाचित प्रदेशसभा सदस्यले वीरगन्जलाई विगतमा रणभूमि मात्रै बनाएको संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताले बताए।‘तर, अहिले राजधानी बनाउने बेला वीरगन्जलाई भुलेर जनकपुरको पक्षमा लागेका छन्’, उनले भने, ‘यो कुराको विचार यहाँका जनताले गरिरहेका छन्।’

उनले जनकपुरमा कोठा र गोदाम भाडामा लिएर प्रदेशसभा भवन र मन्त्रालय सञ्चालन भइहेको बताए। ‘जनकपुरमा अहिलेसम्म पनि प्रदेशसभा भवन र मन्त्रालयको व्यवस्थापन हुन सकिरहेको छैन’, उनले भने, ‘प्रदेशसभा सदस्यहरू होटलमा बस्न बाध्य छन्।’

पत्रकार महासंघ पर्साका पूर्वअध्यक्ष केसी लामिछानेले जनकपुर फोहोर सहर हो भन्ने मुख्यमन्त्री कुचो बोकेर सडकमा उत्रिएको घटनाले प्रमाणित भएको जिकिर गरे। ‘मुख्यमन्त्री नै झाडु लिएर फोहोर सफा गर्न सडकमा उत्रनुभएको छ’, उनले भने, ‘यसले नै पुष्टि गर्छ कि जनकपुर फोहोर र दुर्गन्धको मात्र सहर हो, राजधानीका लागि उपयुक्त छैन।’

वीरगन्ज राजधानी बन्न आर्थिक दृष्टिले पनि सबैभन्दा सबल रहेको तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले बताए। वीरगन्जको आन्दोलन रोक्ने दुष्प्रयास हुँदै आए पनि बिचलित नभएको उनको भनाइ थियो। भने, ‘मुख्यमन्त्री, सभामुख र मन्त्री पद दिएर वीरगन्जको आन्दोलन रोक्न खोजियो। तर, हामी अडान र धैर्यबाट डगमग भएका छैनौं र हुँदैनौं पनि।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.