अपरेसन गर्ने बेला डाक्टर बेपत्ता

अपरेसन गर्ने बेला डाक्टर बेपत्ता

गाईघाट: अपरेसन तयारी गर्न निर्देश दिँदै जिल्ला अस्पतालका डाक्टर तीन घण्टा ‘बेपत्ता’ भएपछि बिरामी मर्कामा परेका छन्। सोमबार साँझ प्रसूतिका लागि ल्याइएकी एक गर्भवतीको अपरेसन तयारी गर्दागर्दै डा. अमिताभ ठाकुर सम्पर्कविहीन भएपछि अपरेसन हुन सकेन।

त्रियुगा नगरपालिका–९ का गीता खड्काको सामान्य प्रसूति नभएपछि डाक्टरले नै अपरेसन तयारी गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए। तर, अपरेसन तयारी पूरा भएको तीन घण्टा बित्दा पनि डाक्टर नआएपछि बिरामीलाई आफन्तले निजीमा लैजानुप¥यो।

कर्मचारीदेखि निमित्त अस्पताल प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष, प्रहरी प्रमुखलगायत अधिकारीले टेलिफोन गरे पनि डाक्टरको मोबाइल नउठेपछि गर्भवतीका आफन्तले कोलाहल मच्चाएका थिए। जिल्ला अस्पतालका डाक्टर गायब भएपछि उदयपुर त्रियुगा अस्पतालमा अपरेसन गराउन बाध्य भएको बिरामीका आफन्त भूपेन्द्र बुढाथोकीले बताए।

गर्भवतीको अपरेसन गर्नुपर्ने बेला उनी किन भागे भन्ने विषय गम्भीर भएको अस्पताल विकास समितिका अध्यक्ष राकेश खत्रीले बताए। यस विषयमा छानबिन गर्ने जानकारी उनले दिए।

जिल्ला अस्पतालमा दरबन्दीअनुसार डाक्टर नहुँदा उपचार सेवा प्रभावित बन्दै आएको छ। विशेषज्ञसहित १४ जना दरबन्दी रहेकामा चार डाक्टर मात्र कार्यरत छन्। मेडिकल सुपरिटेनडेन्ट डा. फडिन्द्र बराल सरुवा भई धनकुटा गएपछि जिल्लामा उपचार सेवा प्रभावित बनेको हो। विशेषज्ञ नभएपछि अस्पताल अहिले मेडिकल अधिकृत डा. विशालकुमार देवको नेतृत्वमा सञ्चालमा रहेको प्रशासन प्रमुख बिर्खबहादुर खत्रीले बताए। २०७० सालदेखि ५० शय्यामा परिणत भएको अस्पतालमा एक दर्जनभन्दा बढी दरबन्दी पदपूर्ति हुन नसकेको खत्रीले बताए।

पछिल्लो समय प्रसूति गराउँदै आएका ठाकुर पनि विशेषज्ञ नभई तालिमप्राप्त डाक्टर हुन्। फिजियोथेरापीलगायत अन्य अत्यावश्यक कर्मचारीसमेत छैन। दरबन्दीअनुसार चिकित्सक व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयमा पटक–पटक पत्राचार गर्दा पनि सुनुवाइ नभएको व्यवस्थापन समितिले जनाएको छ।

अस्पतालमा दैनिक सरदर एक सय ५० बिरामी आउने गरेको र डाक्टर अभावमा उपचार सेवालाई प्रभावकारी बनाउन नसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. विशालकुमार देवको भनाइ छ। अस्पताल आएका बिरामीमध्ये ८–१० जना प्रसूतिका हुने गरेको उनको भनाइ छ।

‘वार्ड र इमर्जेन्सी गरी बिहान ८ बजेदेखि बिरामी जाँच गर्दागर्दै १०ः३० बज्छ’, उनले भने, ‘कति खेर खाना खानु, कति खेर ओपीडीको बिरामी जाँच गर्नु ?’ आधाजसो बिरामी उपचार नपाई फर्कने गरेका छन्। उनीहरू ऋण काढेर भए पनि निजी र जिल्लाबाहिर उपचार गर्न जान बाध्य छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.