‘विप्लव’ खोज्दै प्रहरी : गृहमन्त्री ‘बादल’ले के गर्लान ?

‘विप्लव’ खोज्दै प्रहरी : गृहमन्त्री ‘बादल’ले के गर्लान ?

काठमाडौं : नेपाली राजनीतिमा जब केही परिवर्तन हुन्छ, तब एउटा गम्भीर मोडको सिर्जना हुन्छ। माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ सोमबार (फागुन १४) गते गृहमन्त्री भए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मंगलबार बादलका पूर्व सहकर्मी एवम् नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ पूर्जी जारी गरेको सार्वजनिक गर्यो।

माघ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले वडा प्रहरी कार्यालय चन्द्रौटालाई पठाएको पत्र जब बादल गृहमन्त्री भए तबमात्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ बहस सुरु भएको छ।

के बादलले प्रहरीलाई पूर्व सहकर्मी विप्लव पक्राउ गर्ने अनुमति देलान् ? यो प्रश्नले राजनीति तातेको छ। गृहमन्त्रीले के गर्छन् ? यो प्रश्नको जवाफका लागि अझै केही दिन कुर्नुपर्ला। विप्लवलाई पक्राउ गर्न भोजपुर जिल्ला अदालतले भने पुस ९ गते ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसुरमा गिरफ्तार गर्न आदेश दिएको थियो।

अदालतको आदेश अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले वडा प्रहरी कार्यालयलाई विप्लवको नाममा ७० दिने म्यादी पूर्जी पठाएका हुन्।

‘उपरोक्त सम्बन्धमा जिल्ला रोल्पा साविक ईरिवाङ गाविस केवरीमा जन्म भइ हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका ९ बस्ने चित्र बहादुर चन्दको छोरा वर्ष ५० को ‘विप्लव’ भन्ने नेत्रविक्रम चन्दलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ मुद्दाको कसुरमा गिरफ्तार गर्नुपर्ने हुनाले यो वारेण्ट बदर नभएसम्म अभियुक्तलाई तदारुकताका साथ खोजतलास गर्दै रही फेला बरेको बखत पक्र्री बाटोमा भाग्न उम्कन नपाउने गरी अडा्डामा पठाई दिनु’, म्यादी पूर्जी तामेल गर्न पठाइएको सम्बन्धमा लेखिएको पत्रमा भनिएको छ, ‘बाटोको म्याद बाहेक ७ (सात) दिनसम्म पक्रिएन भने आठौं दिनका दिन यसैसाथ पठाएको म्यादी पूर्जी तामेल गरी त्यसपछि पनि पक्राउ तदारुकताका साथ खोजतलास गर्दै रहनु भन्ने सम्मानित भोजपुर जिल्ला अदालतको च. नं.६४३ मिति २०७४ पुस ९ गतेको पत्रासाथ प्राप्त हुन आएको विप्लव भन्ने नेत्रविक्रम चन्द्रका नाममा जारी भएको ७० दिने म्यादी पूर्जी थान ३ (तीन) यसै पत्रसाथ संलग्न राखी पठाइएको छ। पत्र प्राप्त भए पश्चात तदारुकताका साथ खोजतलास गरी गराई फेला परेमा पक्राउ गर्न हुन तथा फेला नपरेमा रित पूर्वक म्याद तामेल गरी तामेलीप्रति सम्मानित भोजपुर जिल्ला अदालतमा पठाई यस कार्यालयमा समेत जानकारी दिनु हुन अनुरोध गरिएको छ।’

बादल–विप्लव सम्बन्ध

माओवादी सशस्त्र युद्धका चर्चित कमाण्डर वर्षमान पुन ‘अनन्त’ जनार्दन शर्मा ‘प्रभाकर’ सँगै ‘विप्लव’को नाम चर्चामा हुन्थ्यो । माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि भने विप्लवले पार्टीभित्र फरक धार समाए । युद्धमा सँगसँगै लडेका कमाण्डर सबै मन्त्री भइसके । त्यसमा पनि चर्चित कमाण्डरले गृहमन्त्री र अर्थमन्त्री भएर महत्वपूर्ण काम गरेर समेत देखाइसकेका छन् । बादल पार्टीमा विप्लव भन्दा सिनियर हुन् । अहिले उनी गृहमन्त्री बन्दा विप्लवको नामको पक्राउ पुर्जी सार्वजनिक भएपछि यी दुई नेताको इतिहासको महत्वपूर्ण घडीमा भएको सहयात्राको चर्चा सुरु भएको छ ।

शान्ति प्रक्रियामा आएपछि युद्धमा सँगसँगै लडेका कमाण्डरले सुप्रिम कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छोड्दै गए । जतिबेला मोहन वैद्य ‘किरण’ले प्रचण्डलाई छोड्ने निर्णय लिए त्यहीबेला बादल र विप्लवले प्रचण्डलाई छोडेर वैद्यको साथमा लागे । २०६९ असार २ गतेदेखि तीनदिनसम्म चलेको वैद्य नेतृत्वको बैठकले नेकपा–माओवादी गठन भयो । त्यो बेला प्रचण्ड र वैद्यको बेमेलका कारण पार्टी फुटेको चर्चा हुन्थ्यो । यद्यपी पार्टी विभाजनका मुल खेलाडी भने बादल र विप्लव नै थिए ।

वैद्य नेतृत्वको पार्टीलाई चलाउन नसकेको आरोप लगाउँदै विप्लवले सबैलाई छोडेर २०७१ साल मंसिर ८ गते वैद्यसँग सम्बन्ध विच्छेद गरे । आफैँ महासचिव भएर विप्लवले नेकपा माओवादी गठन गरे । थवाङमा महाधिवेशन गरेर विप्लवले माओवादी शब्दलाई छोडेर पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी बनाए । विप्लवले यसरी छुट्टै पार्टी बनाएर अगाडि बढ्दै गर्दा बादल भने वैद्य नेतृत्वलाई छोड्दै केही शक्तिशाली नेतासँगै प्रचण्डसँग मिसिए ।

दोस्रो संविधानसभाको चुनावलाई चर्को रुपमा बहिष्कारको आन्दोलन गरेका बादल गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सक्रिय भए । अन्नतत बादल राष्ट्रियसभा सदस्य बने । बादलले सोमबार मात्र गृहमन्त्रीको रुपमा शपथ लिएका छन् । एमालेसँग माओवादीको एकताका सुत्राधारको रुपमा देखा परेका बादल एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका महत्वपूर्ण मन्त्री हुन् । पदभार ग्रहण गरेकै भोलिपल्ट पूर्व सहकर्मीमाथि प्रहरीले जारी गरेको पक्राउ पूर्जी सार्वजनिक भएपछि सबैको नजर बादलमाथि परेको छ ।

विप्लवको प्रतिक्रिया : ‘प्रचण्ड र ओलीका घरमा पक्राउ पुर्जी टाँस्छौं’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.