लुम्बिनी शान्ति म्याराथनमा होमलाल र तीर्थ बने च्याम्पियन (फोटो फिचर)
काठमाडौं : त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथनको उपाधि जितेका छन् । बिहीबार लुम्बिनीमा भएको म्याराथनमा होमलालले आर्मीकै हरीकुमार रिमाललाई पछि पार्दै उपाधि जितेका हुन् ।
उपाधि जित्ने क्रममा होमलालले निर्धारित दुरी दुई घण्टा ५३ मिनेट १३ सेकन्डमा पुरा गरे । होमलालले लगातार दोस्रो पटक लुम्बिनी म्याराथनको उपाधि जितेका हुन् । उपाधिसँगै उनले ‘लुम्बिनी अशोक पिस पुरस्कार’ स्वरूप नगद एक लाख प्राप्त गरे ।
दोस्रो भएका हरीकुमार रिमालले दुई घण्टा ५४ मिनेट ५३ सेकेन्डमा दौड पुरा गरे । हरिले ‘कपिलवस्तु हुएन सान पुरस्कार’ स्वरूप ७५ हजार नगद हात पारे । म्याराथनतर्फ आर्मीकै खगेन्द्र भाट तेस्रो भए । खगेन्द्रले दुई घण्टा ५७ मिनेट ३४ सेकेन्डको समय निकाले । उनले ‘मायादेवी गार्डेन उत्थान पुरस्कार’ स्वरूप ५० हजार प्राप्त गरे ।
म्याराथनमा विदेशी धावकसहित ३५ खेलाडीको सहभागिता रहेको थियो । जसमा तीन भिक्षुसहित १३ विदेशी खेलाडी थिए । म्याराथन सिद्धार्थ गौतमले बुद्धको रुपमा आफ्नो जन्मभूमि फर्केर बाबु राजा शुद्धोधनलाई भेटेको स्थान कुदानबाट सुरु भई गोटिहवा, कपिलवस्तु, वाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै मायादेवी मन्दिरमा आएर सकिएको थियो । प्रतियोगिता अन्तर्गत २१ किमिको हाफ म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत तीर्थ पुनले आफ्नो बनाए ।
तीर्थको पनि लगातार दोस्रो पटक उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा तिर्थले एक घण्टा सात मिनेट ३५ सेकेन्डमा दौड पुरा गरे । उपाधिसँगै उनले ५० हजार हात पारे । हाफ म्याराथनतर्फ दोस्रो भएका आर्मीका रामजी वस्नेतले एक घण्टा सात मिनेट ६४ सेकेन्डको समय निकाले । उनले ३० हजार प्राप्त गरे । तेस्रो भएका आर्मीका टिका राम कट्टेलले एक घण्टा सात मिनेट ५८ सेकेन्डको समय निकाले । तेस्रो भएका टिका रामले २५ हजार प्राप्त गरे ।
हाफ म्याराथनमा ५ भिक्षु ७ विदेशीसहित ४५ खेलाडीले सहभागिता जनाएका थिए । हाफ म्याराथन मायादेवीको सुत्केरी मार्ग दोहनीबाट सुरु भई माया देवी मन्दिर आएर समापन भएको थियो ।
पाँच किमी दौडको उपाधि सुनिल थापाले जिते । उनले १७ मिनेट पाँच सेकेण्डमा दौड पुरा गरे । दोस्रो भएका संजय राईले १७ मिनेट सात सेकेन्डमा दौड पुरा गर्दा तेस्रो भएका सत्येन्द्र यादवले १७ मिनेट २४ सेकेन्ड दौड पुरा गरे । पाँच किलो मिटरको दौडमा विजेताले दश हजार, दोस्रो हुनेले सात हजार र तेस्रोले पाँच हजार प्राप्त गरे
.