राष्ट्रिय सभा सदस्य लाल बने ‘महामूर्ख’
जनकपुरधाम : प्रदेश नम्बर २ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित वृषेशचन्द्र लाल ‘महामूर्ख’ घोषित भएका छन्। फागु पर्वको अवसर पारेर जनकपुरमा मनाइने महामूर्ख सम्मेलनमा राष्ट्रियसभा सदस्यलाई यस वर्षको महामूर्ख घोषणा गरिएको हो।
मैथिली कला संस्कृतिको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको जनकपुरस्थित मिथिला नाट्यकला परिषद (मिनाप) ले फागुको अवसरमा विगत २२ वर्षदेखि दुई दिवसीय होली महोत्सव अन्तर्गत महामूर्ख सम्मेलनको आयोजना गर्ने गरेको छ।
बिहीबार जानकी मन्दिर प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा महामूर्ख लगायत सांसद, प्रदेशसभा सदस्य, उद्योगपतिलाई व्यङ्गात्मक प्रहार गर्दै विभिन्न मानपदवीसमेत प्रदान गरिएको छ।
आधुनिकताको नाममा पारम्परिक र धार्मिक महत्व रहेको फागु पर्वको मौलिकता हराउँदै गएको भन्दै मिनापले फागुको अवसरमा हरेक वर्ष महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको मिनापका अध्यक्ष परमेश झाले बताए।
यस अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिलाई महामूर्खको उपाधि दिने परम्परा रहेको छ। होली महोत्सवको अवसरमा तराई मधेशमा गाइने लोकभाकाका गीतको प्रस्तुतिमा दर्शक मन्त्रमुग्ध भएका थिए। पहाडी जिल्लामा बिहीबार नै होली पर्व मनाइए पनि तराई क्षेत्रमा शुक्रबार मात्र होली मनाइदै छ।
मिनापद्वारा होली महोत्सवको अवसरमा बुधबार जोगिरा गीत प्रतियोगीता समेत आयोजना गरेको छ।सम्मेलनमा धनुषा, महोत्तरी र सप्तरी जिल्लाबाट आएका जोगिरा समूहले आ-आफ्नो प्रस्तुति दिए।