बुद्धको क्रीडास्थल तिलौराकोटमा थप प्रमाण भेटिए
तौलिहवा : बुद्धको क्रीडास्थल तिलौराकोटमा पाँचौं पटक सुरु गरिएको उत्खनन सम्पन्न भएको छ। उत्खननमा प्राचीन तिलौराकोट दरबारको थप प्रमाण भेटिएका छन्। तिलौराकोट दरबार बुद्धकालीन समयभन्दा तीन सय वर्षअघि व्यवस्थित सहर रहेको तथ्य फेला परेको उत्खननमा सहभागी पुरातत्वविद्ले बताएका छन्। बुद्धको जन्म २५ सय वर्षअघि भएको इतिहासमा छ तर त्यसभन्दा अघि यहाँ मानव सभ्यता र सहर रहेको पुष्टि भएको पुरातत्वविद्ले दाबी गरेका छन्।
दरबार क्षेत्रमा लगातार गरिएको उत्खनन् र अन्वेषणले प्राचीन कपिलवस्तु बुद्धकालीन सयमअघिनै मानव सभ्यताको विकसित सहर भएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरको भनाइ छ। ‘यहाँ आठौं शताब्दीमै मानवबस्तीको विकास भएको देखिएको छ’, उनले भने।
पुरातत्व विभाग बेलायतको दुरह्याम विश्वविद्यालय, लुम्बिनी विकास कोषसहितको टोलीले ५ वर्षदेखि गरेको अध्ययनपछि सो तथ्य पुष्टि भएको हो। यस वर्ष दरबारको तीन स्थानमा उत्खनन गरिएको थियो। सेन्ट्रल कम्प्लेक्सका २ स्थान र सयममाई मन्दिरको छेउमा ट्रेन्च बनाई उत्खनन गरिएको थियो। यस वर्ष मुख्य दरबार क्षेत्रमा गरिएको उत्खननबाट पूर्वदेखि दक्षिण कुनामा र दक्षिण पूर्वीद्वारसमेत फेला परेका छन्। गत वर्ष २ वटा द्वार फेलापरेका थिए।
यस वर्षको उत्खननले दरबारका चारै वटै द्वार फेला पारेको छ। पाँचौं शताब्दीमा आएका चिनियाँ यात्री फाइयान र सातौं शताब्दीमा आएका हुवेन साङले आफ्नो यात्रा विवरणमा उल्लेख भएअनुसारकै प्राचीन भग्नावशेष फेला परेको पुरातत्व विभागका प्रमुख पुरातत्वविद् कृष्ण केसीले जानकारी दिए। यस वर्ष पनि स्पष्ट देखिने प्राचीन संरचना फेलापरेको उत्खननमा संलग्न अर्का वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताए। दरबारको सुरक्षा पर्खालभित्रै व्यवस्थित सहर र घरका भग्नावशेषसमेत फेला परेका छन्।
तिलौराकोटभित्र बाटो, नाली, सुरक्षा किल्ला, पर्खाल र मानवबस्ती फेला परेका छन्। ठाउँ–ठाउँमा ठूला भवनका संरचना, इनार र पोखरी पनि पाइएका छन्। दुवै चिनियाँ यात्रीले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका धेरै वस्तु पाइएपछि बुद्धस्थलको ऐतिहासिकता पुष्टि भएको उत्खननमा वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताए। तिलौराकोटसहितका बुद्धस्थलमा अझै पनि उत्खनन र अन्वेषण आवश्यक रहेको उनको भनाइ छ।
सन २०१५ मा गरिएको उत्खनन्बाट प्राप्त सामग्री कालक्रम निर्धारण गर्न गरिएको नमुना संकलनका आधारमा इसापूर्व आठौं शताब्दीदेखि मावन बसोबास भएको प्रमाणित भएको उनले बताए। ५० गुणा ५० मिटरको किल्ला, माटाका टुक्राले इसापूर्व आठौं शताब्दीतिरको मावनबस्ती भएको पत्ता लागेको हो।
भारतीय पुरातत्वविद् देवला मित्राले सन् १९६२ मा तिलौराकोटमा गरेको उत्खननले भ्रम सिर्जना गरेको अहिलेको प्रमाणबाट पुष्टि भएको छ। तिलौराकोटको प्राचीनता इसापूर्व दोस्रो शताब्दीसम्म भएको देवला मित्राको भनाइलाई अहिले भइरहेको वैज्ञानिक उत्खनन, अन्वेषण, अनुसन्धान र परीक्षणले इसापूर्व आठौं शताब्दीका भवनका किल्ला र पर्खालको पोस्ट होल काठ र बाँसका खाँबोको डोब भेटिएपछि गलत साबित गरेको आचार्यले बताए।
मित्राले तिलौराकोटमा सहरको बनोट नभएको, किल्लाबन्दी पूरा नभएको, भएका किल्लाबन्दी इसापूर्व दोस्रो शताब्दीपछिका रहेको दाबी गरेकी थिइन्। हालसम्मको अन्वेषण र वैज्ञानिक परीक्षणले तिलौराकोट व्यवस्थित किल्लाबन्दीको सहर भएको र त्यसको कालक्रम इसापूर्व आठौं शताब्दी ९ सय २८ सय वर्ष पुरानो रहेको दुर्हम विश्वविद्यालयका प्रमुख पुरातत्वविद् डाक्टर रविन कनिङ्घमको दाबी छ। यस्तै, मध्यभागमा सय/सय गुणा मिटरका लम्बाइ र चौडाइको भग्नावशेषसहितको दरबार फेला परेको थियो। फेला परेको संरचनाको संरक्षण र विकासमा स्थानीयले समेत चासो दिनुपर्ने फ्रोफेसर कनिङ्घमले बताए।
यस वर्ष उत्खनन, अन्वेषण, फिल्ड बाकिङ, भूभौतिक सर्वे, सामाजिक आर्थिक अध्ययन, भिजिटर सर्वे गरिएको थियो। टोलीमा बेलायतको दुरह्याम विश्वविद्यालय, पाकिस्तान, श्रीलंका, बंगलादेशका पुरातत्वविद्, पुरातत्व विभाग र लुम्बिनी विकासका विज्ञ टोली सहभागी थिए।