साहसी सुरभी
काठमाडौं बाँसबारीकी सुरभी मानन्धर बोल्न र सुन्न सक्दिनन्। हातका औंलाको चाल र हाउभाउले कुरा गर्छिन्। तर, उनको हिम्मत र साहस बोल्न र सुन्न सक्ने भन्दा कम छैन। ‘म पनि समाजमा केही गर्न सक्छु’ भन्ने आँट र साहसले उनले फ्रान्सको पेरिस पुगेर ‘मिस डिफ एसिया २०१७’को ताज पहिरिइन्।
गत वर्षको कुरा, उनले फेसबुकमा बहिराहरूको अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतिस्पर्धा ‘मिस्टर एन्ड मिस डिफ इन्टरनेसनल’ हुन लागेको सूचना पाइछिन्। सुरभीले एक दिन अचानक ‘म पेरिस जान्छु’ भन्दा उनकी आमा मञ्जरी चकित परिन्। यहीँ त यताउता पठाउन डर मान्ने मञ्जरीले सुरुमा त उनका कुरा वास्तै गरिनन्। ‘कान सुन्दिन, यताउता होला भनेर डर लाग्यो, दुईचार दिन त हामीले उसका कुरामा ध्यान न दिएनौं’, मञ्जरी सुनाउँछिन्, ‘तर उसले म जसरी नि जानु नै छ भनेर जिद्दी गर्न थाली।’
सिर्जना आर्ट ग्यालरी लाजिम्पाटमा चित्रकला सिक्दै गरेकी सुरभीले ब्युटी प्याजेन्टमा भिड्न जान चाहेको बताएपछि मञ्जरीले पनि सूचना हेरिन्। ‘बहिरा महिलाका सिर्जनशील हातहरू’ नामको संस्थाले त्यो प्रतियोगिताको सूचना सार्वजनिक गरेको रहेछ। त्यसपछि पाटनमा रहेको त्यो संस्थामा उनले फोन गरेर बुझिन्। त्यहाँकी उपाध्यक्ष परिता सिंहसँग सम्पर्क गरेर सुरभीलाई लिएर कार्यालयमा पुगिन्।
त्यहाँ अन्यले पनि फारम भरेका रहेछन्। सुरभीले पनि फारम भनिन्। त्यसको मापदण्डमा फिट भएपछि त्यहीँ अडिसन लिइयो। करिब १५ जना महिलाबाट सुरभी छानिइन् भने जनकराज भट्ट पुरुषबाट।
मिस्टर एन्ड मिस डिफ इन्टरनेसनलमा नेपालबाट पहिलोपटक सुरभी र जनकराज सहभागी भए। फ्रान्सको पेरिसमा आयोजित कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा इन्टरनेसनलतर्फ टप टेनमा पुगेकी सुरभी एसियाको तर्फबाट विजेता घोषित भइन्। अन्तर्राष्ट्रिय सांकेतिक भाषामा सोधिएका प्रश्न नबुझ्दा मिस डिफ इन्टरनेसनल बन्न नसकेको उनको भनाइ छ।
पेरिसमा आयोजित मिस्टर एन्ड मिस डिफ इन्टरनेसनलमा अन्तिम प्रतिस्पर्धामा पुगेकी सुरभी मानन्धर एसियाको तर्फबाट विजेता घोषित भइन्।
प्रतियोगितामा जानुअघि उनले हिडन ट्रेजरबाट क्याटवाक, र्याम्पवर्क लगायतका तालिम लिइन्। थोरै समयको तालिममा पनि मज्जाले सिकिन्। घरमा आएपछि पनि निरन्तर राति १२ बजेसम्म अभ्यास गर्थिन्। सांकेतिक भाषामा पनि अन्तर्राष्ट्रिय भाषा फरक हुँदो रहेछ। नेपालको सांकेतिक भाषाभन्दा फरक अन्तर्राष्ट्रिय सांकेतिक भाषा उनले एक महिना युट्युब हेरेर सिकिन्। तर, त्यसले मात्र उनलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न गाह्रो भयो।
मिस डिफ एसियाको ताज पहिरिएर फर्किएपछि उनको फोटोसुट भयो, धेरैले अन्तर्वार्ता लिए। उनको खुसीको सीमा नै रहेन। सांकेतिक भाषामार्फत उनी सुनाउँछिन्, ‘त्यो जीवनको सबैभन्दा खुसीको क्षण हो मेरा लागि।’
आवाज नसुने पनि उनले संकेतकै भरमा ‘क्लासिक डायमन्ड ज्वेलरी सो’मा पनि र्याम्पवक गरिन्। आमा मञ्जरी भन्छिन्, ‘अझै मोडलिङ, आर्ट गर्न रुचि राख्छे। उसको इच्छाअनुसार नै सहयोग गर्छौं हामी।’
जन्मिँदा सामान्य नै थिइन् उनी। नौ महिनाको उमेरसम्म बाबा, पापा, मामा, आउ आउ भन्दै बोल्न थालेकी थिइन्। परिवारमा खुसी छाउँदै थियो। एकैपटक ज्वरोले सारै बिरामी परिन्। परिवारले अस्पताल लगेर उपचार गरायो। डाक्टरले दिएको औषधि खुवायो। ज्वरो त निको भयो तर समय बित्दै जाँदा सुरभीको बोली पहिलाभन्दा अघि बढेन।
डेढ वर्षको उमेरसम्म पनि नबोलेपछि परिवार चिन्तामा पर्यो। त्यसपछि नेपालका धेरै अस्पताल र भारतमा समेत लगेर जाँच गराइयो तर के भएको हो भन्ने पत्तै लागेन। पछि कानको समस्या रहेको थाहा भयो। चिकित्सकहरूले सानैमा एन्टिबायोटिक औषधि धेरै खाएर कानको नशा सुन्निएको र त्यसपछि सुन्न नसक्ने भएको बताए।
उनी तीन वर्षको उमेरमा स्कुल जान थालिन्। स्कुलमा बोर्डमा लेखेको जति मात्र कापीमा टिपेर ल्याउँथिन्। पाँच÷छ महिना त्यही क्रम दोहोरिएपछि पुनः जाँच गराउँदा कानकै समस्या भएकाले उनले सुन्न र बोल्न नसक्ने पत्ता लाग्यो।
त्यसपछि उनलाई बहिरा स्कुलमा सांकेतिक भाषा पढाउन थालियो। त्यही स्कुलबाट एसएलसी पास गरिन् अनि त्यहीँ नै कक्षा ११ र १२ पढिन्। व्यवस्थापनमा प्लस टु गरेकी उनले सांकेतिक भाषामा ब्याचलर लेबल पढ्न चाहे पनि त्यसको पढाइ नभएपछि पढाइ अघि बढाउन सकिनन्।
सानैमा सुरभीलाई उनका हजुरबुवाले चित्रकला कक्षामा भर्ना गरिदिएका थिए। पढाइ अघि बढाउन नसकेपछि सुरभीले नै चित्रकलामा रुचि देखाइन्। आमा मञ्जरी भन्छिन्, ‘साहसी छे, केही गर्छु भन्छे तर उसले चाहेको विषय पढाउन नसकेकोमा खल्लो लाग्छ।’