गुन्युचोलीदेखि स्कर्टसम्म
वसन्त नै बस्न खोज्छ यहाँ लोलाएर,
यो हो मेरो प्राणभन्दा प्यारो
माइतीघर, माइतीघर, माइतीघर...।
‘माइतीघर’ सिनेमाको यस गीतमा नायिका माला सिन्हा गुन्युचोलीमा सजिएर नाच्दै श्यामश्वेत पर्दामा देखिएकी छन्। गीतलाई अहिले र्याप भर्सनमा पनि देख्न सकिन्छ, गुन्युचोलीमै।
नेपाली सिनेमाले निर्माणको ६० वर्ष पार गरिसकेको छ। यसबीचमा नेपाली फिल्ममा बलिउड र हलिउडको जस्तो कुनै पनि चामत्कारिक परिवर्तन देखिँदैन। तर, नायिकाको पहिरनमा भने आकाश-जमिनको परिवर्तन आएको छ। पर्दामा नायिकाको पहिरनले गुन्युचोलीबाट मिनीस्कर्ट फड्को मारेको छ।
सुरुका नेपाली सिनेमा प्रायः गाउँले परिवेशका हुन्थे। कमजोर र लाचार महिला पात्रका रूपमा नायिका फिल्मका पर्दामा देखिन्थे। यस हिसाबले नायिका गुन्युचोली, सारी फरियामा बढी सजिन्थे। अब भने नायिकाप्रधान सिनेमा बन्न थालेका छन्। यसले पनि भूमिकाअनुसार पहिरनको माग गर्छ।
१९८० देखि १९९०, नेपाली फिल्म उद्योगको एक उर्वर दशक रह्यो। यो समय रचनात्मक फिल्मको एक मानक तयार भयो। नायक भुवन केसी र नायिका तृप्तिको जोडी खुब जम्यो। ‘सम्झना’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’, ‘कान्छी’, ‘वासुदेव’, ‘साइनो’ र ‘कोसेली’जस्ता फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरे। यही समय हो, सिनेमाबाट नायिकाको छवि स्थापित भएको।
सारीचोलोमा जमेकी चन्द
निधारमा कहिल्यै नटुट्ने टीका र सिउँदोमा सिन्दुर। कहिले सारी त कहिले कुर्ता सुरुवालमा, गम्भीर तर उजेली भुवन चन्द। उनी नायिकामात्र होइन, गायिका पनि हुन्। १५ वर्षमा ‘आमा’ सिनेमाबाट डेब्यु गरिन्। त्यो बेलाको समय त्यस्तै थियो। हुन त त्यो बखत पनि बेलिबटन पाइन्ट र स्टाइलिस टाइट कुर्ताको फेसन नभएको होइन। तर, फरिया चोलोमा नै उनी नेपाली सिनेमामा मज्जाले जमिन्। आफूले पाएका हरेक पात्रलाई न्याय गरिन्। दिदीको आफ्नै धारणा छ। ‘समय अनुसारको कुरा हुन्छ। पहिले जति छोपियो त्यति राम्रो थियो, अहिले जति देखायो त्यति राम्रो मानिन्छ’, चन्द भन्छिन्, ‘समाज परिवर्तनसँगै मानिसको हेर्ने आँखा फरक भइसक्यो, जमाना फरक भइसक्यो।’
रेखाको स्टारडम
नेपाली फिल्म उद्योगमा चलिआएको ड्रेसिङ कोड नायिका रेखा थापाको आगमनपछि पूरै बदलियो। सारी चोलो र गुन्युचोलीको टे«न्डलाई उनले मिनी स्कर्टमार्फत विस्थापित गरिन्। ‘मैले मिनी स्र्कट लगाएर फिल्ममा प्रवेश गर्नु ग्ल्यामरका लागि मात्र थिएन। म नेपाली फिल्ममा पुरुष नायकको दबदबा मात्र हेर्न चाहदिनथेँ’, फिल्ममा प्रहरी अफिसरको भूमिकामा पनि देखिएकी थापा भन्छिन्, ‘ममा पनि क्षमता छ र म पनि हिरो बन्न सक्छु भन्ने आत्मविश्वास थियो। पारम्परिक महिलाको भूमिकामा बाँधिन मलाई कहिल्यै स्वीकार्य थिएन। मैले मेरो पहिरन र भूमिकामा जहिले पनि नारी सशक्त पात्रलाई छानँे।’
सदाबहार करिश्मा
अभिनयले मात्र होइन सुन्दरताले पनि सधैं चर्चामा हुन्छिन्, नायिका करिश्मा मानन्धर। उनको पहिलो सिनेमा ‘सन्तान’ २०४२ सालमा आयो। १४ वर्षकै उमेरमा फिल्म खेलिन्। त्यति बेलाको समाजमा जस्तो ग्ल्यामर चल्थ्यो, उनी त्यही पहिरनमा देखिइन्। उनको प्रभाव नेपाली फिल्म उद्योगमा तीन दशक बितिसक्दा पनि उस्तै छ। उमेर ढल्कँदै गए पनि उनको पहिरनमा आधुनिकताको कुनै कमी छैन। फेसनको मामिलामा अहिले प्रायः सबै नायिका छन्।
ड्रेस डिजाइनरको हात
फिल्म समीक्षक सुरेश किरण संस्कृतिसँग सिनेमा कहीँ न कहीँ जोडिनुपर्ने विचार राख्छन्। उनका विचारमा फिल्म क्षेत्र मनोरञ्जन क्षेत्रभित्र पर्ने भएकाले आकर्षक पोसाक लगाएर सबैको आँखा तान्नु सामान्य हो। सिनेमामा नायिकाको पहिरन लुक्समा डे«स डिजाइनरहरूको ठूलो हात छ। सुरेश भन्छन्, ‘नयाँनयाँ डिजाइनका लुगाले ठाउँ पाएका छन्। तर, देशको मौलिकता जोगाउन आवश्यक छ। केही जनजातिका पोसाक प्रयोगमा ल्याइए पनि अझै मौलिक पहिचानमा जान बाँकी छ।’
डिजाइनर यूबी थापा सिनेमाका पहिरन बनाउन सधैं व्यस्त रहन्छन्। भन्छन्, ‘फिल्ममा नायिकाको भूमिकाअनुसार पोसाक बनाउन अर्डर आउँछ। जस्तो खोज्छन्, त्यस्तै बनाउने कोसिस गर्छु। आजभोलि कल्चरल र मोर्डन डे«सलाई मिक्सप गर्ने काम बढी आउँछन्। चलेको टे«न्ड नै यस्तै छ।’
फिल्म विश्लेषक विजय अधिकारी सिनेमामा नायिकाले लगाउने पहिरनप्रति सन्तुष्ट छैनन्। ‘नेपाली सिनेमा अर्गानिक भनी चर्चा गरिन्छ। फिल्म हेर्न जानुस्, त्यस्तो केही पाउनु हुन्न’, थापा भन्छन्, ‘पहिरनमा तडकभडक बढी छ। मौलिकता झल्कने केही फिल्म बने होलान् तर बाँकी फिल्ममा कथा अनुसारको पहिरन पाइँदैन।’
समाजशास्त्री मधुसूदन सुवेदी फेसन परिवर्तनीय हुने ठान्छन्। ‘५० वर्षअघि महिलाले पान्इट लाउँदा अचम्म मान्थे, आज यो सामान्य भइसक्यो। नवनायिका प्रमोसनमा सकेसम्म सेक्सुवालिटी झल्काइन्छ, मान्यता नै यस्तै छ। के गर्न सकिन्छ ? आखिर नायिकाहरूले पनि स्वीकारेका नै छन्’, उनी भन्छन्, ‘हाम्रो समाजमा पचाउन सक्ने र पचाउन नसक्ने दुवै जमात छन्।’
पहिरनको सवालमा सबैको सोच एकै नहुन सक्छ तर कहिलेकाहीँ के नमिले के नमिलेजस्तो लाग्छ। फेरि यसो भन्दैमा समयभन्दा पछि र समाजभन्दा बाहिरका पहिरन दुवै सही हुँदैनन्। मोटामोटी यस्तो लाइदिए हुन्थ्योसम्म चाहिँ हुनुपर्यो, जुन सबै वर्गले स्वीकार्न सकून्।
दर्शकको आँखामा नायिकाका ड्रेस
नेपाली सिनेमाका नियमित दर्शक अनिता आचार्यको बुझाइमा नेपाली सिनेमा हेर्दा कुनैकुनै डे«स एकदम भल्गर हुन्छन्, जुन फिल्मको पात्रसँग मेल खाँदैनन्। उता सर्मिशा श्रेष्ठ केही फरक विचार राख्छिन्। ‘नेपाली नायिकाका पहिरन अजिब त छन् तर दर्शकलाई पनि केही फरक पस्किन खोजेका हुन् कि ? ’, उनी प्रश्न गर्छिन्। उषा पाण्डे भने नेपाली नायिका जति सबैले बलिउडका नायिकाको पहिरन कपी गर्ने गरेको आरोप लगाउँछिन्। भन्छिन्, ‘कथाको पात्रलाई अभिनयले भन्दा आफ्नो पहिरनले बढी प्रभाव पार्न खोज्छन्। यसले फिल्म फ्लप हुन्छ।’