करिश्माको होली
नायिका करिश्मा मानन्धर नायक शिव श्रेष्ठका साथमा कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा चलचित्र ‘मनकामना’को छायांकनमा थिइन्। होलीको समय थियो। यही क्रममा सुटिङ हेर्न आउने एक युवाले अभिनयमा व्यस्त करिश्मालाई लोला हान्यो। लोला प्रहारले करिश्माको मुख नै सुन्निएपछि सुटिङ नै रोक्नु परेको थियो। संयोगले त्यही लोला हान्ने केटा अहिले चर्चित नायक छन्। करिश्मालाई ेला लोला हान्ने केटा अरू कोही नभई कीर्तिपुरवासी नायक दिलीप रायमाझी थिए। यो दुई दशक अघिको घटना हो।
होलीकै बेला करिश्मा एक दिन कामको सिलसिलामा आफ्नो निवास ललितपुर, गोदावरीबाट काठमाडौं आइरहेकी थिइन्। एक युवाले गाडीभित्रै छिर्ने गरी लोला बर्साए। युवकको यस्तो दुव्र्यवहार सहन नसकी उनी गाडी रोकेर सीधै उसको घर गइन्। केटा लुक्न खोज्यो। उनले समातेर बाहिर ल्याई उसलाई एक झापड हानेपछि बाटो लागिन्।
होलीकै सन्दर्भमा यस्ता धेरै अविस्मरणीय क्षण बटुलेकी करिश्मालाई कुनै पनि सिनेमाको कथावस्तुभित्रै रहेको होलीको छायांकन गर्दा भने त्यति रमाइलो लाग्दैन। सिनेमामा होलीको दृश्य छायांकन गर्दा एकैपटक ओके नहुने टेकहरूमा पटकपटक पानीले छ्याप्दा दिक्क लाग्छ उनलाई।
१४ वर्षकै उमेरमा नेपाली सिनेमा उद्योगमा छिरेकी करिश्मालाई बाल्यकालको होलीको भने त्यति सम्झना छैन। जथाभावी लोला हान्नाले करिब एक महिना अगाडिदेखि आफू विद्यालय जान छाड्ने गरेको भने उनले बिर्सेकी छैनन्।
साथीभाइ, आफन्त र नेता, अभिनेतालाई घरमै बोलाएर होलीको दिनमा रमाइलो गर्न थालेको एक दशक बितिसकेको छ, करिश्माको।
पहिले सिनेमामा जति व्यस्त हुँदा पनि उनी पारिवारिक होली मनाउँथिन्। अहिले उनको गोदावरीस्थित घरमा होली मनाउने एउटा चलनजस्तै बनेको छ। नयाँनयाँ कलाकार आउने भएकाले नयाँ र पुराना पुस्ताको एउटा पुलका रूपमा करिश्माले आयोजना गरेको होलीको परम्परा बन्यो।
उनले करिब २५ वर्ष अगाडिदेखि नै होली मनाए पनि घरमै साथीभाइ, आफन्त र अभिनेतादेखि नेतासम्मका व्यक्तित्वलाई बोलाएर होलीका दिनमा रमाइलो गर्न थालेको एक दशक बितिसकेको छ।
हिजोआज आफूले मात्रै नभई अन्यले पनि घरमै आफन्त र साथीभाइलाई बोलाएर सभ्य तरिकाले होली मनाएको देख्दा उनलाई निकै खुसी लाग्छ। पहिले बाटैमा लोला हान्ने र इच्छा नहुँदानहुँदै पनि होलीको दिन रङ लगाइदिने र लोला हान्ने चलन रहेकोमा हिजोआज प्रशासनले कडाइ गरेका कारण यो घटेको छ। त्यसैले केही वर्षयता होली संस्कृति अलि सभ्य र रमाइलो हुँदै गएको करिश्माको अनुभव छ। आफ्नो घरको होली पनि सभ्य होस् भन्ने उनको चाहना छ। उनको घरको होलीमा पानी छ्यापाछ्याप हुँदैन। परिकारमा भाङ हाल्ने चलन पनि छैन। उनले भनिन्, ‘हामी दिनभरि रङ दलेर दौडादौड पनि गर्दैनौं, बरु नाच्ने गाउने, खाने र रमाइलो गर्छौं।’
केहीअगाडि उनको ससुरा बितेको वर्ष उनले होली मनाउन पाइनन्। त्यति बेला उनलाई अलि नरमाइलो लागेको थियो। आफूकहाँ आएका साथीहरू निकै रमाएर होली खेलिरहेको देख्दा उनलाई पनि आनन्द आउँछ। ‘कहिले तपाईंकोमा होली आउँछ भनेर हामी त कुरेर बसेका थियौं’, कलाकारका यस्ता प्रतिक्रिया सुन्दा करिश्मालाई पनि धेरै खुसी लाग्छ।
करिश्मालाई मन पर्ने रङ सेतो हो। यो बाहेक कालो पनि उनलाई राम्रै लाग्छ। सेतो, कालो बढी मन पराउने उनी होलीका दिनमा भने सबै रङसँग रमाउँछिन्। होलीका दिनमा उठेपछि सबैभन्दा पहिले उनी गणेशको पूजा गर्छिन्। होलीको पहिलो रङ पनि गणेशलाई नै लगाइदिन्छन्।
पहिले उनले ब्रेकफास्टदेखि नै आफन्त र कलाकारलाई होलीमा बोलाउँथिन्। तर, दुईचार वर्षयता अन्य धेरै संघसंस्थाले पनि होली कार्यक्रम मनाउने हुनाले दिउँसो मात्रै बोलाउँछिन्। मोबाइल, एसएमएस, फेसबुकबाट होलीको निम्तो दिन्छिन्। चाडपर्वले सबैलाई समेट्छ, यसलाई भड्किलो नभई सभ्य तरिकाले मनाउनुपर्छ। यस्तो धारणा राख्ने करिश्माले सधैंझैं यस वर्ष पनि गोदावरीस्थित आफ्नै निवासमा सबैलाई बोलाएर सभ्य र भव्य तरिकाले होली मनाइन्।