कालेश्वर : मृग र गुराँस

कालेश्वर : मृग र गुराँस

राजधानी नजिकको पर्यटकीय गन्तव्य हो कालेश्वर। हरेक चैत्र शुक्ल पूर्णिमाको दिन चापागाउँ क्षेत्रका प्याङवासी पैसा सुकाउने जात्रा भर्न कालेश्वर धाउँछन्। प्याङगाउँले परिवारका इष्टदेवता कालेश्वरलाई पुज्न चिला, च्याम्राङबेसी, अलौ, कतवन, ठोस्नेखोला, मगरगाउँ, चिउलीडाँडालगायत दर्जनौं गाउँका गाउँले ओइरिन्छन्।

सतीदेवीको कण्ठ पतन भएर कालेश्वर महादेव उत्पन्न भएको र शिवशक्ति स्वरूपले रहेको पौराणिक ग्रन्थ स्वस्थानीमा उल्लेख छ। कालेश्वरलाई ६४ ज्योतिर्लिंगमध्ये एक ज्योतिर्लिंगको रूपमा पुजिन्छ। स्कन्द पुराणको हिमवत् खण्डमा रामेश्वर ज्योतिर्लिंग टीकाभैरव र कालेश्वर मन्दिरको बीच बैतरणी, घड्घडा र मसाल नदीको संगम रहेको स्थलमा बैतरणी धाम रहेको पढ्न पाइन्छ।

धेरै अघिदेखि पाटन र भक्तपुरबाट हिँडेर कालेश्वर दर्शन गर्ने दर्शनार्थी पुग्ने गरेको स्थानीय गोविन्द पराजुली बताउँछन्। सिसवन भीरमा विशाल ढुंगा अड्किएको अचम्मको दृश्य देख्न सकिन्छ। यस ठाउँमा अद्भुत शक्ति रहेको तर्क गर्दै स्थानीय लक्ष्मण दुलाल भन्छन्, ‘भीरमा अड्किएको यो ढुंगा ९० सालको भूकम्पमा हल्लिएन, ७२ सालको भूकम्पमा पनि ढलेन।’

कालमोचन राक्षसले चुनढुंगाको चन्दन घोटेर कालेश्वर महादेवको पूजा आराधना गर्ने गरेको जन श्रुति छ। यही चुनढुंगालाई स्थानीय तामाङ समुदायले चुनदेवीको रूपमा पुज्छन्।

कालेश्वरको जंगलमा मृगका लस्कर देखिन्छन्। रंगीविरंगी चराहरू देखिन्छन्। माघ, फागुनमा फुल्ने सुनकेशरीको सुगन्धले जंगलै हरहर सुवासित हुन्छ। राता गुराँस फूलले ढकमक्क ढाक्छ। कालेश्वर नजिक गुप्तेश्वर गुफा, चमेरे गुफा र नाग गुफा छन्। हरेक बिहान चुचुरोमा उभिएर रोमाञ्चक सूर्योदय र सूर्यास्तको दृश्य हेर्न पाइन्छ।

कालेश्वरको जंगलमा मृगका लस्कर देखिन्छन्। माघ, फागुनमा फुल्ने सुनकेशरीको सुगन्धले जंगलै हरहर सुवासित हुन्छ।

कालेश्वर वरपर गोटीखेल, चन्दनपुर गिम्दीतिर चिया बगानमा रमाउन पाइन्छ। बारीका कान्लामा राता कफी फलेको देखिन्छ। गाउँघरका बारी लोठसल्ला जडिबुटीले ढाकिएका छन्। टुंगुन खोलाका पँधेरामा रंगीविरंगी ट्राउट माछाले मन हर्छन्।

पाटनबाट ५० किलोमिटर दक्षिणपूर्वी दिशामा रहेको कालेश्वर काभ्रे, मकवानपुर र सिन्धुलीको सिमानामा पर्ने ठुलादुर्लुङको शिखरमा अवस्थित छ। आजकल कालेश्वरको पाखापखेरामा मोटरसाइकलबाट आउने तन्नेरी जोडी दिनानुदिन बढ्दै छन्।

कसरी जाने ?

सातदोबाटो, चापागाउँ, लेले, नल्लु भारदेउ, चौघरे, कतवन हुँदै गोटीखेल पुगिन्छ। यहाँसम्म कालोपत्रे सडक छ। त्यहाँबाट उत्तरतर्फ खोला तरेर ठाडो उकालो उक्लिनुपर्छ। गाडीबाट सिसौन भञ्ज्याङसम्म पुग्न सकिन्छ। सिसौनबाट ढुंगा छापिएको बाटो हिँडेर एक घन्टामा कालेश्वर पुगिन्छ।

बनेपा पनौतीबाट वैकल्पिक बाटो पनि छ। खोपासी ढुंखर्कबाट कच्ची बाटो हुँदै कालेश्वरको फेदीबाट चन्दनपुर गोटीखेल जान सकिन्छ। पाटनबाट गोटीखेल पुग्न सार्वजनिक यातायातको गाडीमा जाँदा पाँच घन्टाजति लाग्छ। आफ्नै सवारीसाधन भए बेस।

कहाँ बस्ने

गोटीखेलमा रेस्टुराँ खुलेका छन्। बस्नलाई गेस्टहाउस पनि उपलब्ध छ। कालेश्वर मन्दिर छेउ बस्न मन भए सिसौनमा रिसोर्ट छ। लोकल भाले, गुन्द्रुक, ढिँडो आदि स्थानीय स्वाद लिने भए सिसवनका गाउँले होमस्टे सत्कार गर्न जहिले पनि आतुर छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.