गलेश्वरधाममा तीर्थयात्री निवास बन्ने
बेनी : मुक्तिनाथको प्रवेशद्वार म्याग्दीको पवित्र धार्मिकस्थल गलेश्वरधाममा तीर्थयात्री निवास निर्माण हुने भएको छ। कागबेनीमा स्नान, मुक्तिनाथमा दर्शन गर्दै दामोदरकुण्डसम्म पुग्ने भक्तजनको भीड हुने गलेश्वरमा काठमाडौँस्थित होटल र्याडिसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्वारा सञ्चालित गोविन्द–सरस्वति फाउण्डेसनले ५० लाख रुपैयाँको लागतमा निवास निर्माण गर्न लागेका हुन्।दुई तले भवनमा ६ वटा कोठाहरु रहनेछन्।
गलेश्वरधामको दर्शनका साथै मुस्ताङमा रहेका प्रसिद्ध धार्मिकस्थलको दर्शनका लागि जाने भक्तजनलाई लक्षित गरी गलेश्वर शिवालय क्षेत्र विकास कोषको आग्रहमा श्रेष्ठले उक्त निवास निर्माण लागेको कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए। ‘गलेश्वरधामको महिमाकै कारण छिमेकी देश भारतदेखि थुप्रै भक्तजन आउनुहुन्छ, त्यसका साथै यो मुक्तिनाथको प्रवेशद्धार समेत रहेकाले बडादसैं र चैते दसैंपूर्व सोहश्राद्धमा अत्यधिक भीड हुन्छ', उनले भने, ‘त्यतिबेला हामीले भक्तजनलाई सिढीमा समेत राख्नुपर्ने अवस्था आउँछ।यसैलाई मध्यनजर गरेर उहाँले सहयोग गर्नुभएको हो।' आगामी असोजभित्र निर्माण सम्पन्न लक्ष्यका साथ तीनदिन अघि श्रेष्ठ र उनका धर्मपत्नी सरस्वतिलगायतका सदस्यले उक्त भवनको शिलन्यास गरेका छन्।
ठेक्का प्रक्रियामा जाँदा गुणस्तरीय नहुने र विलम्ब हुने डरले कोषकै निगरानीमा कोषका सदस्य नरबहादुर पुनलाई विशेष जिम्मेवारी दिएर निर्माण गरिरहेको अध्यक्ष केसीले जानकारी दिए।निवासमा एकरातमा करिब १ सय जना बास बस्न सक्नेछन्। व्यवसायमा सफलता हासिल गरेको श्रेष्ठले भक्तजनको सुविधाका लागि नै निवास निर्माण गर्न लागेको बताए। ‘जनताबाट कमाएको पैशा जनताकै सेवामा खर्च गर्नुपर्छ भन्ने भावनाले हामीले यो निर्णय गरेका हौँ।
यसले गलेश्वरधामको विकासमा केही योगदान पुग्नेछ', उनले भने, ‘मैले अन्य व्यवसायी साथीलाई पनि आम्दानीको केही हिस्सा सामाजिक कार्यमा लगानी गर्न आग्रह गर्दछु।' हाल चार सयजना बास बस्न सक्ने तीर्थयात्री निवास रहेको गलेश्वरधाममा तीर्थयात्रीलाई निःशूल्क भोजनको व्यवस्था मिलाइएको छ।
कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलिएको ढुङ्गामाथि अवस्थित गलेश्वरधाममा दर्शनका लागि आउने भक्तजनले चढाउने भेटी, दाता र सरकारी निकायको नौ करोडको लगानीमा हालसम्म सत्संग भवन, जेष्ठ नागरीक आश्रम, पुजारी निवास, सामुदायिक स्वास्थ्य इकाई, बालउद्यान, नटराजको मुर्ती स्थापना गरिएको छ। ‘हामीले चौतर्फी रुपमा सहयोगको हात फिजाएका छौँ।
सबैको सहयोगबाटै हामीले गलेश्वरधामलाई सुविधासम्पन्न धार्मिकस्थल बनाउन सफल भएका छौँ’, कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले भने, ‘व्यक्तिगत रुपमा प्राप्त सहयोगमध्ये श्रेष्ठले सबैभन्दा बढी सहयोग गर्नुभएको छ।' कोषले पछिल्लो समय मुक्तिनाथ पुग्न नसक्ने तीर्थयात्रीका लागि कालीगण्डकीको पानी लगेर गलेश्वर परिसरमा १०८ धारा निर्माण गर्ने र स्नानको व्यवस्था मिलाउने तयारी थालेको छ।