होलीमा मोरङबाट ९४ जना पक्राउ
विराटनगर : रंगको पर्व होली धुमधामका साथ मनाइरहँदा प्रहरीले शुक्रबार मोरङबाट ९४ जनालाई पक्राउ गरेको छ।उछृंखल गतिविधि गरेर शान्ति सुरक्षाको अवस्थालाई भंग गर्न खोजेको भन्दै प्रहरीले प्रदेश १ को अस्थायी मुकाम विराटनगरलगायत मोरङका विभिन्न स्थानबाट ९४ जनालाई नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जथाभावी रंग दल्ने, लोला हान्ने, महिला तथा बालबालिकालाई दुरव्यवहार गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयसहित विभिन्न प्रहरी युनिटमा राखिएको छ ।
त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने तीन सय ९० वटा मोटरसाइकल र दुईवटा कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सबैभन्दा बढी विराटनगरबाट नियन्त्रणमा लिइएको छ । बिना हेल्मेट चलाइएका, तीनजना चढेका, तीव्र गतिमा चलाइएका र मादक पदार्थ सेवन गरेर चलाइएका सवारी साधन नियन्त्रणमा लिइएको एसपी बिसीले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेको कसूरमा कारवाही गरिने जानकारी उनले दिए ।
त्यस्तै विराटनगरका जामुनगाछी, कन्चनबारी, हाटखोलालगायतका स्थानमा पाँचवटा मोटरसाइकल दुर्घटनामा परेका छन् । होलीमा मादक पदार्थ सेवन गरेर नशाको सुरमा तीव्र गतिमा चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर आठजना सामान्य घाइते भएका छन् ।