विमान कम्पनीको हानथापले यात्रु अलपत्र
सिमकोट : अदानचुली गाउँपालिका- ४ का गंगराज बुमी आगोले जलेर आँखामा चोट लागेकी १० वर्षिया छोरी मनिषा बुमीलाई उपचारकालागि नेपालगन्ज/सुर्खेत लिन बिहीबार बाजुराको कोल्टी विमानस्थल पु-याए। नेपालगन्जगए राम्रो उपचार हुने जानकारी पाएका बुमीले छोरीलाई सुरुमा नेपालगन्ज लाने सोचमा थिए।
आफ्नो जहाज आउँछ भनेर सीता एयरको कोल्टी कार्यालयमा नाम लेखाएका बुमीलेपछि समिट एयरका कर्मचारीको आग्रहमा नेपालगन्ज जान आफू, छोरी र श्रीमती सहित तीनजनाको टिकट समिट एयर बाटै काटे। तर शुक्रबार बिहान समिट एयरभन्दा अघि सुर्खेतबाट मकालु एयरको उडान भयो। जति सक्यो छिटो जान पाए हुन्थ्यो भन्ने सोचेका बुमीलाई समिट एयरले आफूबाट टिकट लिएको भन्दै टिकटको रकम फिर्ता नदिएपछि बिरामी छोरीसहित बाजुराको कोल्टीमै बस्नु पर्ने बाध्यता आइलाग्यो।
मुगुको एक स्वास्थ्यचौकीमा कार्यरत कालिकोट स्थायी घर भएकी अनमी निर्मला सञ्ज्याल पनि बिरामी भएपछि १२ दिनको बिरामी विदा लिएर सुर्खेत झर्ने योजनाकासाथ तीन दिनदेखि कोल्टी विमानस्थलमा पुगेकी हुन् तर कोल्टीका लागि उडान भर्दै आएका निजी विमान कम्पनी सीता एयर, तारा एयर, समिट एयर, मकालु एयरका स्थानीय कर्मचारीले हाम्रो जहाज भन्दै यात्रु तानातान गरेका कारण अँझै झर्न पाएकी छैन्न। बिरामी सञ्ज्याल आफ्नो १२ दिनको बिरामी बिदा नेपालगन्ज नझर्दै सकिने हो की भन्ने चिन्तामा छन्।
हुम्लाका बुमी र मुगुकी स्वास्थ्यकर्मी सञ्ज्याल त बाजुराको कोल्टीमा भएका निजी विमान कम्पनीको हानथापले अलपत्र परेका दर्जनौ यात्रुका प्रतिनिधिपात्र मात्रै हुन्। आफ्नो जहाज आउँछ भन्दै टिकट कटाउने तर जहाज नबोलाउने गर्दा अहिले हुम्ला, मुगु र बाजुराका दुर्गम क्षेत्रका १८ जना यात्रु अहिले कोल्टीमै अलपत्र परेका छन्। नेपालगन्ज सुर्खेत झर्ने थाहा पाए लगत्तै बाटो र यात्रु बसेको होटेलमै गएर टिकट थमाउने निजी विमान कम्पनीले समयमा निर्धारित उडान नभर्दा बिरामीदेखि अन्य यात्रु मर्कामा परेका छन्।
आफूलाई विमान कम्पनीका कर्मचारीले जर्बजस्त टिकट नथमाएको भए शुरुमा जुन जहाज आउँछ त्यसैमा जाने योजना गरेका अदानचुली –४ हुम्लाका गंगाराम बुमीले समिट एयरका कर्मचारीले आफ्नो उडान हुन्छ भन्ने जिद्धी गरेर रकम फिर्ता नदिएपछि मकालु एयरमा जान नपाएर कोल्टीमै बस्नु परेको अन्नपूर्णसँग गुनासो गरे। विमान कम्पनीका कर्मचारीको हानथापप्रति आजित भएका उनले भने “बिहान मकालु एयरको जहाज सुर्खेतबाट आएको थियो। ९ जना यात्रु बोक्ने मकालुले २ जना यात्रु मात्रै बोकेर खाली नै सुर्खेत उड्यो तर समिट एयरका कर्मचारीको हठका कारण आफूले बिरामी छोरी लान पाइन्।”
लामो समयदेखि बिरामी भएर छोटो बिदामा उपचारका लागि सुर्खेत झर्ने योजना बनाएकी मुगुको स्वास्थ्य चौकीमा कार्यरत निर्मला सञ्ज्यालले निजी विमान कम्पनीको हानथापले आफू ३ दिनदेखि जान नपाएको बताइन्। सडक मुगुको ताल्चा विमान स्थलमा जान झन बढी समय लाग्ने बताएकी सञ्ज्यालका अनुसार सुरुमा सीता एयरबाट शुरु भएको टिकट लिने र नाम लेखाउने गरेपनि अन्तमा मकालुको विमान खाली जाँदा समेत आफूले जान नपाएको बताइन्। विमान नबोलाउने तर यात्रुका पैसा पनि फिर्ता नदिने विमान कम्पनीका कर्मचारीको हठले सबै यात्रु समस्या परेको बताइन्।
उता कोल्टीस्थित विमान कम्पनीका कर्मचारीले सुर्खेत र नेपालगज्जबाट जहाज नपाएकाले आफूले यात्रुलाई धोका दिएजस्तो भएको स्वीकार गरेका छन्। बिहान नेपालगन्जबाट सिधै कोल्टी आउने योजना अनुसर आफूले १७ जनालाई टिकट दिएको बताएका समिट एयर कोल्टीमा प्रमुख बिनोदबहादुर सिंहले अन्तमा नआएपछि समस्या भएको बताए।
तर मकालु एयरका निर्वाचन बुढाले सबै यात्रुको रकम लिएर फिर्ता नदिएकाले यात्रु कोल्टीमै बस्ने तर आफ्नो विमान खाली जानु परेको आरोप लगाए।
सडक सञ्जालमा नआएको हुम्ला, मुगुको दक्षिण क्षेत्र र बाजुराका पोरखेपारीका बासिन्दाले कोल्टी बिमानस्थल हुँदै नेपालगन्ज , सुर्खेत आहोरदोहोर गर्ने गरेका छन्।