कांग्रेस संसदीय निर्वाचन : २१ गते मतदान
काठमाडौं : कांग्रेस संसदीय दलको नेताका लागि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिको शुक्रबार बसेको बैठकले सोमबार हुने निर्वाचनका लागि आइतबार साढे चार बजे मतदाता नामावली सार्वजनिक गर्ने जानकारी दिएको छ ।
मतदाता नामावली सार्वजनिक भएको आधा घण्टासम्म त्यसमाथि दाबी विरोध गर्न पाइनेछ । मतदाताको दाबीविरोधमाथि निर्वाचन समितिले छानबिन गरेर साढे पाँच बजे अन्तिम नामावली प्रकाशन गर्नेछ । दल नेताका लागि उम्मेदवारको दरखास्त शुल्क ४१ हजार रुपैयाँसमेत निर्धारण गरिएको समितिका संयोजक चिनकाजी श्रेष्ठले जानकारी दिए । उम्मेदवारको दरखास्त शुल्कबाट प्राप्त हुने रकम निर्वाचन समितिले निर्वाचनको खर्चमा लगाउने उनको भनाइ छ ।
गत आइतबार मात्रै कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले श्रेष्ठको नेतृत्वमा नवीन्द्रराज जोशी र भीष्मराज आङदेम्बे सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । संसदीय दलको निर्वाचनका लागि उम्मेदवारले आइतबार साँझ ६ देखि साढे ७ बजेसम्म उम्मेदवारी मनोनयन गराउनुपर्नेछ ।
निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली पौने आठ बजे प्रकाशन गर्ने तयारी गरेको छ । त्यसको १५ मिनेटभित्र उम्मेदवारको दरखास्तउपर दाबीविरोध गर्न पाउने व्यवस्था छ । उम्मेदवारको दाबीविरोधमाथि समितिले छानबिन गरेर दोस्रो नामावली सवा आठ बजे प्रकाशन गर्नेछ । त्यसपछि सोमबार बिहान सवा नौ बजेसम्म उम्मेदवारले चाहेमा नाम फिर्ता लिन पाउनेछन् । लगत्तै समितिले सोही दिन साढे नौ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दल नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
सोमबार १० देखि एक बजेसम्म दल नेताका लागि मतदान हुने कार्यक्रम छ । मतदान सकिएलगत्तै मतगणनाको व्यवस्था गरेको निर्वाचन समितिले मतदान गर्न आउँदा मतदातालाई निर्वाचनमा विजयी भएको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता वा प्रमाण खुल्ने परिचयपत्रको प्रतिलिपि ल्याउन आग्रह गरेको छ ।
संसदीय दल नेताको निर्वाचन मिति निर्धारण भएसँगै कांग्रेसभित्र दौडधूप बाक्लिएको छ । अहिलेसम्म पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दल नेताका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । महामन्त्री शंशाक कोइरालालाई सर्वसम्मत दल नेता बनाउनुपर्ने भन्दै केही नेता लागिपरेका छन् । संघीय सदनअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा कांग्रेसका ७६ सभासद् छन् ।