नास्टका शाखा अब सातै प्रदेशमा
काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले सातै प्रदेशमा शाखा स्थापना गर्ने तयारी गरेको छ । विज्ञान र प्रविधिको क्षेत्रमा देशको एक मात्र अनुसन्धानमूलक सरकारी संस्था नास्टले संघीय संरचनाअनुसार शाखा कार्यालय स्थापना गर्न लागेको हो ।
नास्टले प्रदेश ७ अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा पहिलो शाखा कार्यालय स्थापना गरिसकेको छ भने महेन्द्रनगरमा एक जना वैज्ञानिक पठाउने तयारीसमेत गरेको छ । नास्टले सातै प्रदेशमा त्यहाँको विशेषता हेरेर प्रयोगशाला स्थापना गर्न लागेको नास्टका उपकुलपति प्रा.डा. जीवराम पोखरेलले जानकारी दिए । प्रदेश १ मा पेयप्रविधि प्रयोगशाला, २ मा खाद्यप्रविधि प्रयोगशाला र ३ मा औद्योगिक प्रयोशाला स्थापना गर्ने नास्टको योजना छ ।
प्रदेश ४ मा फलफूल प्रयोगशाला, ५ मा प्राचीन विज्ञान प्रयोगशाला र ६ मा पशु प्रयोगशाला स्थापना हुने नास्टले जानकारी दिएको छ । शाखा कार्यालय स्थापनाका लागि अर्थ मन्त्रालयसँग आवश्यक बजेट माग गरेको उपकुलपति पोखरेलले बताए । ‘आगामी आर्थिक वर्षभित्र सबै प्रदेशमा शाखा खोल्ने गरी तयारी गरेका छौं’, उनले भने, ‘अर्थले बजेट स्वीकृत नगर्दा ढिलाइ भइरहेको छ ।’
नास्टले प्रदेश ७ अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा पहिलो शाखा कार्यालय स्थापना गरिसकेको छ ।
प्रदेश १ को शाखा कार्यालय विराटनगर र धरानमध्ये एक ठाउँ र २ को जनकपुरमा कार्यालय स्थापना हुनेछन् । यस्तै प्रदेश ३ को कार्यालय कृषि क्याम्पस रामपुर वा हेटौंडा, ४ को पोखरामा कार्यालय, ५ को महेन्द्र संस्कृत क्याम्पस दाङ र ६ को सुर्खेतमा नास्टको कार्यालय स्थापना गरिने नास्टले जानकारी दिएको छ ।