कुमाले पेसा संकटमा
गाईघाट : माटोको भाँडा बनाएर पुस्तौदेखि जीविकोपार्जन गर्दै आएका यहाँको कुमाले पेसा संकटमा छ। प्लास्टिक र आल्मुनियमका भाँडाको बढ्दो प्रयोग र भाँडा बनाउने माटो अभावका कारण सयौं वर्षदेखि गर्दै आएको उनीहरूको पुर्ख्यौली पेसा संकटमा परेको हो।
उदयपुरको त्रियुगा नगरपालिका ११ स्थित जलजले बजारका अमृतलाल कुमाल भन्छन्, ‘बजारमा प्लास्टिकका भाँडाको बढ्दो प्रयोगकै कारण आपूmहरूको पुरानो पेसा संकटमा परेको हो।’ त्यति मात्र नभई जताततै सामुदायिक वन कार्यक्रम लागू भएकाले भाँडा बनाउन प्रयोग गरिने माटोकोसमेत अभाव भएको उनले बताए। नजिकैको जलजले सामुदायिक बनले जंगलको माटो खन्न रोक लगाएपछि थप समस्यामा परेको उनको भनाइ छ।
सामुदायिक बनले रोक लगाएपछि सप्तरीको कञ्चनपुरबाट माटो ल्याउने गरेको अमृतलालले बताए। तर टाढाबाट माटो ढुवानी गर्दा खर्च बढ्ने र मुनाफामा कमी आएकाले पेसाबाट पलायन हुने अवस्थामा पुगेको अमृत बताउँछन्। माटोका भाडाँकुडा प्रायजसो रातोमाटोबाट बनाउने गरिन्छ। त्यसमा पनि जंगलको रातोमाटो भाँडा बनाउन उपयुक्त मानिन्छ।
माटोबाट हाँडी, घैंटो, रक्सी पार्ने पैनी, खुत्रुके, फूल रोप्ने गमलालगायत सामग्री बनाइने भए पनि मेहनतअनुसारको आर्थिक लाभ प्राप्त हुन छाडेपछि कुमालेको पुरानो पेसा संकटमा परेको हो। विगत ३० वर्षदेखि उदयपुरका विभिन्न बजारलगायत खोटाङको दिक्तेलसम्म आपूmहरुले बनाएको भाँडाले बजार पाउने गरेकोमा हिजोआज गाउँघरमा आल्मुनियम र प्लास्टिकका भाँडाको प्रयोग बढी हुने गरेपछि आफ्ना सामान बिक्री हुन छाडेको दुर्गादेवी कुमालले बताइन्।
प्लास्टिक र आल्मुनियमका भाँडाको बढ्दो प्रयोग र भाँडा बनाउने माटो अभावका कारण सयौं वर्षदेखि गर्दै आएको उनीहरूको पुख्र्याैंली पेसा संकटमा परेको हो।
माटोका भाँडा फुटेर खेर जाने र त्यसलाई पुनः मर्मत गरी प्रयोगमा ल्याउन नसकिने भएकाले यसको प्रयोग घट्दै गएको स्थानीय बताउँछन्। भाँडा बनाउन बिगतजस्तो लठ्ठिले चक्र घुमाउनु पर्ने झन्झट भने हिजोआज नभएको र विद्युत्का माध्यमबाट चक्र घुम्ने हँुदा महिलालाई पनि काम गर्न सहज हुने अवस्था रहेको दुर्गादेवी बताउँछिन्।
उनी भन्छिन्, ‘भएको सीप प्रयोग गर्न नपाउँदा आफ्नो रोजीरोटी नै गुम्यो।’ ‘सुरुका वर्षमा बर्सेनि २÷३ लाख कमाइ हुन्थ्यो अहिले त प्लास्टिक सामानले मार्केट लिइहाल्यो, सामान्य घर खर्च चलाउन पुग्छ’, उनले थपिन्।
कुनै समय घरमै बसेर मनग्गे आम्दानी हुने कुमाले पेसा धाराशयी भएकाले बेरोजगार बन्दै गएको जलजलेका कृष्ण पराजुली बताउँछन्। प्लास्टिकका सामान आयातमा निरुत्साहित र कुमाले पेसालाई प्रोत्साहन गर्न सके स्थानीयस्तरमा रोजगार सिर्जना गर्न सकिने उनको भनाइ छ।
०००
उदयपुरको जलजलेस्थित आफ्नै घरमा विद्युत् जडित चक्रमा माटोका भाँडा बनाउँदै दुर्गादेवी कुमाल। भरत खड्का