महबाट जीवनस्तर सुधार

महबाट जीवनस्तर सुधार

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकाको श्रीकेदारका अधिकांश किसानले मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी गर्न थालेका छन्। जिल्लाका धेरै ठाउँका नागरिक परिवार पाल्न भारतको भर परिरहेका बेला श्रीकेदारका किसान भने मौरीपालन व्यवसायबाट मनग्गे आम्दानी गर्न सफल भएका हुन्। मौरीका लागि प्रशस्त चरन क्षेत्र भएकाले पनि किसानलाई मौरीपालन व्यवसायमा लाग्न सजिलो भएको किसानले बताएका छन्।

पहिलापहिला परम्परागत रूपमा मौरीपालन गर्ने चलन रहेकामा पछिल्लो समयमा भने आधुनिक तरीकाबाट किसान व्यावसायिक रूपमा मौरीपालन व्यवसायमा लागेका छन्। मौरीपालन व्यवसायबाट प्रशस्त आम्दानी हुन थालेपछि आफूहरू व्यावसायिक र आधुनिक तरीकाबाट मौरीपालन व्यसायमा लागेका किसान इन्द्रदेवशरण भट्टले बताए। उनले भने, ‘हाम्रो गाउँमा मौरीपालन गर्ने चलन त पहिलादेखि नै थियो। तर पछिल्लो समयमा हामीले आधुनिक तरिकाले मौरीपालन व्यवसाय गरिरहेका छौं। मौरीपालन व्यवसायबाटै वार्षिक सात लाखको हाराहारीमा कमाउने गरेको छु।’

जिल्ला लघु उद्यमी समूह संघका अध्यक्ष समेत रहेका भट्टले मौरीपालन व्यवसायबाटै छोरालाई जापान पठाउन सफल भएको बताए। उनले भने, ‘मैले मौरीपालन व्यवसायबाट घरखर्च मात्रै चलाएको छैन। मानसम्मान र इज्जत पनि पाएको छु। मौरीपालन व्यवसायबाट एक छोरालाई जापान पठाएको छु। आफ्नै मौरीपालन उद्योग खोलेको छु।’

श्रीकेदारकै इन्द्रसिंह विष्टले पनि मौरीपालन व्यवसायबाट नै घरपरिवार चलाइरहेको बताए। उनले भने, ‘मौरीपालन व्यवसायमा सानैदेखि लागेको हुँ। हाम्रो यता प्रशस्त मात्रामा चिउरी छन्। चिउरीको मह राम्रो पनि हुन्छ। व्यावसायिक र आधुनिक तरिकाबाट यो व्यवसायमा लागेको १५ वर्षभन्दा बढी भयो। वार्षिक तीन लाख बढी मौरीपालन व्यवसायबाटै कमाउने गरेको छु।’

गाउँका ५० प्रतिशत घरपरिवार आधुनिक मौरीपालन व्यवसायमा लागेका छन्।

गाउँका ५० प्रतिशत घरपरिवार आधुनिक मौरीपालन व्यवसायमा लागेको किसान इन्द्रदेवशरण भट्टले बताए। ‘हामी गाउँका मौरीपालक किसान संगठित भएर प्रगतिशील आधुनिक मौरीपालन सहकारी संस्था पनि खोलेका छौं। सहकारीमार्फत मौरीपालनको तालिम र उपकरण उपलब्ध गराउँदै आएका छौं’, उनले भने, ‘महको बजारीकरणका लागि पनि सहकारीमार्फत जाने गरेका छौं।’

श्रीकेदारमा उत्पादन भएको महलाई ‘बैतडी मह’ नाम दिएर प्रतिकेजी एक हजारको दरले बिक्री गरिरहेको किसानले बताएका छन्। यहाँ उत्पादन भएको मह तराई, काठमाडौं र सीमावर्ती भारतीय बजारमा समेत पुग्ने गरेको छ। सहकारी संस्थाका अध्यक्ष इन्द्रदेवशरण भट्टले भने, ‘माग अनुसार अझै हामीले उत्पादन गर्न सकेका छैनौं। यो व्यवसायलाई अघि बढाउन सहकारीमार्फत प्रयास गरिरहेका छौं।’

दोगडाकेदार गाउँपालिका ४ श्रीकेदारका पुरुष मात्रै नभएर महिला समेत मौरीपालन व्यवसायमा उत्तिकै लागिपरेका छन्। ‘मौरीपालन सहकारी संस्थामा पनि हामी बढी महिला नै सहभागी छौं। मौरीको चरन, मह निकाल्ने, बिक्री गर्ने काममा पनि संलग्न छौं।’ स्थानीय पार्वती भट्टले भनिन्, ‘मौरीपालन व्यवसायबाट हाम्रो आर्थिक क्षेत्रमा पहुँच बढेको छ। दैनिक आवश्यक सामग्री किन्न श्रीमानको मुख ताक्ने बाध्यताको अन्त्य भएको छ।’

गाउँमा उत्पादन भएको महको बजारीकरण, संकलन र बिक्रीवितरणका लागि सहकारीमार्फत संगठित भएका अध्यक्ष भट्टले बताए। उनले भने, ‘आधुनिक मौरीघार निर्माणका लागि हामीले साझा सुविधा केन्द्र पनि स्थापना गरेका छौं। केन्द्रबाट मौरीपालक किसानका लागि आवश्यक उपकरण प्रदान गर्दै आएका छौं।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.