जंगलको भरमा चेपाङ, महानगरभित्रै भोकमरी

जंगलको भरमा चेपाङ, महानगरभित्रै भोकमरी

 

कविलास (चितवन) : मगर खहरेको झोलुंगे पुलभन्दा थोरै माथिको थुम्कामा शुकबहादुर चेपाङको खरले छाएको सानो छाप्रो छ। खर पनि कुहिसकेकाले घरभित्रबाटै छर्लंग आकाश देखिन्छ। खर काटेर छाउने बेला भयो। शुकबहादुरलाई घरको मर्मत गर्नुपर्ने चिन्ता त छँदै छ। तर त्योभन्दा पनि ठूलो चिन्ता आफ्नै पेटको छ। घरवरिपरिको भिरालो पाखामा दुईचार डोको मकैभन्दा अरू उत्पादन नहुने हुँदा उनी पूर्ण रूपमा जंगल आश्रित छन्। यद्यपि उनी भरतपुर महानगरपालिकाका बासिन्दा हुन्।

साविकको कविलास गाविस भरतपुर महानगरको वडा नं २९ भएपछि उनी पनि महानगरवासी बने। तर उनले महानगरवासी हुनुको औचित्य बुझेका छैनन्। महानगरले पनि कैयौं शुकबहादुरहरूलाई महानगरवासी हुनुको आभास दिलाउन सकेको छैन। बिहान जंगल जाने, घर आएपछि खोलेफाँडो खाएर त्यही दाउरा बोकेर नजिकैको बजार जुगेडी लगेर बेच्ने उनको दैनिकी बनेको छ। ‘यही दाउरा पनि नबेचे साँझबिहान पेटमा माँड पर्दैन’, उनले गुनासो गरे, ‘घरमा एक गेडो अन्न छैन, यति पनि नगरे के खाएर बस्ने ? ’

एक भारी दाउरा ल्याएर बजार पुर्‍याउँदैमा उनको दिन बित्छ। एक भारी दाउरा बेचेर उनले जम्मा दुई सय ५० रुपैयाँ हात पार्छन्। साँझ त्यही रुपैयाँले नुनतेल किनेर घर फर्कन्छन्। ५३ वर्षीय शुकबहादुरको नाममा जग्गाजमिन छैन। चार छोरी र पाँच छोरा गरी नौ सन्तानका पिता भए पनि गरिबीकै कारण नौ वर्षका कान्छा छोरा मंगले र उनी मात्रै घरमा छन्। अरू छोरा पनि कुल्ली काम (ज्यालामजदुरी) गर्न लम्जुङ गएका छन्। ‘तीन छोरी र दुई छोराको बिहे भइसक्यो’, उनले भने, ‘जेठो छोरा बेलडाँडामा बस्छन्। कान्छी छोरी र पत्नी पनि त्यहीँ बस्छन्। त्यही भएर घरमा हामी बाउछोरा मात्रै छौँ।’

शरीर ढाक्ने कपडा जसोतसो जुटेकै छ। तर, सुत्न गतिलो ओढ्नेओछ्याउने नहुँदा जुटको बोराको भर पर्नुपरेको उनले बताए। छोरा नजिकैको विद्यालयमा कक्षा २ मा पढ्छन्, तर उनी पनि नियमित विद्यालय जान पाउँदैनन्। बुबाले दाउरा खोजेर बजार लैजाने र छोराले बिहानबेलुका खोलेफाँडो पकाउने नियमित कार्यतालिकाजस्तै बनेको छ। भएको अलिकति बारी पनि बुबाकै पालामा बेचेर सकेपछि उनी २०५७ सालमा दाहाखानीबाट मगर खहरे आएर बसेका हुन्।

लामो समयदेखि घरवरिपरिकै भिरालो जमिनमा खोरिया फाँडेर बसे पनि आफ्नो नाममा एक टुक्रा जग्गा पनि नहुँदा सुकुमबासी भएर बस्नुपरेको छ। पैसा नभएकै कारण शौचालयसमेत बनाउन सकेका छैनन् उनले। ‘चर्पी बनाउन गाविसले सामान दिए पनि पैसा नहुँदा सामान ल्याएर पनि बनाउन सकिएन’, उनले भने।

छिमेकमा एउटा घर छ। त्यो घरको अवस्था पनि शुकबहादुरको भन्दा कम छैन। पति ज्यालामजदुरीमा जाने भएकाले तीन महिनाकी सुत्केरी आइतीमाया चेपाङ दिनभर घरमा एक्लै हुन्छिन्। गरिबीकै कारण तीन महिनाकी सुत्केरी भए पनि प्रशस्त पौष्टिक आहार पाएकी छैनन् उनले। देशकै मुख्य केन्द्र मानिएको चितवनको भरतपुर महानगरपालिकाभित्रकै चेपाङ गरिबीले गर्दा भोकभोकै दिन कटाउन बाध्य छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.