मालपोतको अनलाइन सेवामै ढिलासुस्ती

मालपोतको अनलाइन सेवामै ढिलासुस्ती

 

धादिङ : सदरमुकामस्थित जिल्ला मालपोत कार्यलयमा दिनहुँ सेवाग्राहीको भीड हुन्छ। बिहान १० बजे खुल्ने कार्यालयमा ९ बजेदेखि नै सेवाग्राही उपस्थित भइसकेका हुन्छन्। अंशबन्डा र जग्गा किनबेचसम्बन्धी कामका लागि नियमित आउने सेवाग्राही त छँदै छन् त्यसमाथि बूढीगण्डकी जलविद्युत् आयोजना र धादिङ-आरुघाट सडकखण्डको मुआब्जाको लगतकट्टा गर्ने सेवाग्राही थपिँदा त कार्यालय समयभरि सेवाग्राही खचाखच भरिएका हुन्छन्। बढी भीडभाड हुन थालेपछि छिटोछरितो सेवा प्रदान गर्न सुरु गरिएको अनलाइन सेवाा नै ढिलो भइदिएपछि कार्यालयका कामकाजलगायत सेवाग्राहीका काम पनि भद्रगोल भएका छन्।

अनलाइन सेवा सुचारु गरे पनि सेवा प्रवाहमा भने झनै ढिलासुस्ती भइदिँदा टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन्। त्रिपुरासुन्दरी गाउँपालिकाबाट जग्गा साटफेर गर्ने काम लिएर आएका सेवाग्राही हरिकुमार श्रेष्ठले भने, ‘यो मालपोतको प्रक्रिया नै राम्रोसँग जानिँदैन, मैले त सबै काम लेखापढी गर्नेहरूलाई जिम्मा लगाएको छु, बिहानैदेखि पालो कुर्नु भनेका छन्।’

जिल्ला मालपोत कार्यालय अनलाइन सिस्टममा गए पनि सेवाग्राहीले पाउने सेवा तथा कार्यमा हुने त्रुटि कार्यालय छिर्ने बित्तिकै देख्न सकिन्छ। जसका कारण सेवाग्राही झनै मर्कामा परेका छन्। सेवाग्राहीहरू लामो समयसम्म पनि काम नभएपछि कार्यलयभित्रै सुस्ताइरहेका हुन्छन्। सिद्धालेक गाउँपालिका नलाङबाट जग्गा नामसारीको काम लिएर आएका बद्री पण्डितले भने, ‘यो अनलाइन सेवाले त झनै ढिला गर्‍यो, सबै काम सकिएर लालपुर्जा बनाउने ठाउँमा पुग्यो, नेट नचलेको भएर त्यहीँ आधा घण्टा कुर्नुपर्‍यो। धेरै कोठा चहार्नु परेको देख्दा त पहिले हातैले लेख्ने काम सजिलो भएजस्तो लाग्यो मलाइ त।’

अनलाइन सेवाअन्तर्गत अनलाइन इन्ट्री गर्ने, लालपुर्जा बनाउने, चिठीपत्र टाइप गर्ने, मोठ भिडाउने, जग्गा रोक्का राख्ने, नामसारी गर्नेलगायत काम सबै कम्प्युटरबाटै गर्नुपर्छ। तर, विद्युत् आपूर्ति र इन्टरनेट कनेक्सन बेला बेलामा टुटिरहँदा काम प्रभावित हुने गरेको छ। विद्युत् आपूर्तिका लागि वैकल्पिक व्यवस्था गरिए पनि इन्टरनेट गइदिँदा भने कुनै दिन त दिनैभरि काम नभएर सेवाग्राही अलपत्रसमेत गर्ने गरेका छन्।

नियमित इन्टरनेट सेवामा समस्या नआइदिने हो भनेमात्रै पनि काममा निकै छरितोपन आउने कम्प्युटर अपरेटरहरूले बताए। ‘जुनसुकै काम गर्दा पनि जग्गा रोक्का भए÷नभएको, कागजात मिले÷नमिलेको काम सबै कम्प्युटरबाटै हेर्नुपर्छ, एकैछिन मात्रै इन्टरनेट बन्द भइदियो भने पनि काम रोकिहाल्छ,’ एक कर्मचारीले भने।

दरबन्दीअनुसार कर्मचारी नभएको र त्यसमाथि प्राविधिक गडबडीले गर्दा कार्यालयमा कुनै दिन त सबै काममा प्रभाव पर्ने गरेको छ। इन्टरनेटमा समस्या नआओस् भनेर २ वटा भिन्न भिन्न कम्पनीको इन्टरनेट सेवा लिइएको भए पनि कुनै दिन दुवै इन्टरनेट सेवा बन्द भइदिँदा काम नै ठप्प हुने गरेको कार्यालयका कर्मचारीको भनाइ छ।

टाढाबाट आउने सेवाग्राही बिहानै आए पनि अबेरसम्म काम नसकिएपछि सदरमुकाममै बस्नुपर्ने बाध्यता भएको उनीहरू बताउँछन्। दक्षिण धादिङको थाक्रे गाउँपालिका वडा ७ जुगेखोलाबाट जग्गाको नामसारी गर्न एम्बुलेन्स नै रिजर्भ गरेर आएका रामकृष्ण खत्रीले भने, ‘बुवा लडेर ढाड भाँचिएपछि उठ्नसमेत समस्या छ, बुवा नभई जग्गा नामसारी हुँदैन, कार्यालयमा बस्ने ठाउँ पाइँदैन, काम चाँडै नहुने भएपछि एक दिनको १० हजार तिरेर एम्बुलेन्स नै रिजर्भ गरेर काम गर्न आएका हौं।’




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.