यसपालि पनि छोरी !
यसपालि पनि छोरी !
मेरो दोस्रो छोरी जन्मिँदा धेरैले गरेको प्रश्न हो यो।
मानौं, म कठघरामा थिएँ, कुनै अपराधीझैं। आलो सुत्केरी थिएँ। प्रसव पीडा पनि आलै थियो। त्यसमाथि, यो पीडादायक प्रश्न !
यो सवाल गर्नेहरूलाई मेरो एउटै जवाफ थियो– मुस्कान।
म मुसुक्क हाँसिदिन्थेँ। केही बोल्दिनथेँ। बोल्नु के थियो र ? किनकि, मूर्खहरूको प्रश्नको जवाफ दिनु पनि त मूर्खता हो।
गाउँका अशिक्षितहरूबाट यस्तो सवाल गरिएको भए त्यसलाई स्वाभाविक पनि ठान्न सकिन्थ्यो होला। उनीहरूले छोराछोरीमा विभेद गर्नु उनीहरूको चेतनास्तर अनुसार ठीकै हुन सक्छ। स्कुलको नाकमुखै नदेखेका, किताब कुन प्राणीको नाम हो, थाहा नपाएकाले यस्तो सोच्नु स्वाभाविक पनि होला। तर, मलाई ‘यसपालि पनि छोरी ? ’ को प्रश्नवाचक प्रहार गर्ने सहरका शिक्षितहरूले छोरा र छोरी भनी छुट्याउँदा, उनीहरूको बुद्धिको तह र विवेकको स्तर देख्दा खिन्न हुन्थेँ। औपचारिक शिक्षा र डिग्री मात्रले पनि चेतनाको हैसियत उकास्न नसक्दो रहेछ।
०००
यसपालि मलाई हस्पिटलमा भेट्न आउनेको संख्या पातलिएको थियो। आएकामध्ये कतिपयले ‘बधाई’ सम्म भनेनन्। कोही चाहिँ ‘भनुँ कि नभनुँ’ झैँ गरी बिस्तारै ‘बधाई’ भन्थे।
कोही फोनमा सोध्थे– ‘अल्ट्रासाउन्ड गरिनस् ? ’
म भन्थेँ– ‘गरेँ, धेरैपटक गरेँ। तर, बच्चाको स्वास्थ्य स्थिति थाहा पाउन। लिंग थाहा पाउनका लागि होइन।’
मान्छेहरूको रूप–स्वरूप, मूल्य–मान्यता, सोच–व्यहोरा देखेर म छक्क थिएँ।
केहीले त यस्तो टर्राे प्रतिक्रिया व्यक्त गरे कि मानौं, दोस्रो छोरी जन्माएर मैले ‘क्राइम एगेन्स्ट ह्युमानिटी’ गरेकी थिएँ।
दोस्रो पनि छोरी जन्मिएकोमा धेरैले मप्रति सहानुभूति राखे। सान्त्वना दिए।
ढाडस दिने काम अपरेसन थिएटरबाटै सुरु भयो।
‘सिजेरियन डेलिभरी’मा अपरेसनका लागि एनेस्थेसिया दिएर जीउ लट्ठ बनाए पनि आमा बन्दै गरेकी महिलालाई त्यहाँ भइरहेका क्रियाकलापको चेत हुन्छ।
बच्चा जन्मेपछि त्यहाँकी एक जना कर्मचारीले मेरासामु ल्याइन् र भनिन्– ‘ल बधाई छ, छोरी भएछ।’ मैले मुस्कुराएर उनको बधाईको प्रतिक्रिया दिएँ।
नजिकै उभिएका एनेस्थेसिस्टले सोधे– ‘पहिलो सन्तान के छ ? ’
मैले भनेँ– ‘छोरी।’
उनले मसिनो स्वरमा भने, ‘केही फरक पर्दैन। मेरो छोरीका पनि दुई छोरी छन्। आजभोलि छोराभन्दा छोरी राम्रा !’ तर, उनको बोलीमा प्रतिध्वनित भइरहेको ‘ज्या, नमज्जा भयो नि’ भन्ने खालको सान्त्वनाले मलाई पीडा दिएको थियो।
मैले केही भनिनँ। भन्न सक्ने अवस्थामा पनि थिइनँ। बिस्तारै अचेत भएँ। बेहोस भएँ।
०००
होसमा आएपछि म सबैभन्दा पहिला आफ्नो बच्चालाई हेर्न चाहन्थेँ, हेरँे। आफ्नो दोस्रो सन्तानलाई पहिलो पटक देख्दा आमाले भनेको कुरा सम्झिएँ– ‘सन्तान जति भए उति माया लाग्छ। बाउको सम्पत्ति अंशबन्डा भएझैं आमाको माया दुई/चार भागमा बाँडिँदैन। त्यो त झन्झन् बढ्दै जान्छ।’
मेरो मायाको विस्तार भएको थियो र अब त्यो दुई सन्तानलाई ढाक्ने गरी विशाल भएको थियो।
मभन्दा पल्लो बेडकी सुत्केरीले छोरा जन्माएकी थिइन्। मजस्तै अपरेसनको पीडाले थलिएकी उनी तेस्रो पटक सुत्केरी भएकी थिइन्। यसअघि उनले दुई छोरी जन्माएकी थिइन्। पहिलो नौ वर्षअघि र दोस्रो सात वर्षअघि। गाउँमा हुँदा एक जना परिचितले मलाई भन्थिन्– ‘छोराकी आमाको अनुहारै चम्किलो।’ तर, पल्लो बेडकी दिदीको अनुहारमा त्यो चमक थिएन। उनको व्यवहार सामान्य थियो (छोरा भए पनि के, नभए पनि के ? भन्ने खालको)।
बेलाबेलामा उनका श्रीमान् छोरालाई दूध खुवाउन ल्याउँथे। छोराको बाउको अनुहार चाहिँ चम्किलो थियो। एक पटक नातिलाई दूध खुवाउन ल्याएकी सुत्केरीकी सासूले वरिपरि हेरिन्, खुसुक्क आफ्नो चोलोबाट सानो प्लास्टिकको पुरिया झिकिन् र आमाको औंलाले छोरालाई केही चटाइन्। त्यो के थियो ? थाहा छैन। तर, नातिलाई ‘कसैको नजर नलागोस्’ भनेर उनले चटाएको हुनुपर्छ। कुनै ‘टोट्का’ गरेको हुनुपर्छ। ती बूढीआमा भन्दै थिइन्, ‘बल्ल घरै उज्यालो भयो।’
ती सुत्केरीलाई देख्दा लाथ्यो, उनी ‘दबाब’मा थिइन्। दबाब– छोरा जन्माउने। सिटी हानिसकेपछि जसरी प्रेसरकुकर दबाबमुक्त हुन्छ, त्यसरी नै छोरा जन्माएर उनी दबाबमुक्त भएकी थिइन्। नत्र, दुई सन्तान हुँदाहुँदै उनले तेस्रो जन्माउने थिइनन्। अपरेसनको घाउ दुख्दा बेलाबेलामा उनी आँखा रसाउँदै भन्थिन्– ‘दुःख जति सबै आइमाईले नै भोग्नुपर्ने।’
उनले भन्न सकिरहेकी थिइनन् तर उनका आँखाले प्रस्टै भनिरहेका थिए– ‘छोराकै लागि फेरि पेट चिर्नुप¥यो।’ (यो उनको तेस्रो सिजरियन अपरेसन थियो)
अस्पतालका स्टाफमध्ये डाक्टर र नर्सलाई खासै मतलव हुँदैन, छोरा जन्मियोस् वा छोरी। डाक्टरलाई फिससित मतलव हुन्छ, नर्सलाई आफ्नो काम र तलबसित। तर, सरसफाइ गर्ने कर्मचारीले चाहिँ खुब ध्यान दिन्छन्। सोध्छन्– ‘के भयो छोरा कि छोरी ? ’ उनीहरूले यसो सोध्नुको कारण छ। कारण– ‘छोरा जन्मिए परिवारले खुसी भएर केही दिन्छन् कि’ भन्ने आस हुन्छ। छोरी हुँदा हाम्रो समाजका कतिपय परिवारले दुःख मनाउ गर्ने भएकाले ती कर्मचारीलाई त्यस्तो भान परेको होला।
पाँच दिन हस्पिटल बसियो। केबिनमा बिहान बाथरुम सफा गर्न लगभग ६०–६५ वर्षकी महिला आउँथिन्। एक दिन उनले मलाई सोधिन्– ‘के भयो छोरा कि छोरी ? ’ मैले भनेँ– ‘छोरी’।
उनले ठूलठूला आँखा पार्दै भनिन्– ‘छोरी भयो भनेर मन नदुखाउनु। छोराभन्दा छोरी नै राम्रा।’ मैले केही भनिनँ। मुस्कुराएँ मात्रै। उनले सुस्केरा हाल्दै भनिन्– ‘बुढेसकालमा तीन छोरीपछि छोरा जन्माएँ। खुब खुसी भएँ। अहिले त्यही छोराले रुवाएको छ।’ ती आमाले तीनै छोरी अन्माइसकेकी रहेछिन्। ‘छोरीहरूले बिहेपछि पनि हेरिरहेका छन्,’ उनले भनिन्, ‘आमा के छ, कसो छ भनी सोध्छन्। लुगाफाटा किन्दिन्छन् तर जवान छोरा बेकामे भएर घुमिराख्छ। यसरी अरूको ट्वाइलेट सफा गरीगरी उल्टै उसलाई पाल्नु परेको छ। छोरी नै राम्रा !’
०००
घर फर्केपछि सुत्केरी स्याहार्न ४० वर्षकी महिला आइन्। उनले पनि त्यही भनिन्– ‘छोराभन्दा छोरी नै राम्रो’। ती दिदीका चार सन्तान रहेछन्। तीन छोरा, एक छोरी। २४ वर्षको लाठे छोरो उनलाई कुटपिट गर्दो रहेछ। ‘मैले जन्माएको छोराले मलाई नै पिट्छ,’ बच्चाको तेल मालिस गर्दा उनी पीडा पोख्थिन्, ‘बरु छोरीले स्कुलबाट फर्केर घरको काममा सघाउँछे। छोराभन्दा छोरी नै राम्रो।’
ती दिदी बेलाबेला भनिरहन्थिन्– ‘छोरा त सानो हुँदा मर्ला भन्ने पिर, ठूलो भएपछि मार्ला भन्ने पिर !’
मेरो छोरी जन्मिएको १२ दिनपछि गाउँमा एक जना दिदीले छोरा जन्माइन्। बधाई दिन फोन गरेँ। उनी त्यतिखेर बोल्न सक्ने अवस्थामा थिइनन्। फोन उनको कुरुवाले उठाइन्। मैले बधाई भनिदिनुभन्दा उनले भनिन्– ‘यहाँ त छोरा जन्मेर खुसी आयो तर छोरी जन्मेर तिमीलाई पो दुःख भयो।’ उनको कुरा सुनेर यस पटक चाहिँ मुस्कुराउन सकिनँ।
मैले जवाफ दिएँ– ‘छोरीलाई दुःख मान्ने पढेलेखेकाले आफ्ना सर्टिफिकेटमा आगो लगाइदिए हुन्छ।’