साम्राज्यवाद : ताल माराकाइबोमाथिको गिद्ध
सम्झन्छु निधारमा घुम्रिएको जुल्फीसहितको हँसिलो अनुहार जो कडा कफीका निम्ति प्रत्येक दिन ग्रिनह्विच युनिभर्सिटीबाट आउने गर्थे कट्टी सार्क। सिरियन युवा रिफात इन्टरन्यासनल रिलेसन पढ्दै थिए लन्डनमा। सन् २०१२ को मध्यतिर दिनानुदिन सिरियामा चर्किरहेको थियो युद्ध। राजधानी दमास्कसमै पनि जनता निहत्था मारिएका घटनाले छ्याप्छ्याप्ती हुने गर्थे लन्डनका अखबारहरू। दमास्कसकै रिफात नीला हुन्थे जब म अलिकति चासो लिएर सोध्ने गर्थें ती घटनाबारे। आज फेरि बल्झिएको छ उही घाउ। चलिरहेको छ शक्तिराष्ट्रहरूको शक्तिप्रदर्शनको होडबाजी।
औपनिवेशकालीन समयलाई धेरै पछि छाडेर विश्व निकै अघि बढिसके पनि फेरि संसारभर चक्मा दिइरहेको छ नौलो साम्राज्यवादले। औपनिवेशिक समयको विद्रुपता चिह्याउने आँखीझ्याल हुनसक्छ उरुग्वेयन पत्रकार इडुआर्डो ग्यालियनोको बहुचर्चित पुस्तक ‘ओपन भेन्स अफ ल्याटिन अमेरिका।’ यस पुस्तक पढ्न टर्किस मित्र ओमेरले केही वर्षअघि नै सुझाएका थिए तर पढ्ने मेसै परेन। त्यस बखत हुनसक्छ उनीभित्र भर्खरै अर्जेन्टिना घुमेर महसुस गरेको अमेरिकी नाकाबन्दी र ज्यादतीको तीतो व्याप्त थियो। तर म भने ढुक्कै। तर पाँच वर्षपछि आज पुस्तक पढिसक्दा बल्ल थाहा पाउँदै छु किन त्यति निरश देखिएका रहेछन् लन्डनका गल्लीतिर भौतारिइहिँड्ने ब्राजिलियन युवकयुवतीको अनुहार ?
साम्राज्यवादी कुदृष्टि, लोभ र महत्वकांक्षाका सिकार भएका ल्याटिन अमेरिकन देशहरूको पीडादायी भोगाइलाई सतहमा ल्याइदिएका छन् ग्यालियनोले ‘ओपन भेन्स अब ल्याटिन अमेरिका’मा।
पोटोसी र टुपाक अमारु नियति
सोह्रौं शताब्दीमा जब स्प्यानिसहरूले टेकेथे बोलिभिया, दुरदराजका सोझा बोलिभियनलाई कहाँ पत्तो र ती चतुर साम्राज्यवादीले दास बनाएर लुटिलैजानेछ उनीहरूको देश ?
सेरो रिको अर्थात् धनी पहाड। चाँदी खानीको पहाड जसको फेदमा रहेको पोटोसी मुख्य केन्द्र थियो स्प्यानिसहरूको। त्यहाँको चाँदी नै मुख्य आम्दानीको स्रोत थियो स्प्यानिस साम्राज्यको। तीन शताब्दीसम्म लगातार दोहनमा परे पोटोसीको प्राकृतिक सम्पदा र खानीहरू। औपनिवेशिक शोषणकालको एक तीतो विगत, स्प्यानिसहरूको समृद्धि जो अस्सी लाख इन्डियन कामदारको लासको थुप्रोमा उभिएको थियो। चाँदी खानीमा काम गर्ने ती इन्डियन जसलाई साम्राज्यवादीले मानवको कोटिमा नै राखेनन्। उनीहरू त फगत काम गर्ने पशुहरू थिए। मान्छेको रूपमा स्वीकारिनुमा नै चार सय वर्ष कुर्नुप¥यो उनीहरूले। सन् १९५७ मा मात्र कानुनी रूपमा उनीहरू मान्छे भए (पृ. ४२ )। यस्ता डरलाग्दा तीतो यथार्थको खुलासा गर्छन् ग्यालियानो ओपन ‘भेन्स अब ल्याटिन अमेरिका’मा।
शोषणको पराकाष्ठा अधिकांश ल्याटिन अमेरिकन देशले भोगेको थियो। साम्राज्यवादीको नीति नै स्थानीयवासीलाई आफ्नो प्रभावमा पार्नु र अन्ततः उनीहरूलाई नै दास बनाई लुट्नु। बोलिभिया मात्र होइन, मेक्सिकोले पनि उही नियति भोग्यो। त्यहाँको गुआनाजुआटो र ज्याकाटेकासका खानीले पनि पोटोसीकै नियति भोग्न बाध्य भयो। पचासवटा सुन र चाँदीको खानी भएको गुआनाजुआटो जिल्लामा आज मात्र दुईवटा खानी बाँकी छन्। यही एउटा उदाहरण काफी छैन त चरम शोषणले भरिएको विगत नियाल्न ?
विदेशी शक्तिको दासताबाट उन्मुक्तिका खातिर केही प्रयास भएका थिए। टुपाक अमारु एक क्रान्तिकारी योद्धा, जसले सन् १७८१ मा स्प्यानिसहरूको दासताबाट मुक्तिका लागि युद्ध छेडेका थिए। तर, आफ्नै मान्छेबाट धोका पाएपछि साह्रै डरलाग्दो मरण पाए उनले। चरम यातना दिई उनको टाउको, हातखुट्टा काटेर विभिन्न ठाउँमा छरिए भने श्रीमती र छोराछोरीहरू पनि भयंकर यातनाका सिकार भए। त्यस घटनापश्चात् कसैले पनि मालिकविरुद्ध आवाज उठाउने आँट गर्न सकेनन्।
स्प्यानिसजस्तै पोर्चुगीहरूले पनि सुन र चिनीका लागि ब्राजिललाई आफ्नो कब्जामा लिए। तीन लाख मात्र जनसंख्या भएको ठाउँमा केही समयपछि तीन लाख त पोर्चुगिज मात्रै भित्रिए। लाखौंको संख्यामा अफ्रिकाबाट काला दासहरू भिœयाएर त्यहाँका खानीमा काम गराए। दासहरूको गरिबी, रोग र भोकको कथा भने नेपथ्यमा बिलायो। अन्तमा मिनास गेरिसको सुन खानी ब्रिटिसको हातमा प¥यो। शक्तिशाली देशहरूले क्रमिक रूपमा फाइदा लिँदै ती देशलाई थोत्रो र खोक्रो पार्ने क्रम चली नै रह्यो। ल्याटिन अमेरिका आफ्नै देशको धनले गरिब र झन्झन् गरिब हँदै गए भने साम्राज्यवादीहरूको पोल्टो उक्सिँदै गयो।
सुगर मोनो कल्चर
ल्याटिन अमेरिकन देशका अथाह भुभाग सुन र चाँदी मात्र होइन, चिनीदेखि कफीसम्मका लागि उपभोग गरी ध्वस्त पारिए। चिनी त संस्कृति नै बन्यो। युरोपियनहरू चिनीका लागि बहुतै लालायित थिए। यसै समयमा उनीहरूले ब्राजिलको हावापानी उखुका लागि अनुकूल पाए। त्यहाँका विशाल क्षेत्रमा उखु खेती गरेर चिनीमोह मात्रै परिपूर्ति गरेनन्, त्यसैबाट अकुत आर्जन गर्न पनि सफल भए। सुगर, एक मोनो कल्चरको रूपमा स्थापित भयो।
इडुआर्डो ग्यालियानोको ‘ओपन भेन्स अब ल्याटिन अमेरिका’ स्रोत, साधन र सम्भावनाको प्रचुरता भएका ल्याटिन अमेरिकन देशमाथि औपनिवेशिक कालमा भएको चरम शोषणको दस्तावेज हो।
सत्रौं शताब्दीको मध्यसम्म ब्राजिल संसारकै ठूलो चिनी उत्पादक राष्ट्र थियो। सन् १६३० मा डच वेस्ट इन्डिया कम्पिनीले ब्राजिलको उत्तरपूर्वी क्षेत्रमा आफ्नो वर्चस्व कायम गरेको थियो चिनी उत्पादनका निम्ति (पृ. ६२)। पछि दासहरूको विद्रोहका कारण उत्पादनमा निकै समस्या सुरु भयो। ब्राजिलको त्यस क्षेत्रमा विस्तारै भोकले प्रवेश ग¥यो। कारण थियो, अन्य खेतीपातीका लागि उर्वर ठाउँमा मात्र उखु रोपिनु। त्यहाँको जमिन मात्रै शोषित भएन अन्न उत्पादनको केन्द्रमा अन्ततः भोकको साम्राज्य फैलियो। तीस मिलियन मानिसको कन्सन्टे«सन क्यापमा परिणत भएको यो क्षेत्र साम्राज्यवादीहरूको भने अर्थतन्त्रको मुख्य थलो थियो
(पृ. ६३)। भोकको राज यसरी फैलियो कि ती ठाउँहरूमा, पेटका लागि आफ्ना कलिला छोरीहरू बेच्न पनि परिवार पछि नपर्ने भए।
सुगर मोनो कल्चरले ध्वस्त पारेको ब्राजिल र त्यहाँको त्रासदीको पीडादायी चित्रण गर्छन् ग्यालियानो।
चित्रमा सीमित गाउचो
जोश आर्टिगास, उरुग्वेका राष्ट्रपिता जसले कृषिमा क्रान्ति ल्याए। सन् १८१५ सम्ममा उनले अहिलेको उरुग्वेको धेरै क्षेत्र आफ्नो कब्जामा लिएर छुट्टै शासनव्यवस्था नै सञ्चालन गरिसकेका थिए। औपनिवेशिक समय जो अधिकांश ल्याटिन अमेरिकी भूभागमा साम्राज्यवादीको कब्जा, नियन्त्रण र शोषण चलिरहेको थियो। त्यसै समय आर्टिगासले ती भूभाग कब्जा गरी गरिब इन्डियन, जग्गाविहीन साथै उरुग्वेका विशेष समुदाय गाउचोहरूलाई बाँडेका थिए। गाउचो, पोख्त घोढचढी जो साहस, इमान र उद्धारताका लागि प्रसिद्ध थिए साथै उनीहरू आफ्नो छुट्टै जीवनशैली र रहनसहनसहित बाँचेका समुदाय थिए।
ती सीमान्त वर्ग र गरिबले आफ्नै जमिन, खेतीपातीमा उत्साहपूर्वक काम गरेर खाइरहेकै बखत एकाएक विदेशी शक्तिको हस्तक्षेप हुन्छ। त्यसपछि फेरि उनीहरूबाट जमिन खोसिन्छ। हारेका आर्टिगास पाराग्वेतिर निर्वासनमा जान्छन्। केही समयपछि उनी त्यतै एक्लो मृत्यु मर्छन्। एक राष्ट्रसेवकको नमीठो अन्त्य हेरिबस्छ समय।
गाउचोहरूको हातबाट फेरि पनि जमिन चिप्लियो र पुग्यो ती विदेशी मालिकको हातमा। ती स्वार्थीहरूले आफ्नो फाइदाको लागि उखु, कटन, कफी, कोकाहरूको मात्रै विशाल खेती गराए। जमिनमाथि शोषण त भयो नै, त्यसका अलावा त्यहाँका जनता मासुदेखि खानेकुरासम्म अरू देशप्रति निर्भर हुन बाध्य भए। ल्याटिन अमेरिकी देशमा कामदार, कृषकको हातमा जमिन छैन, छ त मात्र भोक र परनिर्भरता। उरुग्वेका ती विशाल खेतीयोग्य जमिन अहिले मरुभूमिमा परिणत भएको छ।
त्यस बेलाका जीवन्त गाउचो आज कथा र कलाकारको चित्रहरूमा मात्र सीमित भएका छन्। उनीहरू आफ्नो जीवनशैली, रहनसहनबाट मात्र टाढा नभई आफ्नो जमिनबाट समेत विमुख भए, पारिए। उनीहरूको भोगाइ औपनिवेशिक समयको शोषणको दस्तावेज हो। गाउचो, अर्जेन्टिना, ब्राजिल र उरुग्वेको राष्ट्रिय प्रतीक हो जो क्षेत्रीय सांस्कृतिक परम्पराको एक महŒवपूर्ण अंशका रूपमा रहेको छ।
माराकाइबो तालमाथिको गिद्ध
सोह्रौंदेखि अठारौं तीन शताब्दीसम्म स्पेन, पोर्चुगल, ब्रिटेन, अमेरिकाजस्ता साम्राज्यवादीहरूले ल्याटिन अमेरिकन देशका जनतालाई दास बनाएर भएभरका खनिज लुटेर खोक्रो पारिदिए। सुन, चाँदी, फलाम मात्र होइन नाइटे«ट र तामासम्म पनि उनीहरूको खानीबाट रित्याइदिए। सन् १८८६ देखि ९० सम्म चिलीले नाइट्रेटकै कारण भोग्नुसम्मको दुःख भोग्नुपर्यो। चिली सरकारले आफ्नो देशको खानीलाई कसैगरी पनि जोगाउन सकेन। पहिले १२० वटा नाइट्रेट खानी भएको टारापाकामा अहिले मात्र दुईवटा बाँकी छन्।
मात्र भग्नावशेष, रित्ता प्वालहरू, भूत सहर, नाइट्रेट ओसार्ने मृत रेलमार्ग र खानीका अस्थिपन्जरहरू मात्र बाँकी छन् त्यहाँ (पृ. १४३)।
सुन, चाँदी, फलाम, नाइटे«ट, तामा, कटन, कफी, उखु, रबर हँदै ल्याटिन अमेरिकन देशहरू तेलका लागि पनि शोषित भए/छन्। ती देशको पेट्रोलियम, शक्तिशाली कार्टेलको हातमा छ जसको जन्म सन् १९२८ मा सेल, स्ट्यान्डर अयल अब न्यु जर्सी र एड. लो इरानियन (हालको ब्रिटिस पेट्रोलियम) को नाममा भएको थियो। पेरु, भेनेजुएला, ब्राजिलजस्ता देश यही कार्टेलको नाममा लुटिँदैछन्।
ल्याटिन अमेरिकी देशहरूमध्ये भेनेजुएलाले सबैभन्दा बढी पेट्रोलियम निर्यात गर्छ। यो देश शानदार राजमार्ग, साथै ल्याटिन अमेरिकन देशहरूमध्ये सबैभन्दा बढी पर क्यापिटा इनकम भएकोमा गर्व गर्छ। तर, यही देश नै हो जहाँ सबैभन्दा धनी र सबैभन्दा गरीबहरू पनि छन् साथै सबैभन्दा बढी अशान्त पनि छ। सबैभन्दा बढी स्कच ह्विस्की खपत हुने देश पनि यही हो। पेट्रोलियम संस्कृतिले भेनेजुएलालाई पूर्ण रूपमा निलेको छ। राजधानी काराकास लेटेस्ट टेक्नोलोजीको झिलिमिलीमा झुलिरहेको बखत नजिकैका सीमान्तकृत झुपडीहरू भोक र सोकले सिकिस्त छन्।
माराकाइबो तालमा तेलको भण्डार छ। त्यसैका कारण राजधानी काराकासले संसारको पछिल्लो उत्पादन पनि मज्जाले प्रयोग गर्ने हैसियत राख्छ। तर सेल, टेक्साको, गल्फजस्ता विदेशी कम्पनी माराकाइबो ताल माथिको गिद्ध हो। ताल माराकाइबोको तेल इनारमाथि कावा खाइरहेका यी विदेशी गिद्धहरू साम्राज्यवादको पछिल्लो संस्करण हुन्। क्रमिक रूपमा उनीहरूको प्राकृतिक स्रोत रित्तिँदै छ तर उनीहरूले पत्तै पाइरहेका छैनन्। काराकासको समृद्धिमा ठूलो योगदान दिएको यो तेल कल्चरको दुःखान्त अन्त धेरै टाढा छैन। प्राकृतिक दोहनसँगै निम्तिने खतरा त बाँकी नै छ भेनेजुएलाले बेहोर्न। त्यहाँको तेल भण्डार रित्तिएपछि कता जाला काराकासको आजको समृद्धि ? ग्यालियानो निकै चिन्तित छन् आफ्ना छिमेकी देशमा भइरहेको अन्तहीत शोषणको शृंखलाबाट।
तेल, जो धेरै देशको दर्दनाक डाउनफलको कारण बनिसकेको छ। साम्राज्यवादीहरू आज नयाँनयाँ रूपमा विश्वभरि बहुराष्ट्रीय कम्पनीहरूको माध्यमबाट छिरेका छन्। पराग्वे अहिले फरक खाले साम्राज्यवादको चंगुलमा छ जहाँ विकासको नाममा कोकाकोला र पेप्सीका प्लान्ट खडा भएका छन्। कोकाकोलाजस्ता बहुराष्ट्रिय कम्पनीले फैलाउँदै गरेको पुँजीवादी साम्राज्यवादको पञ्जामा विश्व फसिसकेको छ।
इडुआर्डो ग्यालियानोको ‘ओपन भेन्स अब ल्याटिन अमेरिका’ स्रोत, साधन र सम्भावनाको प्रचुरता भएका ल्याटिन अमेरिकन देशमाथि औपनिवेशिक कालमा भएको चरम शोषणको दस्तावेज हो। आफैंमा भरिपूर्ण देशको गरिबी, रोग र भोकतिरको यात्राको नमीठो इतिहासको दृष्टान्त हो यो पुस्तक। उरुग्वेयन लेखक पत्रकार ग्यालियानो देशमा भएको सैनिक ‘कु’ पश्चात् केही समय जेलमा परे। जेलबाट छुटेपछि अर्जेन्टिना र स्पेनमा गरी एघार वर्ष निर्वासनमा रहे। र, अन्ततः १९८५ को सैनिक निरंकुशतन्त्रको अन्त्यपछि उनी आफ्नो जन्मभूमि उरुग्वे फर्केका थिए।
प्रकाशन भएको लगभग ४७ वर्ष भइसक्दा पनि यस पुस्तकको चर्चा र सान्दर्भिकता उत्तिकै छ। किनभने आज पनि विश्वमा शक्ति राष्ट्रहरूको शोषण उस्तै छ। साम्राज्यवादको फरक चेहेरा भएको छ बजार र बहुराष्ट्रिय कम्पनीहरू जो प्रत्येक गरिबको मनमस्तिष्कमा संक्रमित भइसकेको छ। शक्तिको खेल र साम्राज्यवादको पछिल्लो अवतार भन्नु इराक, लिबिया तथा सिरियाहरूको रक्तरञ्जित समय जसको साक्षी हामी नै हौं।