नारीवादी शिक्षा सबैका लागि

नारीवादी शिक्षा सबैका लागि

महिला शिक्षाका कक्षा र नारीवादी साहित्य आउनुभन्दा धेरै पहिलेदेखि महिलाले सामूहिक छलफलबाट नारीवादबारे ज्ञान निर्माण गरे। तिनै समूहका महिलाले नै लिंगभेदको विश्लेषण, पितृसत्तालाई चुनौती दिने रणनीति र सामाजिक अन्तरक्रियाका नयाँ संरचनासमेत समाहित गरी पहिलो नारीवादी सिद्धान्तको विकास गरे। हामीले जीवनमा गर्ने हरेक काम कुनै न कुनै हिसाबले सिद्धान्तसँग गाँसिएकै हुन्छ।

कुनै निश्चित धारणाको आधारबाट कुनै घटनाको कारण खोतले पनि त्यसको पृष्ठभूमिमा एउटा प्रणाली हुन्छ जसले हाम्रो सोच र काम निर्धारण गर्छ। नारीवादी सिद्धान्तको प्रारम्भमा यसको उद्देश्य कसरी सेक्सिस्ट चिन्तनले काम गर्छ भन्ने व्याख्या गर्ने र त्यसलाई कसरी चुनौती दिन सकिन्छ वा परिवर्तन गर्न सकिन्छ भन्ने थियो (अंग्रेजी शब्द सेक्सिस्टको अर्थ लैंगिक रूपमा विभेदकारी चिन्तन राख्नु, जस्तैः महिलाहरू कमजोर हुन्छन् भन्नु सेक्सिस्ट चिन्तन हो। –अनु) ती दिनहरूमा हामीमध्ये धेरैजसोको हुर्काइमै अभिभावक र समाजले सेक्सिस्ट चिन्तन थोपरिदिएको थियो। हामीले हाम्रा चिन्तन पद्धतिको जरा खोज्न सकिरहेका थिएनौं।

नारीवादी चिन्तन र सिद्धान्तले हामीलाई ती जराहरू पहिल्याउन सिकाए। सुरुसुरुमा मौखिक रूपमै वा पोस्टर, पर्चाजस्ता सस्ता माध्यममार्फत नारीवादी सिद्धान्तलाई आम जनमानसमा पुर्‍याइयो। महिलाले नै लेख्ने, छाप्ने, र उत्पादनका हरेक तहको नियन्त्रण गर्ने छापाखानाहरू नै नारीवादी चिन्तन प्रसारको लागि सहायकसिद्ध भए। मैले सन् १९७० को दशकमा ‘के म महिला होइनः अश्वेत महिला र नारीवाद’ लेखेँ। त्यो मेरो पहिलो पुस्तक थियो। सन् १९८१ मा उक्त पुस्तक ‘साउथ इन्ड प्रेस’ नामका सानो समाजवादी समूहले प्रकाशन ग¥यो। उक्त समूहका आधाजसो सदस्य नारीवादी महिला थिए र सबैजसो सेक्सिज्मका विरोधी थिए।

महिलाको इतिहास उत्खननको मागसँगै नारीवादी साहित्यको निर्माण समकालीन नारीवादको सबैभन्दा शक्तिशाली र सफल हस्तक्षेप थियो। त्यतिबेलासम्म सबैजसो साहित्यिक लेखन र प्राज्ञिक कर्ममा लैंगिक विभेदकै कारण महिलाको योगदानको कुनै कदर नै गरिएको थिएन। नारीवादी आन्दोलनले पाठ्यक्रममा भएको पूर्वाग्रह र भेदभावको बारेमा आवाज उठाएपछिमात्र बिर्सिएका र बेवास्तामा परेका धेरै कृतिहरूको पुनः आविष्कार भयो। विभिन्न कलेज तथा विश्वविद्यालयमा सुरु भएको महिला अध्ययनले महिलाको प्राज्ञिक कर्मलाई संस्थागत वैधता प्रदान गर्‍यो।

अश्वेत अध्ययनसँगै स्थापित महिला अध्ययन नै यस्तो स्थान बन्यो जहाँ बिना कुनै पूर्वाग्रही दृष्टिकोण महिला र लैंगिकताको अध्ययन गर्न सकिन्थ्यो। आम रूपमा स्थापित रुढिवादको विपरीत महिला अध्ययनका कक्षाहरूमा प्राध्यापकहरूले पुरुषको लेखनीलाई बदर गरेनन्, गर्दैनन्। बरु हामीले महिलाको लेखन पनि पुरुषको जत्तिकै र त्योभन्दा पनि उत्कृष्ट र रोचक हुन सक्छ भन्ने देखाएर सेक्सिज्ममाथि हस्तक्षेप ग¥र्यौं। सौन्दर्यबोधको निर्माणमा सेक्सिज्मले कसरी प्र श्रय पाएको छ भन्ने देखाउन मात्रै हामीले पुरुषद्वारा लेखिएका तथाकथित उत्कृष्ट भनिएका साहित्यको समालोचना ग¥यौं। अहिलेसम्म मैले यस्तो कुनै पनि महिला अध्ययनको कक्षा लिएकी छैन वा सुनेको छैन जहाँ पुरुषको योगदानलार्ई असान्दभिक वा महत्वहीन भनिएको होस्।

पुरुषहरूका प्राज्ञिक र साहित्यिक कर्मको नारीवादी समालोचनाले केवल तिनमा रहेका सेक्सिस्ट पक्षपातको उजागर मात्र गरेका छन्। यस्तो उजागर गर्ने काम मुख्यतया महिलाको योगदानको पुनस्र्थापना र महिलाले वा महिलाबारे लेखिएका नयाँ कृतिहरूलाई उचित स्थान दिनेमा केन्द्रित थियो। प्राज्ञिक रूपमा बाटो फेला पारेपछि नारीवादी आन्दोलनले गति लियो। विश्वभरि नैयुवा विद्याथीले नारीवादी चिन्तनबारे सिके, सिद्धान्त पढे र प्राज्ञिक अनुसन्धानमा यसको प्रयोग गरे। नारीवादी चिन्तनकै कारण म आफैंले ग्र्याजुएट गर्दा शोधपत्र लेख्नका लागि त्यतिबेला खासै धेरै नपढिएकी अश्वेत लेखक टनी मोरिसनलाई रोजेँ।

नारीवादी आन्दोलन पूर्व अश्वेत महिला लेखकका रचनामाथि निकै कमैमात्र गम्भीर अनुसन्धान गरिएको थियो। आफूले प्रसिद्धि प्राप्त गरेपछि एलिस वाकर जोरा नील हुस्टोन रचनाको उत्खननमा लागिन्। छिट्टै नै हुस्टोन अमेरिकी साहित्यमा अश्वेत महिला लेखकको रूपमा स्थापित भइन्। नारीवादी आन्दोलनले सिर्जना गरेको यस्तो क्रान्ति ल्यायो जसले महिलाको प्राज्ञिक कार्यको सम्मान, विगत र वर्तमानमा गरिएको कार्यलाई मान्यता र शैक्षिक पाठ्यक्रममा भएका विभेदविरोधी आवाज उठायो। महिला अध्ययनको संस्थाकरणले संसारभर नारीवादको प्रसार गर्न सघाउन पुर्‍यायो। साथै, यसले खुला सोचको विकास र रूपान्तरणको लागि मान्यता प्राप्त निकायको समेत भूमिका खेल्यो।

महिला अध्ययनको कक्षामा विद्यार्थीहरू नारीवादी चिन्तनबारे थप जान्न र सिक्न उपस्थित हुन्थे। उनीहरू नारीवादी सोचाइबारे अधिक जान्न व्यग्र थिए। र यी तिनै कक्षा थिए जहाँ हामी राजनैतिक रूपमा सचेत बनेका थियौं। म परिवारमा रहेको पितृसत्तात्मक घरमा रहेको पुरुषको शासनलाई हाँक दिएर नारीवादी चिन्तनको प्रभावमा आएकी थिएँ। तर, आफैं हिंसा वा दमनको सिकारमा पर्दैमा र त्यसको प्रतिरोध गर्दैमा पितृसत्ता किन स्थापित छ र यो अवस्था कसरी परिवर्तन गर्न सकिन्छ भन्ने बुझिँदैन। कलेज आउनभन्दा पहिलदेखि नै म नारीवादी राजनीतिमा होमिएकी थिएँ तर नारीवादी कक्षाले मलाई नारीवादी चिन्तन र सिद्धान्तबारे जानेँ। यो त्यही स्थान थियो जहाँ मैले आलोचनात्मक चिन्तन गर्न र अश्वेत महिलाको अनुभवबारे लेख्न प्रेरणा पाएँ। सन् १९७० को दशकमा नारीवादी चिन्तन र सिद्धान्तको निर्माण सामूहिक कर्म थियो। त्यो दशकमा महिलाहरू विचार निर्माण र चिन्तन प्रणालीको परीक्षण एवं परिशीलनका लागि निरन्तर बहस, छलफल गरिरहे।

नारीवादी ज्ञान प्रसारको लागि पुस्तकको टेपरेकर्ड गीत र टेलिभिजनलगायतका सामग्री माध्यम हुन सक्छन्। र, पक्कै पनि हामीलाई नारीवादी टेलिभिजन चाहिन्छ।

अश्वेत र अन्य महिलाले नारीवादी चिन्तन निर्माणमा रंगभेदी पूर्वाग्रहले पनि प्रभाव पारेको विषय उठान गरेछि विशेषाधिकारयुक्त वर्गका महिलाले वास्तविक समस्या अनुभव नगरेको टिप्पणी हुन थाल्यो। तर, समयक्रमसँगै नारीवादी सिद्धान्त पनि फेरिँदै गयो। श्वेत महिला चिन्तकहरूले पुनर्चिन्तन नगरे पनि आफ्ना पूर्वाग्रहरूहरूबारे जान्न सके, यो आफैंमा महत्वपूर्ण परिवर्तन थियो। सन् १९८० को दशकको अन्तिमसम्ममा नारीवादी शोधहरूले जाति र वर्ग विभेदबारे सचेतना बढिसकेको देखाए। नारीवादी आन्दोलन र नारीवादी ऐक्यबद्धताप्रति पूर्ण प्रतिबद्ध महिला प्राज्ञहरू सबै महिलाको वास्तविकता सम्बोधन गर्ने सिद्धान्त निर्माणमा कटिबद्ध थिए। नारीवादी चिन्तनमा परिष्कार गर्न प्राज्ञिक वैधता अपरिहार्य थियो। यसले नयाँ खाले चुनौतीको सिर्जना गर्‍यो।

अचानक सिद्धान्त र व्यवहारबाट स्थापित नारीवादी चिन्तनको ठाउँ बहुलभाषी र पारिभाषिक शब्दहरूले भरिएको सिद्धान्तले लिन थाल्यो। पछिल्लो सिद्धान्त खासगरी प्राज्ञिक जगत्को लागि लेखिएको थियो। यो त कस्तो भयो भने मानौं नारीवादी चिन्तकहरूको एउटा ठूलो समूह सिद्धान्त लेखनको एलिट समूह बनाउन चाहन्छ जुन लेखन एउटा सानो हिस्साले मात्र बुझ्न सक्छ। प्राज्ञिक वृत्तभन्दा बाहिरका महिला तथा पुरूषलाई महत्व दिन छोडियो। यसरी नारीवादी चिन्तन र सिद्धान्त नारीवादी आन्दोलनबाट टाढिन पुगे।

प्राज्ञिक जगत्मा हुने राजनीति र करिअरको सिँढी उक्लने लालसाले नारीवादी राजनीति ओझेलमा पर्‍यो। नारीवादी सिद्धान्तलाई प्राज्ञिक दुनियाँको चारकुना भित्र सीमित पारियो र बाहिरी दुनियाँबाट अलग गराइयो। प्राज्ञिक संस्थामा गरिएका कार्यहरू दूरदृष्टि राखेर गरिएका हुन्छन्, तर तिनमा आम जनमानसको पहुँच भने फिटिक्कै हुँदैन। फलस्वरूप नारीवादी चिन्तनको प्राज्ञिकरणको यो स्वरूपले नारीवादी आन्दोलनलाई नै गैरराजनीतीकरण अवमूल्यन गरिदियो (यहाँ प्राज्ञिक शब्दले विश्वविद्यालयसँग सम्बन्ध राख्छ– अनु)। सामान्य रूपमा बुझ्दा नारीवाद लैंगिक मान्यतामा जोड दिनेबाहेक यो पनि अन्य शैक्षिक संकाय जस्तै भयो।

प्राज्ञिकरणको यो संकुचनका कारण नारीवादी आन्दोलनलाई नयाँ चुनौती थपिएको छ। प्रत्येकलाई नारीवादी चिन्तन र राजनीतिबारे बुझाउने जनसाहित्य लेखनमा नयाँ शैली र तरिकाको खोजी गर्नुपर्नेछ। खासगरी युवा संस्कृतिको निर्माणमा विशेष ध्यान दिन आवश्यक छ। प्राज्ञिक जगत्बाट प्रकाशन हुन सम्भव छैन। हामीलाई समुदायमा आधारित नारीवादी अध्ययनको आवश्यकता छ। त्यसको अर्थ विश्वविद्यालयमा भएका महिला अध्ययन कार्यक्रम छोड्नु भन्ने चाहिँ होइन। विश्वविद्यालयमै पनि महिला अध्ययन कार्यक्रम जोखिममा छ।

पुरातनवादीहरू त्यसलाई खारेज गरेर पुरातनवादीहरू लैंगिक न्यायबारे हालसम्म भएका प्रगति उल्ट्याउन चाहन्छन् यस्तो ठूलो नारीवादी आन्दोलनको परिकल्पना गरौं, जहाँ आन्दोलनकर्मीहरू दैलोदैलोमा नारीवादी साहित्य पुगिरहेका हुनेछन्। नारीवाद के हो भनेर बुझाइरहेका हुनेछन्। नारीवादी आन्दोलन उत्कर्षमा हुँदा बालबालिकाका लागि लेखिएका सेक्सिस्ट पक्षपातको आलोचना गरियो। ‘स्वतन्त्र’ बालबालिकाका लागि’ किताबहरू लेखिए। हामी आलोचनात्मक रूपमा सचेत हुन छोडेपछि सेक्सिज्म पुनः स्थापित भयो। नारीवादी शिक्षाको लागि आलोचनात्मक चेतना निर्माण गर्न बाल साहित्य एकदमै महŒवपूर्ण छ किनभने मान्यता र पहिचानहरू अझै पनि निर्माणकै क्रममा छन्। लैंगिक विभेदका साँघुरा विचारहरू अहिले पनि मान्यताको रूपमा स्थापित नै छन्।

बालबालिकाको लागि सार्वजनिक शिक्षालाई नै नारीवादी अभियन्ताहरूले पूर्वाग्रहरहित पाठ्यक्रम निर्माणको लागि प्रयोग गर्नुपर्नेछ। भविष्यका नारीवादी आन्दोलनले हरेकको जीवनका लागि महिलाको शिक्षा महŒवपूर्ण छ भनेर सोच्न जरुरी छ। नारीवादी आन्दोलनमा कुनै न कुनै हिसाबले उल्लेख्य रूपमा आर्थिक लाभ गरिरहेका नारीवादी महिलाहरू भए तापनि हामीले अहिलेसम्म नारीवादी सिद्धान्तमा आधारित विद्यालयहरू स्थापना गर्न सकेका छैनौं। जनसमुदायमा आधारित शैक्षिक आन्दोलन चलाउन नसक्दा हामीले मूलधारका पितृसत्तात्मक आमसञ्चार जगतलाई पहिलो स्थानमै रहन दिएका छौं जहाँबाट आम जनताले नारीवादबारे जानकारी हासिल गर्छन्। सबैलाई नारीवादी चिन्तन र सिद्धान्तको पढाउनुको अर्थ हामी शैक्षिक जगत् र लेख्य सामग्रीबाट परसमेत पुग्नुपर्नेछ भन्ने हो। आम जनसमुदायको ठूलो हिस्सा नारीवादी पुस्तक अध्ययन गर्न सक्दैन।

नारीवादी ज्ञान प्रसारको लागि पुस्तकको टेपरेकर्ड गीत र टेलिभिजनलगायतका सामग्री माध्यम हुन सक्छन्। र, पक्कै पनि हामीलाई नारीवादी टेलिभिजन चाहिन्छ। महिला टेलिभिजन सञ्जाल बनाउनको लागि कोष निर्माण गर्न सकियो भने नारीवादी चिन्तन विश्वव्यापी रूपमा प्रसार हुन सक्छ। हामीले आफ्नै सञ्जाल बनाउन सक्दैनौं भने भएका सञ्चार जगत्को उपयोग त गर्न सक्छौं। वर्षौसम्म पुरुषहरूको (जसमध्ये सबै लिंगभेद विरोधी थिएनन्) स्वामित्वमा रहेको ‘मिसेज म्यागेजिन’ अहिले महिलाको स्वामित्वमा आएको छ। उक्त पत्रिका नारीवादी सिद्धान्तमा प्रतिबद्ध छ। यो सही दिशातर्फको कदम हो।

यदि हामी आम समुदायलाई नारीवादी शिक्षा प्रदान गर्ने ठूलो आन्दोलन गर्दैनौं भने मूलधारको मिडियाबाट प्रसारण हुने नकारात्मक सूचनाका कारण नारीवादी सिद्धान्त र अभ्यासको अवमूल्यन भइरहनेछ। यो देशका आम नागरिकहरू नारीवादी आन्दोलनका सकारात्मक योगदानहरूबारे जान्नबाट वञ्चित हुनेछन्। हाम्रो समुदाय र समाज कल्याणको लागि नारीवादीहरूको रचनात्मक योगदान रहेको छ। तर, यस तथ्यलाई नारीवादलाई नकारात्मक प्रतिनिधित्वको रूपमा अनुमोदन गर्ने शक्तिशाली संस्कृतिले सधैं छायामा पारेको छ। अधिकांश मानिसलाई नारीवादले हामी सबैको जीवनमा कति सकारात्मक परिवर्तन गरेको छ भन्ने हेक्कासमेत छैन। नारीवादी विचार र सिद्धान्तको प्रसारले मात्र नारीवादी आन्दोलन दिगो हुनेछ। नारीवादी ज्ञान सबैको लागि हो।

(बेल हुक्स नामले प्रख्यात अमेरिकी लेखक, नारीवादी र सामाजिक अभियन्ता ग्लोरिया जिन वाट्किन्सको चर्चित पुस्तक ‘फेमिनिज्म इज फर एभ्रिबडी’बाट अनुदित अंश। अनुवादः मीरा ढकाल)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.