के खोज्ने : समानता कि फरक ?
दक्षिण अफ्रिकाली उपन्यासकार नार्दिन गोर्डिमरले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘महिला हुँ र एक लेखक हुँ भन्ने कुरालाई मैले खासै महत्व दिइनँ। वास्तवमा गम्भीर लेखकहरू अन्तरजात मनुष्य हुन्, जो कुनै कारणले स्त्री या पुरुषका रूपमा हुन्छन्, वास्तवमा उनीहरू दुवै हुन्।’
नेपालमा महिलाको सामाजिक–राजनीतिक हैसियत अनेकौं कविला समाजहरूले बनेको अफ्रिकी समाजको भन्दा कति तल–माथि छ भन्ने कुराको अध्ययन गर्न गाह्रो छैन, जहाँका राष्ट्रपतिसम्मले कैयौं महिलालाई बिहे गर्ने परम्परागत अभ्यास अझै जीवित छ। निश्चय नै त्यस्ता अभ्यास महिलाले चाहेर गरिएका होइनन्। त्यो समाज नै त्यस्तो छ जसले आफ्ना परम्परागत नारीद्रोही विश्वासलाई अझै बलियो गरी अँठ्याइरहेको छ। यस्ता अभ्यासमै रमाउनुपर्ने रुढिगत बाध्यतामा अल्झेको छ त्यहाँको महिला समाज। तर, त्यही अश्वेत बहुल समाजकी श्वेत लेखिकाको उल्लिखित विचार अवश्य पनि हाम्रो विशिष्ट सामाजिक संरचनामा पनि मेल खान्छ।
हामीकहाँ व्यवहारतः नारीवाद नारीमुक्तिको मुखौटामा नारीका गहिरा समस्याबाट भाग्ने तर आफ्नो दुनो सोझ्याउने एनजीओवाद हो। यो महिला सौन्दर्य प्रतियोगिताबारे राम्ररी बोल्दैन, यो नेपाली नारीलाई बजारबाद र विश्व पुँजीवादी एकाधिकारवादले चरम शोषण गरिरहेको छ भन्ने महाविमर्श सुरु गर्न आफ्नो पक्षधरता स्पष्ट राख्न हिच्किचाउँछ र तारे होटेलको बारबाट गरिब नेपाली महिलालाई हेर्छ। यसको हाकिम कहिल्यै पनि नेपाली महिला होइन, काठमाडौंमा अन्तर्राष्ट्रिय क्लब चलाएर बसेका गोरा दाताहरू हन्। त्यसैले तिनको प्रतिरक्षा गरेर अंग्रेजीमा कार्यपत्र प्रस्तुत गर्छ।
नेपालमा केही दशकयता पश्चिमा हावाहुरी निकै चलेको छ। त्यो हावाहुरी विभिन्न माध्यमबाट नेपालमा प्रवेश गरेको थियो। एसिया, अफ्रिका र ल्याटिन अमेरिकी गरिब मुलुकका जनतामा प्रतिरोधको संस्कृति विस्तार भइरहेका बेला त्यो कूटनीतिक आवरणमा आर्थिक राजनीतिक सहयोगमार्फत छिरेको थियो भने चर्चमार्फत पीडितहरूको उद्धार र सेवाका नाममा स्थानीय सुमदायमा पसेको थियो। उसको नारा स्वतन्त्रता र प्रजातन्त्र थियो तर काम भने सांस्कृतिक साम्राज्यवादको विस्तार गर्नु थियो। नेपालमा राणाकाल र पञ्चायतकालमा त्यो दरबारको मूल ढोकाबाटै नियन्त्रित रूपमा जनतातर्फ लक्षित हुन्थ्यो तर पञ्चायतको अवसानपछि विभिन्न दलका नेता तथा गैरसरकारी संस्थामार्फत लक्षित देखियो। उसले ज्ञान वितरण तथा मानवअधिकारका नाममा यहाँको मौलिक संस्कृति र परम्परामाथि सुनियोजित आक्रमण थाल्यो।
फलस्वरूपः यहाँ जसरी चर्चको बढोत्तरी भयो, जति विकास परियोजना लिएर अन्तर्राष्ट्रिय संस्थाहरू गाउँ छिरे र जति तालिम गोष्ठी भए, तिनले नेपालीहरूलाई वैचारिक अपांगताको महँगो उपहार भिराएर गए। तिनले नमस्कारलाई तिरस्कार गरे र हामीलाई ह्यान्डसेकिङको सीप भिराएर गए। आफ्नो संस्कार र संस्कृतिले आफैंलाई जोगाउन सक्ने उपकरण राज्यले गुमाउँदै लग्यो। त्यसका निमित्त त राज्यले आधार तहका जनताका जीवन निर्वाहको खाँचो पूरा गरेको हुनुपथ्र्यो। उसले जनताका आवाजलाई सुनेको हुनुपर्थ्यो। तर, राज्यमा बसेका लोभीहरूलाई जनताका त्यस्ता अनिवार्य आवश्यकताको कुनै सरोकार थिएन। उनीहरूलाई विदेशको सयर गर्नु थियो, छोराछोरीको छात्रवृत्ति सुनिश्चित गर्नु थियो र चाँडै अरूभन्दा बढी धनी हुनु थियो।
यसै कमजोर चेपोबाट पश्चिमा सांस्कृतिक साम्राज्यवाद तिनको जीवनलाई त्रासद बनाइरहेको हुन्छ। तिनको विलासी जीवनशैलीमा अन्य केही कमी हुन्न, स्वच्छन्दताबाहेक। त्यसैले पढेलेखेका र पहुँच भएका नेपाली महिला स्वच्छन्दताको खोजमा भौंतारिनु स्वाभाविकै थियो। नेपालमा फेमिनिज्म र जेन्डरको प्रवेश पनि त्यही परिप्रेक्ष्यमा भयो। पश्चिमा संस्थाहरूले कसरी गरिब देशका महिलामा स्वच्छन्दताको गर्भाधान गराउन सकिन्छ भन्ने राम्रै तालिम पाएर नेपाल छिरेका हुन्छन्। त्यसैले यो खेती नेपालमा राम्रैसँग फस्टाएको छ।
नेपालमा जातीय मुद्दा फस्टाएसँगै जातीय सुन्दरी प्रतियोगिता पनि फस्टाइरहेको हामीले देखेका छौं। यो जातीय अहम्को जरो नेपालमा हुँदै नभएको त थिएन तर त्यो निकै कमजोर थियो। यसको मूल जरो युरोपमा थियो जसले युरोपलाई जातीय राज्यको महादेश बनाएको हो। यस्ता सुन्दरी प्रतियोगिता कसले केका लागि गरिरहेका छन् भन्ने अध्ययन सायद हामीकहाँ भएको छैन। वास्तवमा यसले नै सुनियोजित ढंगले महिलालाई सुन्दरी र कुरूप वर्गमा विभाजन गरेको छ। गाउँमा श्रम गरेर जीविका चलाइरहेकी महिलालाई यसबारे केही थाहा छैन। त्यसैले साँच्चिकैको नेपाली महिला को हो र वास्तविक श्रमको सौन्दर्य कहाँ प्रकट हुन्छ भनेर पहिचान गर्नुपर्ने बेला आएको छ।
निश्चय नै चरम गरिबी, अभाव र रुढिगत परम्पराको जाँतोमा पिसिएका नेपाली महिलाको संख्या निकै बढी छ तथापि केही सम्भ्रान्त महिलाहरूका आन्दोलनसँग गाँसिएका निहित स्वार्थका कुरालाई पन्छाएर हेर्ने हो भने पनि नेपालमा महिलाको स्थिति पश्चिमा मुलुकका तुलनामा साह्रै नै गएगुज्रेको भनिहाल्नुपर्ने अवस्था छैन। त्यति लामो प्रजातान्त्रिक अभ्यास भएका लोकतन्त्रका जननी मुलुकमा महिलाले कहिले मताधिकार पाउन सके र विश्वविद्यालयमा पुरुषहरूसँगै कुम जुधाएर पढ्न अनि कार्यक्षेत्रमा समान ज्याला पाउन कति लामो संघर्ष गर्नुपरेको थियो भन्नेबाटै हाम्रो भर्खरैको लोकतन्त्रमा तिनले कम्तीमा पनि आधारभूत अधिकार पाउन सकेका छन् भनी हेरे पुग्छ। हो, यो नगण्य नै हो तर हामीलाई संविधान, महिलाअधिकार, बालअधिकार, जातीय समुदायका अधिकार र नैतिक मूल्य प्रणाली सिकाउने हैसियत राख्ने पश्चिमा मुलुकका राज्य प्रमुखका व्यवहार कस्ता छन् ? बिल क्लिन्टनदेखि डोनल्ड ट्रम्पसम्म, बोरिस एल्तसिनदेखि निकोलस सार्कोजीसम्मले महिलाहरूसँग गरेका यौन हिंसाका व्यवहारबाट उनीहरूकहाँ महिला समस्या कुन स्तरसम्म विद्यमान छ भनी सिकाउन्नन् र ?
हामीकहाँ व्यवहारतः नारीवाद नारीमुक्तिको मुखौटामा नारीका गहिरा समस्याबाट भाग्ने तर आफ्नो दुनो सोझ्याउने एनजीओवाद हो।
वैचारिक शून्यता र सैद्धान्तिक जडता दुवैले अधिकारकर्मीहरूका दृष्टिकोणलाई हदैसम्म व्यक्तिमुखी, नाफाखोर र भ्रष्ट बनाएका छन्। अरूका कुरा छोडौं नेपाली साहित्यमा परेका त्यसका बाछिटाले लेखकहरूमा समानता होइन, फरक खोज्ने र त्यसै आधारमा आफूलाई विशिष्ट कोटीमा राख्ने गरेको देखिन्छ। लेखकले कठोर आत्मसंर्घषबाट गुज्रेर यावत् अवरोधका बीच वैचारिक स्पष्टताका साथ जीवन र समाजका यथार्थको पुनर्संरचना गर्छ भन्ने कुरा केहीले बिर्सिदिएका छन्। महिला भएकै कारणले जैविक रूपमा उसका विशिष्ट आवश्यकता हुन्छन् भन्नु नितान्त जायज तर्क हो तर महिला भएकै कारणले कलारचनामा उसले विशिष्टता हासिल गरेको ठान्नु भ्रम हो।
हामीलाई थाहा छ, नेपाली महिला अझै घरका पर्खालभित्र थुनिन विवश छ र त्यसै कारणले ज्ञान आर्जन र कलारचनाका क्षेत्रमा उसको गति अवरुद्ध भएको छ। तर, यस्तो अवस्था तोडेर बाहिर निस्केका महिला अधिकारकर्मी र लेखक कलाकारले आफ्नै समाजको यथार्थ संवेदनालाई पक्रन नसक्नु तर आफ्नो त्यस्तो अवगुणलाई छोप्न फेरि पनि सामाजिक संरचना या पुरुष नामक कमजोर हुँदै गएको सत्तालाई दोषी देख्नु अर्को विभ्रम हो। आफ्नो अयोग्यता जान्दाजान्दै महिला भएकै कारणले योग्यतामा उकाल्न खोज्नु फेरि पनि ओठ, स्तन र यौनांगको बजारीकरण गर्नु हो। एक लेखकका लागि सौन्दर्यको बजार वास्तवमा कसको नियन्त्रणमा छ र अपेक्षाकृत पढेलेखेका युवायुवतीहरू किन त्यतातिर उन्मुख छन् भन्ने कुराको ख्याल हुनैपर्छ।
हरेक युगले आफ्नो प्रतिनिधि लेखक जन्माउँछ। अहिलेको युगमा कथित नवउदारवादी अर्थतन्त्रको नियत र असरबारे नजान्ने लेखक साँचो अर्थमा लेखक नै होइन। कसरी एक सामान्य महिला बजारको दासीमा रूपान्तरित हुन बाध्य हुन्छे भनी हेक्का राख्न नसक्ने लेखनकर्मी कि विचारशून्यताको सिकार भइसकेको छ कि त उसको दिमागलाई उपभोक्तावादी संस्कृतिका पुरस्सर धनाढ्यहरूले खरिद गरिसकेका छन्। लेखनको एक मूल मर्म अमानवीय संस्कृतिमाथि प्रहार गर्न नचुक्नु हो र पाठकलाई यथार्थको अन्तर्यभित्र प्रवेश गराउनु पनि हो।
त्यसो हो भने महिलालाई दासीमा रूपान्तर गर्ने पुरुष सत्तालाई चुनौती दिने उसको कलात्मक साहस उसका रचनामा स्पष्ट आएको हुनुपर्छ। तर दुर्भाग्यवश, हाम्रा अधिकांश लेखकहरूमा यस्तो रचनात्मक साहस देखिँदैन। अनि उनीहरू ठान्छन्, महिला भएकैले उनीहरूले लेखेको सामग्री उत्कृष्ट छ। अनि बित्थामा तिनलाई उचालेर राष्ट्रिय र अन्तर्राष्ट्रिय नारी लेखकको पगरी गुथाउनेहरूको स्वार्थ के रहेछ भनी किन खोतलिराख्नु पर्ला ! यस्ता मठाधीशहरूले त्यस्ता अनुष्ठानमा कसको पैसा प्रयोग गर्छन् भन्ने कुरा साँचो र समर्थ लेखकले बुझ्नु पर्दैन र ?
तर त्यसो हुँदैन। कसैले अनर्थ प्रशंसा गरिदियो, तृप्त भइयो। लेखनमा आधारभूत गुणात्मकताको खोजी गर्नुभन्दा सजिलो त आफ्नो प्राकृतिक जैविकताको प्रदर्शन गर्नु हो। यसैमा अल्झेको भए, माया एन्जेलोले ‘पिँजडाको चराले किन गीत गाउँछ’ शीर्षकको विस्फोटक कविता कसरी सिर्जना गर्थिन् ? यस्तैमा अल्झेको भए अरुन्धती रोयका दुुई उपन्यास र कतिपय निबन्धहरूले कसरी भारतको फाँसीवादी सत्तालाई हल्लाउने सामथ्र्य राख्थे ? यस्तै प्रशंसामा अल्झेर आफूलाई समुस्कान पस्कन सकेको भए कुनै बेलाकी गोरी सुन्दरी नोर्दिन गोर्डिमोर पिटर बोथाको गोेरो दलमा नलागेर अश्वेत बहुल अफ्रिकी नेसनल कांग्रेसमा किन हेलिन्थिन् ?
नेपाली महिला लेखनको अभिशाप यस्तै केही हो। पहिलो त आफूलाई महिला ठान्नका लागि म बृहत् मानव समुदायको पक्षधर लेखक हुँ भन्ने चेतले सजिनु आवश्यक छ। त्यसपछि नेपाली महिलाका अन्तरकुन्तर खोतल्न आफ्नो मध्यमवर्गीय विलासी चुलोचौकाबाट निस्केर उनीहरूको जीवनलाई स्पर्श गरेको हुनुपर्छ। यिनलाई यस्तो नारकीय परिस्थितिमा पार्ने सत्ताको जरो त्यहीँ कतै फेला पर्ने हो। लेखन अथेन्टिक हुन, लेखकको अध्ययन र ग्रहण क्षमता अथेन्टिक हुनुपर्ने हो। लेखनमा नयाँ सौन्दर्य स्थापित गर्न रचनात्मक ऊर्जा र साहस कहाँबाट प्राप्त हुन्छ, त्यस मानव भूगोलमा प्रवेश गर्ने र जोखिम मोल्ने हो।
तर हामीकहाँ बढीजसो यो पश्चिमा नारीवाद मानिसहरूलाई बित्थामा तर्साउने हतियार भइरहेछ। कसैलाई बदनाम गर्नुपर्यो भने भनिदियो, ‘फलानाले मसँग सुत्छु भन्यो। फलानाले मलाई एकान्तमा यौन दुर्व्यवहार गर्यो।’ यस्तै विचारलाई रचनात्मक विचारमा बदल्न सकेको दिन नेपाली कला–साहित्यको क्षितिज स्पष्ट र फराकिलो देखिनेछ। त्यसैले गोर्डिमरले भनेकी हुन्, ‘लेखक त अन्तरजातीय हुन्छ।’