यौन हिंसाविरुद्ध ह्यासट्याग मी टु
यौन हिंसा नेपालमा मात्र नभई विश्वमा नै एक गम्भीर समस्याका रूपमा रहेको छ। हाल विश्वव्यापी रूपमा निकै चर्चामा रहेको ‘ह्यासट्याग मी टु’ अभियान यसविरुद्ध एक सकारात्मक पहल बनेको छ। यसले पीडितको आवाजलाई विश्वसामु लगेर अन्यलाई पनि आफूमाथि भएको दुव्र्यवहारको घटना बाहिर ल्याउन प्रेरित गरेको छ।
विश्वका विभिन्न कुनामा यौन उत्पीडनका धेरै घटना दिनहुँ भइरहेका छन्। यसमा प्रायः आफन्तबाटै यौन हिंसाको सिकार भएका पाइन्छ। दोषीलाई कार्बाही गरिए समाजमा आफ्नो अझै बदनामी हुने डरले पीडितहरू पीडकविरुद्ध बोल्न डराउँछन्। यसले पीडकको दुस्साहसलाई झनै बढाउँछ। त्यसैले पीडितलाई आफ्नो मुख खोल्न र पीडकलाई यस्तो प्रयास नदोहो¥याउन चेतावनीस्वरूप हलिउड कलाकारले ७५औं गोल्डेन ग्लोब अवार्डलाई नै यही विषयमा केन्द्रित गरे। ह्यासट्याक मी टु अभियानमा समर्थन जनाउँदै उनीहरू कालो रङका पोसाक लगाएर अवार्ड समारोहमा उपस्थित भए। अवार्ड समारोहमा ओपरा विनफ्रे, निकोल किडम्यान र फ्रान्सिस मेकडोरमेडजस्ता कलाकारले समानताको विषयमा बोले। विनफ्रेले हलिउडमा जारी यौन उत्पीडनको बहसलाई अगाडि बढाउन सहयोग पु¥याएकोमा मिडियालाई धन्यवाद दिइन्। यसपछि सामाजिक सञ्जालमा मी टु अभियान झन व्यापक बन्दै गयो।
बुर्कदेखि मिलानोसम्म
‘मी टु’ वाक्यको प्रयोग सबैभन्दा पहिले सन् २००६ मा अमेरिकी अधिकारकर्मी तराना बुर्कले गरिन्। समाजमा रहेको यौन हिंसाविरुद्ध जनचेतना जगाउन उनले यौन हिंसापीडित एक युवतीलाई मी टु भन्दै सहानुुभूति दिन ती शब्दहरूको प्रयोग गरेकी थिइन्। यही कारणले टाइम पत्रिकाले अन्य महिला अधिकारकर्मीलाई जस्तै बुर्कलाई पनि ‘साइलेन्स ब्रेकर’को संज्ञा दिँदै गत वर्ष ‘टाइम पर्सन अफ द इयर’मा राखेको थियो। बुर्कपछि यसलाई चर्चित बनाउने काम हलिउड नायिका एलिसा मिलानोले गरिन्। उनले नै आफूमाथि भएका घटना उल्लेख गर्न सबैलाई अनुरोध गर्दै ट्विट गरिन्। उनले गत वर्ष अक्टोबर १५ को मध्यान्नमा ट्विट गरेपछि २४ घन्टाभित्र विश्वका ४७ लाख मानिसले यसको प्रयोग गरेको पाइयो।
जेनिथ प्याल्ट्रो, यास्ले जुड, जेनिफर लरेन्स, उमा थर्मन लगायतका सेलिब्रेटीले पनि यही अभियानअन्र्तगत आफूमाथि भएका यौन हिंसाका घटना सामाजिक सञ्जालमा छर्लंग पारे। मिलानोले रोलिङ स्टोन नामक एक पत्रिकामा अन्तर्वार्ता दिँदै आफू र हलिउड चलचित्र उद्योगका अन्य तीन सय महिलाले अहिले अर्को एक अभियान सुरु गरेको बताइन्। ‘टाइम्स अप’मार्फत पनि काम गर्ने ठाउँमा आफूमाथि हुने यौन हिंसाविरुद्ध लड्ने र पीडितलाई न्यायको लागि पहल गर्नुका साथै पैसा जुटाइदिने अर्को अभियान हो। बुर्कले यो वाक्यांशलाई एक सहानुभूतिका रूपमा मात्रै प्रयोग गरे पनि अहिले यो अभियानमार्फत पीडकलाई नै आफूले गरेका दुव्र्यवहारप्रति जिम्मेवार बनाउन र यो हिंसाको क्रमलाई रोक्नु रहेको छ।
हलिउड अभिनेत्री उमा थरमनले फिल्म निर्माता हार्वे वेंस्टिनबाट सन् १९९० को दशकमा लन्डनको एक होटलमा आफूमाथि हिंसा भएको बताइन्। ‘किल बिल’की नायिका थरमनले न्युयोर्क टाइम्सलाई घटनाको विवरण यसरी खुलाएकी छन् ,‘यो रहस्यलाई मैले आफूभित्रै दबाएर राखेकाले मलाई बोझझैं महसुस भइरहेको थियो। उसले मलाई तानेर भुइँमा लडायो र ममाथि केही अप्रिय कार्य गर्न खोज्यो तर उसले त्यस्तो केही गर्न पाएन। मलाई विवश बनाउन पनि सकेन।’
बलिउडमा पनि मी टु
भारतीय टेलिभिजन च्यानल सब टीभीको चर्चित हास्यव्यंग्य सिरियल तारक मेहेताका ‘उल्टा चस्मा’मा बबिताको भूमिकामा अभिनय गर्ने अभिनेत्री मुनमुन दत्ताले आफूमाथि भएको यौन शोषणको घटनालाई सामाजिक सञ्जालमार्फत खुलासा गरेकी छन्। उनले आफ्नो पीडा पोख्दै लेखेकी थिइन्, ‘मैले देखिरहेको छु कि मी टुमा आउने कथा र प्रतिक्रिया देखेर कैयौं पुरुष चकित छन्। तर, चकित नपर्नुस् किनकि यो तपाईंकै घरमा पनि भइरहेको छ।’
उनले अझै भावुक हुँदै लेखेकी थिइन्, ‘मेरो छिमेकी अंकलले मलाई मौका पायो कि कसेर अँगालो मार्ने गर्थे र यो कुरा कसैलाई नभन्नु भन्थे। म जन्मँदा मलाई अस्पतालमा हेर्न आउने एक व्यक्ति म करिब १३ वर्षको भएपछि मलाई गलत तरिकाले शरीरमा छुने गर्थे। मेरो ट्युसन पढाउने शिक्षकले मेरो भित्री वस्त्रमा हात छिराएका थिए। राखी बाँध्ने एक शिक्षकले समेत कक्षाका केटीहरूको ब्रा तानेर गाली गर्ने र वक्षस्थलमा नै पिट्ने गरेका थिए। यस्तो कुरा किन भयो। यस बारेमा मैले कसरी आफ्ना आमाबाबुलाई भन्ने ? यस्तै कुराले नै हामीलाई पुरुषमाथि घृणा उत्पन्न गराउँछ।’
झुटो फेमिनिज्मको संज्ञा
मी टु अभियान विश्वव्यापी रूपमा चर्चित बन्दै गएपछि यसमा पुरुषको भूमिका कस्तो हुनसक्छ भन्नेमा पनि बहस चल्न थाल्यो। महिलाले मात्रै नभई ६ जनामध्ये एक पुरुषले आफ्नो जीवनको कुनै कालमा यौन हिंसा भोगेको भए पनि यसको बारेमा बोल्न नसक्ने पाइएको छ। मी टु अभियान भाइरल भएपछि केही पुरुषले आफूलाई महिलाबाट टाढै राख्न चाहेको बताएका छन् भने केही भने आफूले गरेका कुन क्रियाकलाप कति बेला अनुपयुक्त लाग्ने हो भन्ने बारेमा अन्योलमा छन्। केहीले भने आफूले केही बोले यसको नतिजा के होला भन्ने डरले पनि यस बारेमा बोल्न छाडेका छन्।
यस अभियानबाट आफूहरूलाई टाढा राखेकोमा केही पुरुषले गुनासो पनि गरेका छन्। धेरैले यसलाई पुरुषविरोधी वा झुटो फेमिनिजम (महिलावाद)को संज्ञा पनि दिएका छन्।
मानहानिको मुद्दा
विश्वभर चलिरहेको मी टु अभियानलाई फ्रान्समा सुरु गर्ने पत्रकार स्यान्ड्रा मुलरले जुन व्यक्तिलाई आफूमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन्, त्यस व्यक्तिले उनीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्। मुलरले आफ्नो टेलिभिजन च्यानलको कार्यालयमा काम गर्ने एक कर्मचारी एरिक ब्रायनमाथि अभद्र टिप्पणी गरेको आरोप लगाएकी थिइन्। मुलरले गत अक्टोबर १३ मा ट्विटरमा ब्रायनविरुद्ध आरोप लगाएकी थिइन्। ब्रायनले सार्वजनिक रूपमा माफी मागिसके पनि अहिले उनले आफ्नो बाटो बदलेर आफूमाथि ५० हजार युरो जरिवाना दाबी गर्दै मानहानिको मुद्दा दर्ता गरेको उनले फेसबुकमार्फत पोस्ट गरेकी छन्। फ्रान्सको एक पत्रिकामा लेख लेख्दै ब्रायनले मुलरमाथि आफूले अभद्र टिप्पणी गरेको स्वीकार गरेका थिए। यौन उत्पीडनको सामना कसरी गर्ने हो भनेर यस लडाइँको अन्तिमसम्म जाने मुलरले बताएकी थिइन्। उनको यही साहसको कदर गर्दै टाइम म्यागजिनले मुलरलाई सन् २०१७ को ‘पर्सन अफ द इयर’को सूचीमा ‘साइलेन्स ब्रेकर’को रूपमा राखेको छ।
फैलिँदै अभियान
अफगानिस्तान, क्यानडा, फ्रान्स लगातयका देशमा मात्रै नभई चीनमा पनि मी टु अभियान पुगिसकेको छ। चीनका केही महिलाले ह्यासट्याग उइ सी लेख्ने गरेका छन् भने अन्य केहीले ह्यासट्याग मी टु नै लेखेर आफूमाथि भएका घटना बाहिर ल्याएका छन्। पहिले चीनका विश्वविद्यालयहरूमा यो वाक्यांशलाई प्रयोग गर्न थालियो भने विस्तारै यो अन्य उद्योग र व्यवसायमा पनि बिस्तार भएर गयो।
चीनमा सरकारी तवरमा प्रकाशित हुने पत्रिका चाइना डेलीले ह्यासट्याग अभियानमा आफ्नो आधिकारिक प्रतिक्रिया जनाउँदै चीनमा उत्कृष्ट शिक्षा र संस्कृतिका कारणले महिलामाथिको हिंसा निकै न्यून रहेको जनाएको छ। तर, सिटी विश्वविद्यालयका एक जोडी प्राध्यापकले हङकङमा हालै गरेका एक अनुसन्धानमा चीनमा विभिन्न क्षेत्रमा काम गर्ने कामकाजी महिलामध्ये ८० प्रतिशतले आफ्नो करिअरको कुनै न कुनै समयमा यौन हिंसाको सिकार हुने गरेको सार्वजनिक गर्यो।
यो अनुसन्धानको रिपोर्ट बाहिर आएपछि विभिन्न अनलाइनमार्फत धेरैले आफ्नो रिस र आवेगपूर्ण विचारहरू व्यक्त गरे। चीनमा महिला हिंसाविरुद्ध कुनै पनि कानुन बनेको छैन र सरकारी मिडियामार्फत महिलालाई आफ्नै घरमा बसी परिवारको हेरविचार गर्न प्रेरित गरिन्छ। ह्युमन राइट्स वाच नामक एक संस्थाकी निर्देशक सोफी रिचर्डसनले चीन सरकारले महिला अधिकारका विषयमा हुने बहसलाई सधैं दबाउँदै आएको बताएकी छन्।
हङकङकी धाविका भेरा लुई लाई इयुले ह्यासट्याग मी टु अभियानलाई समर्थन जनाउँदै आफ्नो फेसबुक फ्यानपेजमार्फत आफूमाथि भएको यौन हिंसाको घटनालाई आफ्नो २३औं जन्मदिनको अवसरमा बाहिर ल्याएकी थिइन्। त्यसैगरी गत जनवरीमा झेङ जी नामक एक विद्यार्थीले यही अभियानलाई समर्थन जनाउँदै यौन हिंसा विरुद्धको अर्को अभियान सुरु गरेकी छन्। डा. लुव जीजी नाम गरेकी एक विज्ञले आफू २० वर्षको हुँदा बिहाङ विश्वविद्यालयका एक प्रोफेसरले आफूमाथि यौन हिंसा गरेको खुलासा गरेकी छन्।
उनले विभिन्न रेकर्डिङसहित यस विषयमा भएका सम्पूर्ण प्रमाण जुटाएर सम्बन्धित विश्वविद्यालयमा बुझाएकी थिइन्। उनको यो कहानी बाहिर आउन्जेल ती प्राध्यापकलाई निलम्बन गरिसकिएको थियो। उनले गरेको पोस्टलाई २४ घन्टाभित्र ३० लाख मानिसले हेरिसकेका थिए। हाल अमेरिकामा बस्ने लुवाले आफूलाई ह्यासट्याग मी टु अभियानले बोल्ने हौसला दिएको बताइन्।
चर्चदेखि सेनासम्म
चर्चदेखि वित्तीय संस्था, राजनीति र खेल, स्वास्थ्य र संगीत मात्रै नभई सेनामा पनि यो अभियानको प्रभाव परेको देखिन्छ। जनवरीमा भएको गोल्डेन ग्लोब अवार्डमा ओपरा विनफ्रेले महिला सैनिकलाई सम्मान गर्दै आजका महिलाका लागि राम्रो समाज बनाउन यौन हिंसाबाट प्रताडित ती महिलाको नाम हामी कहिल्यै थाहा पाउनेछैनौं भनेको भोलिपल्टै सामाजिक सञ्जालमा यौन हिंसा पीडित महिला सैनिकका व्यथा पनि आउन थालेका थिए। अमेरिकी रक्षा विभागको हेडक्वार्टर द पेन्टागनले निकालेको एक रिपोर्टअनुसार सन् २०१६ मा ४५ हजार सैनिक यौन हिंसाको सिकार भएका थिए। तर, १५ हजारले मात्रै रिपोर्ट गरेका थिए।
पहिले वयस्क व्यक्तिहरूलाई मात्रै समेटे पनि मी टु अभियान विस्तारै किन्डरगार्डेनदेखि कक्षा १२ सम्मका विद्यालयका विद्यार्थीमाझ पनि फैलिएको छ। विद्यालयमा पनि व्यक्तिगत रूपमा होस् या अनलाइनमार्फत, यौन हिंसाका घटना व्यापक रूपमा हुने गरेको पाइन्छ। जोल लेभिन र इस्टर मार्कोभले सुरु गरेको ‘विद्यालयमा यौन हिंसा रोक’ नामक एक समूहले गत जनवरीदेखि किन्डरगार्डेनदेखि उच्चमावि सम्मका विद्यार्थीमाथि हुने हिंसालाई रोक्न सुरु गरेका हुन्।
सन् २०११ मा भएको एक सर्भेका अनुसार कक्षा ७ देखि १२ मा पढ्ने विद्यार्थीमध्ये ४० प्रतिशत छात्र र ५६ प्रतिशत छात्राले आफ्नो जीवनकालमा नकारात्मक यौन प्रतिक्रिया वा यौन हिंसा भोग्ने गरेको पाइएको छ। त्यसैले विद्यालयमा बालबालिकामाथि हुने यौन दुव्र्यवहारका घटना बाहिर ल्याउने काममा यो अभियान अहिले विश्वव्यापी रूपमा सक्रिय बनेको छ।
(एजेन्सीको सहयोगमा)