बजारको ढल फेवातालमा
पोखरा : फेवातालमा सोझै मिसिने नाला र पोखरा बजार हुँदै तालमा टुंगिने खोलामा घरघरबाट जोडिएका शौचालय, बाथरुम र भान्छाको पानी मिसिने क्रम नरोकिँदा फेवाताल प्रदूषणको चपेटामा परेको छ। आकाशे पानी मात्र बगाउने भनेर निर्मित नालामा घरघरका बाथरुम मात्र होइन, शौचालयको फोहोरसमेत पठाउँदा ताल प्रदूषणको चपेटामा परेको हो।
घरघरबाट फोहोर पानी ढलमा मिसाइँदा ताल किनारमा रहेको सामुदायिक सेवा केन्द्र बैदामको कार्यालयमा समेत बस्नै नसक्ने गरी दुर्गन्ध फैलिएको सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीले बताए। ‘पानी परेपछि ढलमा शौचालयको फोहोर नै आउने गरेको छ’, पराजुलीले भने।
पानी बढेको मौका छोपी शौचालयको फोहोर ढलमा सोझ्याइँदा ताल किनारमा ढलको पानी फिल्टर गर्न बनाइएको पोखरीवरपर दुर्गन्ध हुने गरेको छ। फिल्टर गर्न बनाइएको पोखरी पनि ट्रिटमेन्ट प्लानबिना नाम मात्रको भएकाले पोखरी भरिएपछि फोहोर सोझै तालमा मिसिने गरेको छ। तालमा मिसिने ढलमा बाथरुम, किचन र शौचालयको फोहोर मिसाउने ३५ जनाको नाम र ठेगना ८ महिनाअघि दिए पनि महानगरले चासो नदिएको उनले बताए। ढलमा सोझ्याइएका पाइप काट्ने र उनीहरूलाई कारबाही गरे अरूले मिसाउने आँट नगर्ने पराजुलीको भनाइ छ।
खोला र ढलमा मलमूत्र मिसाउनेलाई महानगरपालिकाले कारबाही नगर्दा पर्यटकको प्रमुख आकर्षण फेवाताल प्रदूषणको चपेटामा परेको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले सुनाए। फेवातालमा पुगेर टुंगिने बुलौंदी र फिर्के खोलामा समेत धेरै मात्रामा घरका फोहोर मिसाइँदा ताल तीव्र प्रदूषणको चपेटामा परेको हो। नागरिक समाज पोखराले अनुगमन गरी बुलौंदी र फिर्के खोलामा ढल मिसाइएको पटक-पटक सार्वजनिक गर्दा पनि महानगरले घरका शौचालय, किचन र बाथरुमबाट निस्कने फोहोर नियन्त्रण गर्न नसकेको पौडेलले बताए।
फेवातालमा प्रदूषण मात्र होइन, तालको मूल स्रोत हर्पन खोलाले बर्सेनि बगाएर ल्याउने गेग्रानले सिरानतर्फ ताल पुरिँदै गएको छ। यसमा पनि महानगरपालिकाले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ। हरेक वर्ष फेवातालमा १ लाख ४२ हजार टन गेग्रान थुपिँ्रदै आएको एक अध्ययनले देखाएको महानगरका इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए।
सन् १९५७ को नापीअनुसार लगभग २२ हजार रोपनीमा फैलिएको ताल सन् २००० मा आउँदा ९ हजार ९ सय ५५ रोपनीमा सीमित भएको छ। पछिल्लो १७ वर्षयता अझ तीव्र गतिमा ताल पुरिँदै गएको छ। ताल क्षेत्र तीव्र रूपमा अतिक्रमणमा चपेटामा समेत परेको छ। अतिक्रमित जमिन तालकै नाममा ल्याउन पछिल्लो समय सम्बन्धित निकायले कुनै पहल गरेको छैन।
करिब दुई दशकपछि महानगरले जनप्रतिनिधि पाएपछि फेवातालमा भएको प्रदूषण नियन्त्रण हुने आशा गरे पनि अहिलेसम्म त्यसो हुन नसकेको संरक्षणकर्मी हेमन्त ढकालले बताए। मेयर मानबहादुर जिसीलगायत जनप्रतिनिधिले शपथ खाएर महानगरको जिम्मा लिएको १० महिना पुग्न लाग्दा पनि ताल संरक्षणमा सामान्य चासो पनि नदिएको स्थानीयको गुनासो छ।
पोखरा लेखनाथ महानगरपालिका फेवाताल संरक्षण आयोजनाका प्रमुख महेन्द्र गोदारले आकाशे पानी मात्र बगाउने भनेर निर्मित नालामा बाथरुम, किचन र शौचालयको फोहोर मिसाउनेलाई कारबाही सुरु हुने बताएका छन्। मुहान क्षेत्रबाट ताल तीव्र गतिमा पुरिँदै गएकाले यो क्रम रोक्न पामे क्षेत्रमा तालको मुख्य स्रोत हर्पन खोलामा सिल्ट्रेसन प्लान बनाउने योजना अघि बढाइएको उनले बताए।