नारी हस्ताक्षरका जब्बर पाइला

नारी हस्ताक्षरका जब्बर पाइला

पछिल्लो समय नारी लेखकका पुस्तक धमाधम प्रकाशित भइहेका छन्। अघिल्लो हप्ता एकै दिन दुई नारी हस्ताक्षरका उपन्यास काठमाडौंमा सार्वजनिक भए— प्रगति राईको ‘बिर्सिएको मृत्यु’ र कल्पना श्रेष्ठ कल्पवृक्षको ‘सञ्जीवनी’। भर्खरै बजारमा आएका खासगरी आख्यानका पुस्तकमा सरस्वती प्रतीक्षाको ‘नथिया’, नीलम कार्की निहारिकाको ‘योगमाया’, अर्चना थापाको ‘कठपुतला’ र अनुपम रोशीको ‘मध्यान्तर’ आदि उल्लेखनीय छन्।

यो त केवल राजधानीबाट प्रकाशित पुस्तकको सामान्य सूची हो। नारी लेखकले देशभरि नै साहित्यमा गरिरहेको हस्तक्षेपको आँकडा अझै ठूलो छ। लेखकको लिंग छुट्याएर आँकडा निकाल्ने परिपाटी नै गलत देख्छन् समीक्षक राजकुमार बानियाँ। उनको विचारमा आख्यानको लहर आएको बेला नारी साहित्यकार पनि आख्यान लेखन अभियानमा आएका छन्।

तर, कटाक्ष गर्दै बानियाँ भन्छन्, ‘उपन्यास लेखन फेसनजस्तो भइसक्यो। यहाँ विधागत छनोट नै गलत छ। बिक्री हुन्छ भनेर उपन्यासमात्रै लेख्ने ? यहाँ नाटक र निबन्ध लेख्ने जाँगर किन कसैसित छैन ? उपन्यासका नाममा शब्दचित्र, घटना मुचुल्का, डकुमेन्ट्रीजस्तो मात्र आइरहेको छ।’

उता सामाजिक, धार्मिक, राजनीतिक, कानुनी आदि अभ्यासले नारीलाई दोस्रो दर्जाको नागरिक बनाएकोले नारीको प्रसंग विशिष्ट हुने धारणा छ लेखक अर्चना थापाको। थप्छिन्, ‘जुन देशमा एउटी नारीले सम्मानका साथ नागरिकता पाउँदिन, नागरिकता बनाइदेऊ भनेर याचना गर्दा उसको परिवारले जीउमा आगो लगाएर हत्या गर्छ, जुन देशमा आमाको नाममा बच्चाले नागरिकता पाउन दुष्कर छ, त्यस देशका नारी लेखकलाई के सजिलो हुन्छ र ? ’

साहित्यमा नारी दबाब

साहित्यकार थापाको मूल्यांकनमा नेपाली साहित्यमा नारी लेखकको हस्तक्षेप पहिला पनि बलियो थियो। संख्यात्मक रूपले भने सार्वजनिक साहित्यिक छलफलमा नारी लेखकको सक्रिय प्रतिनिधित्वचाहिँ पहिला नभएको उनको भनाइ छ। समीक्षक राम लोहनीको विचारमा पनि पुरुषका एकाधिकार मानिएका हरेक क्षेत्रमा जस्तै साहित्यमा पनि महिलाको हस्तक्षेप बढेको छ। भन्छन्, ‘पुरातन शैलीका मान्यतामा महिलालाई अल्झाउने र उनीहरूको क्षमतालाई नगन्ने प्रवृत्तिलाई महिला लेखकले जवाफ दिएका छन्।’

उपन्यासकार नीलम कार्की निहारिकाको भनाइ छ, ‘महिलासँग समाज विकासको प्रक्रिया जोडिएको हुन्छ। महिलामा सचेतना बढ्नु, साहित्यमा महिलाको उपस्थिति बढी हुनु भनेको समाज विस्तारै परिवर्तन हुँदैछ भन्ने कुराको चित्र हो। यो सबैको लागि सकारात्मक कुरा हो।’

महिला लेखक र उनीहरूका किताबको संख्या बढ्नु मात्र उल्लेखनीय कुरा नहुने धारणा पनि एकथरीको छ। लेखक प्रगति राई पनि साहित्यमा नारी लेखकको संख्या बढ्नु प्रशंसनीय भए पनि सबै किताब गुणस्तरीय नभएको भन्ने तर्क राख्छिन्। समीक्षक बानियाँ पनि नारी लेखक बढ्नुलाई सकारात्मक नै मान्छन्, तर नारीका नाममा नारा धेरै लेखिएको उनको आरोप छ।

बानियाँ भन्छन्, ‘नारी लेखन साहित्य नभएर एक्टिभिज्म जस्तो स्थितिमा छ। नारी लेखकहरू सिंगो समाजलाई नारीकै दृष्टिकोणबाट मात्र हेर्छन्। नारीले नारीकै पीडा र समस्यालाई अभिव्यक्ति दिएका छन्। एकखाले साँघुरोपन छ।’

बानियाँको यो भनाइसँग समीक्षक बिन्दु शर्मा भने सहमत छैनन्। बरु पुरुष लेखकहरू आत्मप्रशंसा र गन्थनबाट माथि उठ्न नसकेको आरोप लगाउँछिन् उनी। भन्छिन्, ‘स्वतन्त्रताको कुरा धेरै गरिए पनि हाम्रो समाजमा नारीको अवस्था दयनीय छ। त्यही समाजका भोगाइ लेखिनु स्वाभाविकै हो।’ पुरुषका तुलनामा अत्यन्तै कम अवसर पाउने महिलाले पुरुषकै बराबरीमा पुस्तक लेख्नु पुरुषकै लागि चुनौती भएको उनको तर्क छ।

जुन देशमा एउटी नारीले सम्मानका साथ नागरिकता पाउँदिन, नागरिकता बनाइदेऊ भनेर याचना गर्दा उसको परिवारले जीउमा आगो लगाएर हत्या गर्छ। त्यस देशका नारी लेखकलाई लेख्नु सजिलो हुन्छ ?

संख्यात्मक मात्र होइन, गुणात्मक हिसाबले पनि पुरुषभन्दा नारी लेखक कम नभएको समीक्षक शर्माको मूल्यांकन छ। ‘अझ समान अवसर पाए त पुरुषभन्दा बढी नतिजा महिला लेखकले देखाउन सक्छन्’, उनी थप्छिन्। उपन्यासकार कल्पवृक्षचाहिँ संख्यात्मक रूपमै महिला लेखकका किताब धेरै आउनुलाई पनि सकारात्मक ठान्नुपर्ने बताउँछिन्। जति धेरै महिला लेखक र किताब आयो, उत्तम स्तरका किताब आउने सम्भावना उत्ति नै बढ्ने उनको धारणा छ।

समीक्षक शर्मा पनि संख्यात्मक रूपमै नारी लेखनको वृद्धि हुनुलाई सुखद ठान्छिन्। संख्यात्मक रूपमा धेरै पुस्तक नआई गुणात्मक वृद्धि कसरी हुन्छ ? भन्ने प्रश्न गर्छिन् उनी। उता उपन्यासकार रोशी पनि समाजमा आइरहेको परिवर्तनले नारी लेखकहरू व्यापक संख्यामा सक्रिय भएकोमा प्रसन्न छिन्।

नारी लेखकका नारी पात्र

पारिजातको उपन्यास ‘शिरीषको फूल’को मूख्य पात्र सकम्बरी सधैं चर्चा हुने बोल्ड नारी पात्र हो। भर्खरै प्रकाशित प्रतीक्षाको उपन्यास ‘नथिया’को मूल पात्र सामली पनि अहिले चर्चामा छ। कवि भूपिनले हालै ट्विट गरे, ‘सकम्बरी पढेर र त्यसको प्रभावमा तरंगित भएर हुर्किएँ। सामली पढेर र त्यसको प्रभावले तरंगित भएर बुढेसकाल बित्नेछ।’

त्यसो त विश्वेश्वरप्रसाद कोइराला, गोविन्दबहादुर मल्ल गोठाले, कृष्ण धराबासीजस्ता धेरै पुरुष लेखक पनि विशिष्ट नारी पात्र रचना गर्न सफल छन्। तैपनि प्रश्न उठ्छ— नारी लेखकले चर्चायोग्य नारी पात्र नै किन धेरै रचना गर्छन् ?

समीक्षक बानियाँ त नारी लेखनको विशेषता नै नारी चरित्र प्रधान हुनु हो भन्छन्। आख्यानकार प्रतीक्षा, कल्पवृक्ष र रोशी आफूहरू महिला पात्रमा धेरै केन्द्रित हुने गरेको स्वीकार्छन्। समाजमा महिला उत्पीडन र विभेदको सिकार हुने गरेकाले साहित्यको माध्यमबाट परिवर्तनको लडाइँ लडिरहेको दाबी छ ती दुवैको। रोशी दाबी गर्छिन्, ‘महिला अस्तित्वको लडाइँमा मेरा पात्रहरू सधैं अग्रस्थानमा उभिएका छन्। महिलालाई कमजोर बनाएर उभ्याउनु मेरा लागि असह्य कुरा हो।’

महिलाका मुद्दामा पुरुष लेखकलाई कम चासो हुने हुनाले महिलाले नै धेरै लेख्नुपर्ने विचार राख्छन् समीक्षक लोहनी। उता थापा भने नारी लेखकले नायिकाप्रधान कृति लेख्छन् भन्ने सोच नै पूर्वाग्राही सोच भएको आरोप लगाउँछिन्। ‘यस्तो आग्रही सोचले नारी लेखकको कल्पनाशीलतालाई बन्धकी बनाउँछ। आफू नारी भएकै कारण मेरो लेखनी पनि नारीमै केन्द्रित हुनुपर्छ भन्ने तर्क स्वीकार गर्दिनँ म’, उनी भन्छिन्।

एकातिर समीक्षक बानियाँ पात्र छनोटकै हिसाबले समकालीन नारी लेखन साँघुरिएको देख्छन्, अर्कोतिर समीक्षक शर्मा उत्पीडनको विरुद्ध आफूलाई विकास गर्न चाहने महिला लेखकको यो महŒवपूर्ण काम भएको ठान्छिन्। उनको भनाइ छ, ‘अहिलेका नारी पुस्तकका पात्रहरू बोल्ड र स्मार्ट छन्। विभेदको विरुद्ध विद्रोह गर्न सिकाएका छन्। पुरुषले लेखेका किताबमा महिलालाई सहानुभूति र सम्झौता गर्न सिकाइएको हुन्छ। महिलाले लेखेकोमा विद्रोह गर्न सिकाइन्छ।’

आग्रह पूर्वाग्राह

समीक्षक लोहनी र बानियाँ दुवै नारी लेखनको विषय र पात्र चयन फराकिलो भइदिए हुन्थ्यो भन्ने आग्रह राख्छन्। तर, नारी लेखकहरू भने यो आग्रहलाई नै पूर्वाग्राह ठान्छन्।

उपन्यासकार प्रगति राई पनि नारी लेखनले फराकिलो वृत्तमा काम गरिरहेको विचार राख्छिन्। तर, महिला लेखकले अनेक बाधा र संकटका बीचमा काम गर्नु परेको उनको अनुभव छ। लेखक प्रतीक्षा हुन् वा थापा, कल्पवृक्ष हुन् वा रोशी सबैको अनुभव र अनुभूति उस्तै छ। तर, सबैले चुनौती स्वीकार गरेका छन् र साहित्यमा जब्बर हस्तक्षेपको लालमोहर लगाउँदै छन्।

ऐतिहासिक पात्र योगमायालाई उपन्यासमा उतारेर भर्खरै किताब सार्वजनिक गरेकी निहारिका साहित्यले महिलालाई विद्रोह गर्ने हिम्मत दिने धारणा राख्छिन्। भन्छिन्, ‘मेरो कलममा दायित्व छ। कलमबाट गरिने आन्दोलन अत्यन्त प्रभावकारी हुन्छ भन्ने म ठान्छु।’

राई त झन् नारीले वंश हक नै पाउनुपर्ने अभियानमा छिन्। उनले आफ्ना मित्रहरूसँग मिलेर सर्वोच्च अदालतमा छोरीको वंश हक कायम हुनुपर्ने माग गर्दै मुद्दा नै हालेकी छन्। नारीको सम्पत्ति र वंशमा हकदाबी गर्ने राईजस्तै धेरै नारी साहित्यकारको जब्बर पाइला साहित्यमा पनि महत्वपूर्ण ठहरिने देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.