आजका आइमाई, कस्ता आइमाई ?

आजका आइमाई, कस्ता आइमाई ?

वैदिककालमा आइमाई शब्दको स्थान उच्च छ। आधुनिक समाजले आइमाई शब्दलाई गालीगलौज र हेपिएको निम्छरो रूपमा अर्थ आउने गरी प्रयोग गर्न थाल्यो। पूर्वीय सभ्यतालाई पश्चिमा सभ्यताको आँखाले हेरेर जब व्याख्या गर्न थालियो, त्यसपछिदेखि आइमाई शब्द गालीको रूपमा स्पस्ट व्याख्या गर्न सुरु गरियो।

तर स्त्री जातिको लागि आइमाई शब्द अत्यन्त आदर र सम्मानको रूपमा व्याख्या गरिनुपर्छ। आइमाई शब्दलाई आदरको रूपमा नलिई गालीको रूपमा लिएर उच्चारण गर्नै डराउने सभ्य भनिने परिपाटीलाई हामीले परिवर्तन गर्नैपर्छ। आइमाई एकमात्र त्यस्तो शब्द हो जसले एक पूर्ण स्त्री जातिको सम्पूर्ण अवस्थालाई सम्मान र आदरका साथ व्याख्या गर्ने सामर्थ्य राख्छ।

आइमाई जातिले मान्छेको दर्जामा सम्मानका साथ उभिनका लागि परिवर्तन गर्नुपर्ने कुराहरू धेरै छन्। सबैभन्दा पहिला आइमाई समुदायलाई स्वीकार गरेर व्याख्या गरिनुपर्छ। आइमाई पनि समाजको भिन्न समुदाय हो भनेर सामाजिक मनोविज्ञानले स्वीकार गर्न सकेकै छैन। बरु आइमाई भनेका पुरुषका एकपाटा हुन् भनेर स्पष्ट व्याख्या गर्छ। जस्तो कि अर्धाङ्गिनी, भार्याजस्ता शब्दहरू पुरुषसँग जोडिएर आउने शब्द हुन्। आइमाईलाई पुरुषको एउटा अंग, एउटा अभिन्न भाग भन्ने अर्थमा लिइन्छ। तर, स्वयं आइमाई जाति एउटा समुदाय हो। समाजको पूर्ण हिस्सा हो भनेर बुझिँदैन।

यही आइमाई शब्दमाथि उभिएर हामीले आइमाई समुदायको उचित व्याख्या–विश्लेषण र टिप्पणी गर्नु आजको मूल आवश्यकता छ। आइमाई समुदायलाई हिजो र आज उसैको अवस्थासँग तुलना गरेर केही निश्चित विषयमाथि बहस उठाउने प्रयासमा छु।

नेपालको राजनैतिक अवस्थालाई नियाल्दा हिजोका आइमाईको निम्ति बनेको कानुन र आजको कानुनबीचमा आकाशपातालको फरक देखिन्छ। हिजो दिनमा स्कुल जान नपाउने, जागिर खान नपाउने, बोल्न नपाउने आइमाई समुदायले अहिले त्यो अवसर पाएका छन्। तर, सामाजिक मूल्यमान्यता, धर्मसंस्कार र संस्कृतिलाई नियाल्दा देखावटी कुराहरू फरक परे पनि त्यसभित्रको आन्तरिक मान्यतामा खासै अन्तर आएको देखिँदैन।

छोरो कुलवंशको संरक्षकका रूपमा हिजो जे मान्यता थियो आज पनि त्यही मान्यता छ। कुलवंशको संरक्षक छोरी बनेकी छैन। समाजको यही मान्यता र संरचनामा कुल वंशको संरक्षक बन्न विभिन्न समस्या पनि छन्। त्यसको थप व्याख्या तल गर्नेछु।

चेतनशील आमाबुवाले छोरीलाई पनि आफ्नो सन्तान मानेर थप छोरा चाहना नराखेका थुप्रै उदाहरण छन्। तर, ती बाबुआमाले छोरो नपाएको भन, गुनासो सुन्नुपर्ने पीडा चानचुन छैन। छिमेकी, आफन्त, इष्टमित्र, शुभचिन्तक सबैले छोरो पाउनुपर्ने सल्लाह दिन्छन्। छोरीका बाबुआमालाई बिचरा भनेर निम्छरो टिप्पणी दिन्छन्। बाँच्दा जे जसो भए पनि मरेपछि वंश थाम्ने चाहिन्छ, किरिया गर्न खेताला खोज्नुपर्छ भनेर छोरी मात्र पाउने बाबुआमालाई पीडा दिएर डर पैदा गरिदिन्छन्।

स्वभावैले मान्छे राजनीतिक कानुनभन्दा धार्मिक कानुनसँग बढी कट्टर र कटिबद्ध रहेको हुन्छ। त्यस हिसाबले राजनीतिक कानुन खुकुलिँदै गए पनि कतिपय सामाजिक मूल्यमान्यता र धार्मिक विचारहरू झनै साँघुरिँदै गएको देखिन्छ। त्यसका केही उदाहरण छन्। नेपालको कानुनले छोरा र छोरी बराबर, समान हकको दाबेदार छन् भनेर कानुन बनायो। जब त्यो कानुन बन्यो तब छोरी भू्रणको हत्या हुन सुरु गर्‍यो।

भ्रूण हत्याको यकिन डाटा नभए पनि छरछिमेक र समाजमा छोरी भ्रूण कतिपय हामीले नै मारिरहेका छौं। कतिपय देखेका र सुनेका छौं। त्यसरी छोरी भ्रूण मारिनुका पछाडि विभिन्न अरू कारण पनि होलान्। त्यसमध्येको मुख्य एउटा कारण हो देशको कानुन र सामाजिक मान्यताका बीचमा तालमेल नहुनु। राजनीतिक कानुनले छोराछोरी बराबर भनिदियो। धार्मिक कानुनले जन्मिएदेखि मर्दासम्म हरेक पाइलामा छोराको अनिवार्य उपस्थिति र मुख्य भूमिकामा खोज्छ। यसैको उपज दिनानुदिन छोरी भ्रूणहरू मारिएका छन।

एकातिर अधिकारसहितको आफ्नो पहिचान खोज्दै गरेको र अर्कातिर त्यही अधिकार खोजेको निहुँमा गर्भमै हत्या व्यहोर्नु परेको तीतो वर्तमानसित पौंठेजोरी खेलिरहेको छ आइमाई समुदाय।

जब आइमाई समुदायको पहिचानको कुरा उठ्छ, त्यसमा थप अन्योलता छ। पहिचान उसको धर्म, भाषा, संस्कृति, जात, थर, गोत्र, वंशसँग जोडिएर आउँछ। दुःखको कुरा, यो समुदायको पहिचानसँग जोडिएर आउने कुनै पनि कुराको मान्यता समाजले दिएको छैन। एउटी आइमाई जुन धर्म, गोत्र, थर, संस्कृतिको पुरुषसँग जोडिन्छे ऊ त्यही हुनुपर्ने बाध्यता छ। उसको आफ्नो कुनै स्थायी पहिचान नै छैन। यो ठूलो अन्योलताको विषय छ। समाजलाई सही ढंगले अघि बढाउन अब यी सबालमा बहस र निकास दुवैको जरुरी छ।

बजारशास्त्रले, कानुनशास्त्रले, समाजशास्त्रले र धर्मशास्त्रले तोकिएभन्दा बिल्कुलै भिन्न हुन् आइमाई। आइमाईका नैसर्गिक गुणलाई न त समाजले स्वीकार गरेको छ, न त धर्मले न त कानुनले नै। जस्तो कि मासिकस्राव हुनु, बच्चा जन्माउनुलाई समाज र धर्मले गर्व र शक्तिको रूपमा व्याख्या गरेन। बरु स्त्री जातिको बाधक र कमजोरी भनेर व्याख्या ग¥र्यो। अनि हामीले पनि त्यही नै सत्य हो, ठान्यौं।

धेरैले भन्ने गर्छन् जति पढे लेखे पनि के गर्नु बच्चा पाउनु परिहाल्छ। बच्चा भएपछि अघि आउन सकिँदैन। तर, बच्चा पाउनु र हुर्काउनु गर्वको विषय हो। जागिर खानु, पढ्नुभन्दा पनि महŒवपूर्ण कर्म हो भन्दैन समाज। त्यसको कारण हो आइमाईको प्राकृतिक र नैसर्गिक गुणलाई अपव्याख्या गर्ने सामाजिक मनोविज्ञानको दादागिरी।

हामीले आफूलाई हेरेर आफ्नो व्याख्या गरेका छैनौं। समाजलाई हेरेर आफ्नो व्याख्या गर्छौं। यसले पनि हामीलाई आफूप्रति नै अन्योल बनाइदिएको छ। म एक स्वतन्त्र आइमाई हुँ भन्ने वातावरण तयार पार्न हामी लागि पर्नुपर्ने अवस्था छ।

हाम्रो शरीरको आकारप्रकार कस्तो हुनुपर्छ पुँजी बजारले तोकिदिएको छ। हामी त्यही पुँजी बजारले तोकिदिएको शारीरिक मापदण्डमा दरिने कोसिस गर्छौं। जस्तो कि छिनेको कम्मर, पातलो जीउ, सिलिक्क कपाल, गोरो छाला। यावत् मापदण्डभित्र पर्ने कोसिसमा हुन्छौं। तर हामीलाई बजारशास्त्रले कहिल्यै सिकाउँदैन तिमी एक स्त्रीमानव हौं। स्त्रीमानव बन भनेर न त धर्मशास्त्र भन्छ न बजार शास्त्र भन्छ न कानुन शास्त्र भन्छ।

अब हामीले यही समाजलाई सही ढंगले चलाउनु छ। तर समाजको समस्यालाई सही ढंगले पहिचान गर्न पनि जरुरी छ।

आइमाई पुर्खाविहीन

झन्डै पाँच हजार वर्ष पुरानो सभ्यतासँग अहिलेको हाम्रो समाज जोडिएको देखिन्छ। नेपाली समाज मिश्रित संस्कार संस्कृति परम्पराले बनेको भएता पनि पुर्खा थर गोत्रको सवालमा लगभग उस्तै समानता देखिन्छ। त्यो समानता के हो भने पुर्खा थर र गोत्र कुनै पनि जातमा आइमाईको आफ्नै छैन। पुरुषको थर र गोत्रअनुसार आइमाईको थर गोत्र निर्धारण भएको छ। पुर्खा पुरुषका छन् आइमाईका छैनन्। हाम्रा पुर्खाहरू पनि तीनै हुन् भनेर हामी दिग्भ्रमित छौं।

मानव जातिको अस्तित्व पुरुष हाँगा र आइमाई हाँगाको समान संयोजनबाट सम्भव भएको हो। तर, पुर्खाको सवालमा कुरा गर्दा पुरुष हाँगाबाट मात्र निर्धारण भएको छ। पुरुष वंशबाट पुर्खाहरू निर्धारण गरिएको छ। आइमाईलाई वंश नमान्ने प्रचलन अनुरूप वंश र पुर्खा आइमाईसँग जोडिँदै नजोडिने विषय बनाइएको छ।

आइमाईका पुर्खा को ?  हरेक घरमा आइमाई हुन्छन्। हरेक वंशजका आमाहरू आइमाई हुन्। हरेक समाज र हरेककालमा आइमाईहरू पुरुषसँगै रहे। तर उनीहरूलाई वंशज हुनबाट किन वञ्चित गराइयो ? आइमाईहरूको पुर्खालाई किन नामेट पारियो ?      

जैविक हिसाबले आइमाई हाँगाको पुर्खा त छन्। तर तिनीको कुनै दस्तावेज र आइमाई पुर्खाको आफ्नै संस्कार, संस्कृति पाइँदैन। त्यसो हुँदा जैविक हिसाबमा त आइमाई पुर्खाहरू थिए र छन्। तर सामाजिक रूपमा आइमाईहरूको आफ्नो पुर्खा छैनन्। पुर्खा नभएपछि वंश हुने कुरै भएन। वंश नभएपछि आफ्नै थर, गोत्र र जात पनि नहुने नै भयो। गोत्र थरसँग संस्कार, संस्कृति परम्परा जोडिएर आउने गर्छ, जसले पहिचान बोकेको हुन्छ।

पुरुष पुर्खाहरूको दस्तावेज र मिथ झन्डै पाँच हजार वर्ष अगाडिको लहरो आजसम्म जोडिएर आएको विश्वास गरिन्छ। तर आइमाई पुर्खाहरूको दस्तावेज केही पनि छैन। त्यहीबेलाबाट नै आइमाईहरूलाई किनारा लगाएर सामाजिक र धार्मिक मान्यताहरू बनाइएअनुरूप समाजको संरचना बनेको देखिन्छ। समाजको केन्द्रमा पुरुषहरू रहे। समाज लामो समयदेखि सामाजिक धार्मिक मान्यताहरूको लगामले बाँधिएको जटिल संस्था हो। यो संस्थाले जहिल्यै पुरुष समुदायलाई केन्द्रमा राख्यो। र महिलालाई समाजको अभिन्न समुदायको रूपमा स्वीकार गर्ने मनोविज्ञान नै ध्वस्त बनायो, जसको असर यद्यपि छ।

हाम्रो समाजको एउटा शक्तिशाली संरचनामध्यको थर र गोत्र प्रणाली हो। महाभारतकालदेखि नै यो प्रणालीको केन्द्र बाहिर छन् महिला समुदाय, जसको निरन्तरता आज पनि चलेकै छ। गोत्रको निर्धारण वंश परम्परासँग जोडिएको देखिन्छ। थर र गोत्रका व्याख्या र आधारलाई हेर्दा आदिकालका ऋषिमुनिहरू नै आजको समाजका पुर्खा भएको मान्यता छ।

मानव समुदाय नारी र पुरुष मिलेर बनेको छ भने अहिलेको समाजको सभ्यता पुरुष पुर्खासँग मात्र जोडिएको छ। नारी पुर्खाहरूको अस्तित्वलाई नामेट पारिएको छ। नारीहरूको न वंश छ न पुर्खा छ। त्यसको असरका कारणले यही सामाजिक संरचनामा रहने हो भने आइमाईको अस्तित्व र पहिचान अझै अन्योलमा छ।

वंशावली बनाउने र वंशज खोजेर आफ्नो पहिचानलाई थप बलियो बनाउने चलन अहिले जसरी बढिरहेको छ त्यसलाई मध्यनजर गर्ने हो भने आइमाईको वंशज के ?  आइमाईका पुर्खा को ? हरेक घरमा आइमाई हुन्छन्। हरेक वंशजका आमाहरू आइमाई हुन्। हरेक समाज र हरेक कालमा आइमाईहरू पुरुषसँगै रहे। तर उनीहरूलाई वंशज हुनबाट किन बञ्चित गराइयो ?  उनीहरूलाई किन वंश ठानिँदैन ? आइमाईहरूको पुर्खालाई किन नामेट पारियो ?      

थर र गोत्रको सकस

सार्वजनिक गाडीमा सवार हुँदा होस् या अस्पतालमा कुरुवा बस्दा या कुनै भोज भतेरमा पुग्दा होस्, नचिनेका मान्छेहरूले बोल्नका लागि सजिलो बहाना बनाएर सोध्ने प्रश्नमध्येको एक हो, ‘नानीको थर के हो ?’ आफ्नो थर बताएपछि पुनः प्रश्न गर्छन्– फलानो थर चाहिँ माइती कि घर ? अनि उनीहरूलाई स्पष्ट पार्नुपर्छ माइतीको थर फलानो। बिहेको थर फलानो।

नामको पछाडि थर अनिवार्य जोडिएको हुन्छ। थरले परिचय बोकेको हुन्छ। थरसँग पहिचान जोडिएको हुन्छ। तर, आइमाईको हकमा थरको पहिचान स्थायी नभएर  श्रीमान् या बाबुसँग जोडिएर आउँछ। त्यो पनि अस्थायी रूपमा। बिहे नहुञ्जेल बुवाको थर हुन्छ। बिहेपछि श्रीमान्को थर जोडिन्छ। यदि श्रीमान्को थरलाई आफ्नो नामसँग जोडेपछिसँग सम्बन्धविच्छेद भयो भने अब त्यस आइमाईको थर के हुने ?  सामान्य रूपमा त भनिएला बुवाकै थर राख्ने। यसका सामाजिक र कानुनी व्यवधान थुप्रै छन्। यसले आइमाईको मनोविज्ञानमा पार्ने नकारात्मक सकसको बारेमा समाजले अन्दाज गरेकै छैन।

थरको सकससँग गोत्र जोडिएर आउँछ। बिहेमा गोत्र सार्ने परम्परा छ। एकचोटि गोत्र सारिसकेपछि त्यसको सम्बन्धविच्छेद भयो भने अब उसको गोत्र के हुने ? यो अन्योलताका बारेमा बहस हुन जरुरी छ।

मलाई यो थर सोध्ने र भन्ने झन्झट निको लाग्दैन। तथापि सामना गरिरहनुपर्छ। यो झन्झटिलो प्रश्न र जवाफको सामना गरिरहेका अहिलेका आइमाईको एकदमै ठूलो समस्या हो थर। म फलाना थरका मान्छेकी छोरी र फलाना थरका मान्छेकी श्रीमती हुँ भनेर थरबाट परिचय सुरु गर्नुपर्छ। थर भनेन भने ‘के श्रीमान्सँग राम्रो छैन ? श्रीमान् मन पर्दैन ?’ यावत् झन्झटिला प्रश्न व्यहोर्नुपर्छ।

बिहेअगाडि नै नागरिकता, सर्टिफिकेट बन्नेहरूको थर बुवाकै हुन्छ। कानुनी रूपमा त्यही थर चलनचल्तीमा आउँछ। तर विवाहमा अनिवार्य थर र गोत्र परिवर्तन हुन्छ। यसो हुँदा कानुनी हिसाबले एउटा थर। र, धामिक हिसाबले अर्को थर र गोत्र अँगाल्नुपर्ने भएको हुँदा एउटा थप अन्योलता छाएको छ।

बेलाबेला म आफैंसँग भ्रमित हुन्छु– खासमा मेरो थर र गोत्र के हो ? मैले बिहे गर्नुअघि नै नागरिकता, शैक्षिक प्रमाणपत्रहरू हासिल गरिसकेकी थिएँ। त्यहाँ मेरो बुवाले दिएको थर छ। त्यही थरका आधारमा म कानुनी काम गर्छु। तर धार्मिक कार्यहरूमा मैले प्रयोग गर्ने गरेको जे थर हो त्यसको गोत्र प्रयोग गर्न पाउँदिनँ। मैले मेरो श्रीमान्को गोत्रअनुसारले धार्मिक कार्य गर्नुपर्छ। अनि म अन्योलमा हुन्छु। मेरो थर बुबाको छ। गोत्र श्रीमान्को छ। जब कि थरअनुसारको गोत्र हुन्छ। तर, मजस्ता धेरै आइमाईहरू फरक थर र फरक गोत्रको बोझले थिचिएर अन्योलमा छन्। पहिचानको अन्योलमा छन्।

ब्राह्मणले नेवार या मंगोलसँग बिहे गरे उसको पहिचान के ?  हिन्दुले मुस्लिमसँग बिहे गरे उसको पहिचान के ? हिजोका दिनमा यो विषय गम्भीर थिएन। अब यस विषयलाई गम्भीर रूपमा लिनुपर्छ। सामाजिक मान्यता पाउने गरी यस विषयलाई राज्यले सही ढंगले अवतरण गराउनुपर्छ।

या त आइमाई समुदायलाई यो थर र गोत्रको झन्झट नदिएको भए या त आफ्नै आमापुर्खा भइदिएको थियो भने पनि यो पहिचानको अन्योलता हुने थिएन।

लोकतान्त्रिक प्रणाली राज्य प्रवेश गरेको भनिए पनि पनि महिलाका समस्याहरूलाई राज्यले समस्या ठानेकै छैन।

यो समाजको एक मुख्य संस्था विवाह हो। एकातिर विवाह अपरिहार्य छ। अर्कातिर यसले ल्याउने अन्योल झन् जटिल बन्दैछ। यसरी दुई थर र फरक गोत्रको रडाकोमा पर्नु आजका आइमाईहरू के थरका हौं ?  भनेर अल्झिनुको बोझ स्वयंलाई मात्र थाहा हुन्छ।

लोकतन्त्रपछि नेपाली समाजमा पहिचानको कुरा खुबै उठेको छ। एउटी आइमाईको आधारभूत पहिचान के हो ? धर्म, समुदाय, जातअनुसार उसले लगाउने लुगा, गहना, शृंगारमात्र उसको पहिचान होइन। यो त उसको बुबा वा श्रीमान्सँग जोडिएर आउने कुरा भयो। स्वयं आइमाईको मौलिक पहिचान के छ त ?  आइमाई एक छुट्टै समुदाय हो।

यो समुदायलाई पहिचानको मान्यता दिनु अबको समाजको दायित्व हो। समाजमा हरेक जातजातिको धर्म, समुदायमा पहिचानको सवाल उठिरहेका अवस्थामा आइमाई समुदायलाई पनि धार्मिक र सामाजिक मान्यता प्राप्त पहिचान दिन सकियो भने मात्र लोकतन्त्रको समृद्धि हुन्छ। अब पुरुषमानब र स्त्रीमानवको सहअस्तित्वमा उभिएको समाजको परिकल्पना र त्यसलाई मूर्तरूप दिनु लोकतन्त्र समृद्धिको आधार हो, साथै चेतनशील समाजको दायित्व र परिचय हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.