पितृसत्ताको जरा कहाँसम्म ? 

पितृसत्ताको जरा कहाँसम्म ? 

४० वर्ष नारीवादी आन्दोलनमा बिताउँदा पनि कहिलेकाहीँ पितृसत्ता आफूभित्र पनि लुकेको छ कि जस्तो लाग्छ। भाषामा, शब्दमा, गीतमा जहाँतहीँ पितृसत्ता छ। जति खोतले पनि यसको जरा निस्किँदैन। यो मेरो आफ्नै अनुभव हो।

पितृसत्ता पुरानो शब्द हो। मानवशास्त्रमा खुब प्रयोग भएको यो शब्दको अर्थ अहिले फेरिएको छ। आज यसको खास अर्थ पुरुषतन्त्र हो। यो परिवारमा मात्र होइन, हरेक ठाउँमा छ। जुनसुकै पुरुषले आफ्नो तन्त्र वा शक्ति देखाउन सक्छ। जाति, वर्ग, नश्लजस्तै पितृसत्ता पनि अत्याचारी सामाजिक व्यवस्था हो। अन्य सामाजिक व्यवस्थाका जस्तै पितृसत्ताका दुई महत्वपूर्ण पक्ष छन्। पहिलो हो संरचना, जुन हामी यत्रतत्र देख्न सक्छौं। परिवारमा घरको प्रमुख को छ ? परिवारको नाम कोबाट राखिन्छ ? अधिकांश देशमा सांसद प्रायः को छन् ? कर्पोरेट लिडर, धर्म गुरु सबै पुरुष नै छन्।

पितृसत्ता विचारधारा पनि हो। यो हरेक दिन फैलिरहेको छ। विज्ञापन हेर्नुस्, गीत सुन्नुस्। यति धेरै दोहोर्‍याउनुस् कि महिलाको स्थान कहाँ छ र पुरुषको स्थान कहाँ छ भनेर हरेकको दिमागमा बसोस्। विचारधारा नदेखिने चिज हो। यसले हावा झैं प्रदूषण फैलाइरहेको छ र हामी सास लिइरहेका छौं। हामी सबैलाई लागेको छ कि बाँच्ने तरिका यहीमात्र हो, अरू कुनै तरिका छैन।

पितृसत्ताको परिभाषाले पुरुषहरूलाई उत्कृष्ट मान्छ। पितृसत्ताले आर्थिक, राजनीतिकलगायत तमाम स्रोतहरूमा नियन्त्रण गर्छ। स्रोतमा नियन्त्रण भएकै कारण निर्णय लिने शक्तिमा पनि उनीहरूको नियन्त्रण छ र, सबैभन्दा घातक, विचारधारामाथि पनि उनीहरूकै नियन्त्रण छ। धार्मिक र आर्थिक विचार उनीहरू नै बनाउँछन्, संविधान उनीहरू नै लेख्छन्। हामी कतिबेला सुत्ने, कतिबेला उठ्ने, कहाँ जाने, कहाँ नजाने उनीहरू नै सिकाउँछन्।

पितृसत्ता र शोषण

दुर्भाग्यवश पितृसत्ता पुरुषले मात्र होइन, हामी महिला पनि पूर्णरूपमा मान्छौं। हामी यसलाई बढी लागू गर्छौं। बच्चाहरूलाई पितृसत्ता सिकाउने जिम्मा हामीमाथि थोपरिएको छ। हामी आफूविरुद्ध एउटा समाज निर्माण गर्छौं। यस्तो समाज जसका कारण हामी हरेक वर्ष ५० हजार छोरीहरूलाई मृत्युको मुखमा पुर्‍याउँछौ। परिवारले मार्छ। यो नरसंहार नभएर के हो ? यस विषयमा कतिपटक संसद्मा चर्चा भयो ? हडताल भयो ? चक्काजाम भयो ? महिला अधिकारकर्मी बाहेकले छाती पिटेको मैले सुनेकी छैन। ट्रेड युनियन र राजनीतिक दल कसैलाई मतलव छैन। लाग्छ महिलाहरू महिला आन्दोलनका मात्र विषय हुन्।

पितृसत्तामा महिलाका हरेक पक्षमाथि नियन्त्रण गरिन्छ। हाम्रो श्रमशक्ति, हामी के काम गर्छौं, के पढ्छौं, के जागिर खाज्छौं, सबैमाथि नियन्त्रण गरिन्छ। हाम्रो प्रजनन शक्तिमाथि पनि नियन्त्रण हुन्छ। विवाह कति वर्षमा हुन्छ, कति बच्चा जन्माउँछौ, परिवार नियोजनको कुन साधन प्रयोग गर्छौं, सबैमाथि नियन्त्रण हुन्छ। सृष्टिले दिएको प्रजनन शक्ति पनि हाम्रो नियन्त्रणमा छैन। हाम्रो यौनिकतामा हाम्रो नियन्त्रण छैन। हामी आफ्ना छोरीचेलीलाई ढाक्छौं र अरूका छोरीचेलीलाई नांगो बनाएर बजारमा उभ्याउँछौ। आफ्नी श्रीमती छोरी या बहिनीको यौनिकतालाई ढाक्छौं र अरूलाई निर्वस्त्र बनाउँछौं। पितृसत्तालाई यी दुवै प्रकारका महिलाको आवश्यकता छ।

जति पनि सामाजिक संघसंस्था छन्, त्यहाँ पितृसत्ता छ। परिवार पितृसत्ताको प्राथमिक विद्यालय हो जहाँ श्रव्यदृश्यका माध्यमबाट पितृसत्ता सिकाइन्छ— कि हेरेर सिक नत्र सुनाउँछौ, सुनेर सिकेनौ भने दण्ड दिन्छौं। जन्मिँदासाथ हामीमाथि एउटा धर्म थोपरिन्छ। र, सम्पूर्ण धर्म पितृसत्तात्मक छन्। शिक्षा धर्म मातहत थियो। महिलालाई पढ्ने अधिकार नै थिएन। हावर्ड विश्वविद्यालयमा पुरुषले भर्ना गरेको दुई सय ३१ वर्षपछि मात्र महिलाले भर्ना पाए। म हावर्डको कुरा गर्दैछु, हाम्रो त कुरै छोड्दिनुस्।

शुद्र र महिलाले वेद सुन्न हुँदैन, सुन्यो कि खतम गर भनियो। पितृसत्ताले शिक्षाको शक्ति बुझेको थियो। महिला र शुद्रले पढ्न थाले भने त पितृसत्ता गयो। त्यसैले हामीलाई पढ्न दिइएन। कानुनी संस्थाहरूको धर्मसँग निकट सम्बन्ध छ। आर्थिक र राजनीतिक संस्थाहरू, कर्मचारीतन्त्र, प्रहरी, सेनालगायत राज्य संयन्त्रहरू पनि पितृसत्तात्मक छन्। मिडिया पनि पितृसत्तात्मक छ। १०/१२ वर्षयता एनजीओ पनि थपिएको छ। पितृसत्ताको जरा परिवारमा मात्र हुन्थ्यो भने झेल्न हुन्थ्यो। पितृसत्ताको यति ठूलो सञ्जाल छ, तपाईं उम्किएर कहाँ जानुहुन्छ ?      

संरचनागत हिंसा

पितृसत्तामा महिलामाथि हुने हिंसा दुर्घटना होइन, यो संरचनागत हो। पितृसत्ताका लागि हिंसा अनिवार्य छ। शुद्र र दलितमाथि अत्याचार बिना हिंसा कसरी हुन्छ ? गरिबको शोषणबिना हिंसा कसरी हुन्छ ? हरेक अन्यायपूर्ण प्रणाली हिंसाबाटै चल्छ। त्यसैले पितृसत्ता पनि हिंसाबाटै चल्छ। संयुक्त राष्ट्रसंघका अनुसार तीनमध्ये एक महिला हरेक दिन हिंसाको सिकार बन्छिन्। संसारका सात अर्ब मानिसमा साढे तीन अर्ब महिला छन्। तीनमध्ये एक अर्थात् एक अर्ब महिला हरेक दिन हिंसा सहन्छन्। संसारमा योभन्दा ठूलो महायुद्ध कहाँ हुन्छ ?

सबैभन्दा दुःख र आश्चर्यको कुरा के छ भने यो युद्ध सबैभन्दा बढी परिवारभित्र हुन्छ। हाम्रा आफ्नाहरूबाट अपराध हुन्छ भने दुश्मन किन चाहियो ? सरकार भन्छ कि यहाँका ४० प्रतिशत पति परमेश्वर आफ्ना पत्नीमाथि हात उठाउँछन्। अर्थात् कानुनका नजरमा हाम्रा पति परमेश्वरहरू अपराधी हन्, मेरो नजरमा होइन। विश्वभरको तथ्यांक हेर्नुभयो भने ३५ देखि ४० प्रतिशत हुन्छ। पितृसत्ताको बिरामी हामी कहाँमात्र होइन, सबै ठाउँमा फैलिएको छ।

धर्म र नारी

धर्म सबैभन्दा खतरनाक बनेको छ। म नारीको पूजा हुने धर्मको कुरा गरिरहेको छैन, किनभने त्यहाँ पितृसत्ता थिएन। चारपाँच हजार वर्षयता विकास भएका आजका आधुनिक धर्महरू सबै पितृसत्तात्मक छन्। हिन्दु धर्म, इस्लाम, बुद्धधर्म, इसाइमध्ये कुनै पनि धर्म महिलालाई आफ्नो गुरु मान्न तयार छैनन्। महिला पोप बन्न सक्दिनन्, शंकराचार्य बन्न सक्दिनन्, दलाई लामा बन्न सक्दिनन्। कस्ता भगवान हुन् जो ५० प्रतिशत निम्नकोटीका नागरिक उत्पादन गर्छन् ?  त्यस्तो धर्म कसरी मान्ने जो आधा संसार ढोकेको महिलालाई निम्नकोटीको मान्छ ?  धर्ममा भगवान्लाई पुलिंग शब्दले सम्बोधन गरिन्छ— हि। धर्मले बकाइदा भनेको छ — ‘इफ गड इज हि, हि इज गड’ ‐यदि भगवान् पुरुष हुन् भने पुरुष भगवान् हुन्। धर्मलाई चुनौती दिन हामी डराउँछौँ। बरु चुपचाप मंगलचौथीको व्रत राख्छौं। बाबुआमाको अन्तिम संस्कारको काम दाजुभाइलाई सुम्पन्छौं।

संसारका सात अर्ब मानिसमा साढे तीन अर्ब महिला छन्। तीनमध्ये एक अर्थात् एक अर्ब महिला हरेक दिन हिंसा सहन्छन्। संसारमा योभन्दा ठूलो महायुद्ध कहाँ हुन्छ ? सबैभन्दा दुःख र आश्चर्यको कुरा के छ भने यो युद्ध सबैभन्दा बढी परिवारभित्र हुन्छ।

हाम्रा कति सांस्कृतिक परम्पराहरू पितृसत्तात्मक छन्। म उसको गोडा छुन्छु, ऊ मेरो सिउँदो रंग्याउँछ। पति परमेश्वरको शरीरमा केही निसानी हुँदैन। जस्तो हिजो, आज पनि उस्तै— न मंगलसूत्र, न सिन्दूर। हाम्रो त नाम पनि फेरिन्छ। हामी छोरीहरूको कन्यादान गर्छौं। हामीमध्ये को छौं जसले यो देखेका छैनौं वा गरेका छैनौं ? सबैजना यही गर्छौं। किनभने हामी धर्मदेखि डराउँछौ।

मेरो एउटा अनुभव सुनाउँछु।

आमाको अन्तिम संस्कारमा हामी दिदीबहिनीहरू पनि गयौं।

पण्डितजीले भने— ‘म्याडम ! महिलाहरूले हुँदैन।’

मैले भनेँ — ‘तपाईं फर्किनुस्, जानुस्।’

पण्डितजीले भने— ‘हैन हैन म्याडम ! यसरी कहाँ हुन्छ ? ठीक छ तपाईं गर्नुस्।’

उनलाई पाँच सय रुपैयाँ दिनस्, जे पनि गराउनुस्। के को धर्म ?  पैसा पनि त एउटा धर्म नै हो। मेरी आमा कुनै कारणले स्वर्ग नगएकी हुन सक्छिन् तर म अन्तिम संस्कारमा सहभागी भएका कारण स्वर्ग गएकी छैनन् भन्ने म मान्दिनँ।

मेरै घरबाट उनको मलामी निस्केको थियो। जुन दिन आमाको निधन भयो, मेरा दाइ अर्कै सहरमा थिए। मेरा अंकलका छोराले भने— ‘छोरीको घरबाट मलामी निकाल्न मिल्दैन। आन्टीको शवलाई मेरो घरमा लैजाउँ, त्यहीँबाट शव निकालौंला।’

मैले भनेँ, ‘उनी तीन वर्षदेखि मेरो घरमा बस्थिन्। त्यतिबेला किन लगेनौं ?’

हामीकहाँ छोरीको घरको पानी पनि पिउन मिल्दैन भनिन्छ। तर उनी आफ्नो अन्तिम तीन वर्ष मेरो घरमा बसिन्। र, त्यहीँ अन्तिम सास लिइन्। एका दुईले बाहेक उनको शव बोक्न मलाई कसैले रोकेनन्। ९० प्रतिशतले स्याबासी नै दिए। हामी अरूलाई किन आरोप लगाउँछौं ? हामी आफैं डराउँछौ र भन्छौं कि समाज, समाज, समाज। समाज के हो ? समाज तपाईं र म हो। मलाई लाग्छ आज सबैभन्दा ज्यादा सांस्कृतिक क्रान्तिको आवश्यकता छ। सरकार र कानुन विचार गर्दै जाउँला।

पितृसत्ताको जात, वर्ग, नश्ल र हरेक धर्मसँग गहिरो सम्बन्ध छ। पितृसत्ताबिना जातिवाद चल्नै सक्दैन। जातिवादलाई निरन्तरता दिन महिलालाई शोषण गर्न जरुरी छ। हाम्रो लडाइँ केबल पितृसत्तासँग मात्र होइन। ब्राह्मणवाद, नश्लवाद र वर्गीय शोषणविरुद्ध पनि हो हाम्रो लडाइँ।

हाम्रो सबैभन्दा ठूलो दुश्मन हो— पुँजीवादी पितृसत्ता। म सोच्छु — यदि यो धर्म भन्ने चिज हुँदो हो त हामी पितृसत्तालाई खत्तम पारिसकेका हुने थियौं। तर पुँजीवाद, विश्वव्यापीकरण र निजीकरणका रूपमा नयाँ धर्महरू आएका छन्। पोर्नोग्राफी, कस्मेटिक्स, खेलौना के हुन् यी ? महिला पुरुष सबैलाई यसले उल्लु बनाएको छ।

पितृसत्ताको उत्पत्ति

प्रश्न आउँछ— पितृसत्ता आयो कहाँबाट ? किन आयो ? कतिपय मानिसको विश्वास छ कि यो प्राकृतिक हो, जैविक हो, भगवान्ले बनाएका हुन्। उनीहरू एडम र इभको कथामा विश्वास गर्छन्। जुन दिन मानिसको सृष्टि भयो, पितृसत्ता पनि त्यहीबेला पैदा भयो। यसको मतलब हो जब मानिस खतम हुन्छन् तबमात्र पितृसत्ता खतम हुनेछ। जो चिज प्रकृतिले बनाएको छ, त्यसलाई प्रकृतिले मात्र बदल्नेछ। पितृसत्ताको कुनै उपचार छैन। मंगलचौथीको व्रत गर, पूजा गर।

तर सारा दुनियाँ यो मान्दैन। कम्तीमा हामी नारीवादी यसलाई मान्दैनौं। हामीले फ्रेडरिक एंगेल्स र कार्ल माक्र्सबाट सिकेका छौं— पहिला ९५ प्रतिशतभन्दा बढी मानव अस्तित्वको समयमा पितृसत्ता थिएन। पितृसत्ता तीन हजारदेखि पाँच हजार वर्षभन्दा पुरानो छैन। कहाँ कति पुरानो छ भन्ने कुरा त्यहाँ निजी सम्पत्तिको अवधारणा कहिले आयो भन्नेमा निर्भर गर्छ। पितृसत्ता हामीले बनाएको बिरामी हो। हामीले चाह्यौं भने यसलाई खत्तम गर्न सक्छौं। हामीले पुष्टि गर्नुपर्छ कि हामी लाचार छैनौं। संविधान भन्छ सबै बराबर हुन्। तर हामी कन्यादानदेखि मंगलचौथी र अन्तिम संस्कारसम्मका गैरसंवैधानिक काम गरिरहेका छौं। यदि तपाईं महिला र दलितलाई समान अधिकार दिन सक्नुहुन्न भने संविधान बदल्दिनुस् र लेख्दिनुस् कि समानता हुँदैन। कि संविधान लागू गर्नुस्, कि संविधान बदल्नुस्।

पुरुष नै पितृसत्ताको सिकार

पितृसत्ताको असर महिला माथिमात्र होइन, पुरुषमाथि पनि परेको छ। अझ महिलाभन्दा पुरुषमाथि ज्यादा परेको छ। भनिन्छ कि— तँ केटा होस् तँ रुनु हुँदैन। पितृसत्ताले पुरुषको भावनात्मक बन्ध्याकरण गर्छ। उसले आफ्नो भावना बुझ्नै पाउँदैन। अमेरिकामा हरेक साता १२ देखि २० वर्षको किशोर बन्दुक उठाउँछ र १०/५ जनाको हत्या गर्छ। तपाईंलाई लाग्छ कि ऊ यसरी नै जन्मिएको थियो ? पितृसत्ताको फ्याक्ट्रीले उसलाई यस्तो बनाइदिन्छ। उसको मानवीयता खोसिन्छ।

एउटा धर्मको मानिस अर्को धर्म मान्ने केटीलाई बलात्कार गर्छ। उसको मनोविज्ञानका बारेमा सोच्नुस्। उसले उक्त महिलालाई घृणा गर्छ। उसको धर्मलाई पनि घृणा गर्छ। यदि म महिला हुँ र कसैलाई घृणा गर्छु भने कसम ! ऊ तिर हेर्न पनि मलाई ठिक लाग्दैन। तर त्यो पुरुष के गर्छ ?  आफ्नो लिंगलाई हतियार बनाउँछ। र, त्यसैबाट आक्रमण गर्छ। उसको के सम्बन्ध छ आफ्नो लिंगसँग ?  के सम्बन्ध छ आफ्नो शरीरसँग ? उसले त्यही लिंगबाट आफ्नो बच्चा जन्माउला ?  के मतलब छ उसको भावनासँग ?  के नाता छ आफ्नो बच्चासँग ? न भावनात्मक सम्बन्ध, न शरीरसँग सम्बन्ध न आउने पिँढीसँगै सम्बन्ध।

चाहे आतंकवाद होस् चाहे युद्ध, चाहे प्रकृतिको आर्थिक विनाश होस् वा साम्प्रदायिक हिंसा वा घरेलु हिंसा, सबैको पछाडि एउटा कारण छ— लभ अफ पावर (शक्तिको मोह)। पितृसत्ता पुरुषलाई यति विशेषाधिकार दिन्छ कि केबल ५० प्रतिशत छन् तर ९० प्रतिशत संसद्को सिटमा बसेका छन्। उसलाई आफ्नो शक्ति प्यारो छ। तर यो जैविक होइन, हामीले बनाइरहेका छौं। महिलालाई दब्न सिकाइरहेका छौं। पुरुषहरूलाई शोषण गर्न उक्साइरहेका छौं।

तर आजका महिला दब्न तयार छैनन्। पश्चिमा देशमा ५० प्रतिशतभन्दा बढी विवाह सम्बन्धविच्छेदमा परिणत भएका छन्। हामीकहाँ पनि प्रतिशत बढिरहेको छ। हाम्रा छोरीहरू पति वा मालिक होइनन् पार्टनर वा जीवनसाथी चाहन्छन्, जो खाना बनाउन सकुन्, बच्चाहरूको हेरविचार गर्न सकुन्। हामीलाई नोकरी पनि गर्न लगाउँछन् र घरको काम पनि। हामी स्वीकार गर्दैनौं। अब पुरुषहरू बदलिनुपर्छ।

पितृसत्ताको साटो के हुन्छ ?  मातृसत्ता ? होइन। पितृसत्ताको विकल्प हुन्छ — समानता। स्त्री पुरुष समानताको लडाइँ स्त्री र पुरुषबीचको लडाइँ होइन। यदि त्यो हुन्थ्यो भने बुद्धले २५ सय वर्षपहिले महिलालाई संघमा आउने अधिकार किन दिन्थे ? किन पैगम्बर मोहम्मदले महिलालाई यस्ता अधिकार दिन्थे जुन अरू धर्ममा दिइएको छैन ? यो दुई विचारधाराबीचको लडाइँ हो। एउटा भन्छ — पितृसत्ता राम्रो। अर्को भन्छ — समानता राम्रो। दुवैतिर बसेका छन् महिला र पुरुष। आज यो लडाइँ पुरुषले हामीसँग हातमा हात र काँधमा काँध मिलाएर लड्नु छ। महिलामाथिको हिंसाका विरुद्ध होइन, हिंसात्मक पुरुषका विरुद्ध लड्नु छ।

(भारतीय नारीवादी अभियन्ता एवं लेखक भसीनले सन् २०१६ मा भारतको पुणेमा दिएको यस प्रवचनको ट्रान्सक्राइव तथा अनुवाद रविराज बरालले गरेका हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.