माटोको ढिस्कोमा पुरिएर दुई महिलाको मृत्यु
बझाङ: खप्तड छान्ना गाँउपालिका–३ नुवाकोटमा माटोको ढिस्कोमा पुरिएर २ महिलाको मृत्यु भएको छ । नुवाकोट गाँउकी ३०वर्षीया रतना देवी पाध्या र माइत आएकी छिमेकी गाँउ लामातोला घरभएकी २८ वर्षीया सनीता देवी जोशीको घर पोत्न रातो माटो निकाल्न खोज्दा शनिबार पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।
ढिस्कोले पुरिएर माटो निकाल्न लागेका अन्य दुई महिला पनि घाइते भएका छन् । घाइते हुनेमा खप्तड छान्ना गाँउपालिका–३ कै सरस्वती पाध्या र किणी पाध्या रहेकी मृतका आफन्त मनोहर पाध्यले बताए ।
घाइते सरस्वती पाध्याको टाउको र छातीमा बढी चोट लागेकोले अवस्था चिन्ताजनक छ उनीहरु दुवैलाई जिल्ला अस्पतालमा ल्याइँदैछ । ढिस्कोमा पुरिएका महिलाको शब निकालिएको छ ।
विहान स्थानीय ठानाकोटमा रातो माटो निकाल्न महिलाहरुको समुह गएको थियो । यस स्थानमा माटो निकाल्न विभिन्न गुफा बनाइएको छ । मृतक दुवै महिलाका श्रीमान् रोजगारीका लागि भारत गएका छन् ।
मृतक रतनादेवी पाध्याका ५ वर्षीया, साढे तीन वर्षीया र २ वर्षीया छोरी छन् । यस्तै सरितादेवी जोशीका पनि २ वर्षीया छोरी छन् ।