‘सरुवाका फाइल बोकेर नहिँड्नुस्’
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सरुवा–बढुवाका फाइल बोकेर नहिँड्न सांसदहरूलाई निर्देशन दिएका छन्।
एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दल बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले अनावश्यक काममा लाग्नुको साटो विकासका मुद्दामा ध्यान दिन सुझाए। ‘तपाईंहरूको काम जनताका विकास–निर्माणका फाइल बोकेर कार्यान्वयनमा अघि बढ्ने हो। सरुवा–बढुवा होइन’, उनले भने।
ओलीले राष्ट्रियसभाका तीन सांसदको शपथ नरोकिने विश्वास व्यक्त गरे। ‘कार्यपालिकाको कार्यक्षेत्रभित्र पर्ने कुरालाई चाहेर पनि कसैले रोक्न सक्दैन। झगडियाले मुद्दा हाल्दिइहाल्छन्, अदालतले केही बुझ्नसम्म खोजेको होला’, उनले भने, ‘त्यसैले शपथ रोकिँदैन।’
जन्ममितिको सम्बन्धमा पछिल्लो समय सडक, प्रशासन र न्यायालयसम्म विवाद देखिनु चिन्ताजनक भएको उनले बताए। जन्ममितिको अभिलेखसमेत सही नराख्ने अभ्यासबाट देशलाई माथि उठाउनुपर्ने उनको भनाइ थियो।
सडक, प्रशासन र न्यायालयमा देखिएको जन्ममिति विवाद संसद्मै छिरेको दाबी गर्दै उनले त्यसै कारण आफूभन्दा कम उमेरका महेन्द्र राय यादवबाट आइतबार प्रतिनिधिसभा सदस्य पदको शपथ लिन गइरहेको दाबी गरे। आफू एकपटक मात्र जन्मिएकाले यस्तो विवादबाट जोगिएको उनले बताए। ‘मेरो जन्म एक दिन २००८ साल फागुन ११ गते शनिबार तदनुसार फेबु्रअरी २३ तारिख सन् १९५२’, उनले भने। ज्येष्ठ सदस्यको हैसियतमा आइतबार प्रतिनिधिसभाका सांसदलाई सांसद यादवले सांसद पदको शपथ खुवाउँदै छन्। यादवको उमेर ६३ वर्ष हो तर नागरिकतामा ८० वर्ष पुगेको छ।
‘एउटा धागो पनि विदेशबाटै ल्याउनुपर्ने अवस्थाबाट हामी माथि उठौं। केही नगरी बस्ने छुट कसैलाई हुँदैन।’
– केपी ओली, प्रधानमन्त्री
एमाले र माओवादीबीच छिट्टै एकता हुने दाबी गर्दै उनले यो एकताले मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्ने बताए। ‘प्राकृतिक सम्पदाले भरिएको देशमा एउटा धागो पनि विदेशबाटै ल्याउनुपर्ने अवस्थाबाट हामी माथि उठौं’, उनले भने, ‘अब यसरी मुलुक चल्दैन। केही नगरी बस्ने छुट कसैलाई हुँदैन।’
छिट्टै एकताको सन्देश : दाहाल
माओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी संसदीय दलको संयुक्त बैठकको सन्देश छिट्टै एकीकरण हुँदै छ भन्ने रहेको बताए। ‘प्राविधिक रूपमा एमाले र माओवादी दुई देखिए पनि शीघ्र एउटै पार्टीको बैठक बस्छौं’, उनले भने, ‘त्यसैले एकीकृत पार्टीका लागि सबै तयार हुनुहोस्।’
प्राविधिक रूपमा मात्र अलग रहेका दुई पार्टीबीच कानुनी रूपमै केही दिनभित्र एकता हुने र संसदीय दल एउटै हुने दाबी दाहालले गरे। उनले भने, ‘जनताको बहुदलीय जनवादले हामीलाई बचाएको छ। माओवादीको जनयुद्धले पनि एमालेलाई सहयोग नै पुर्याएकै छ।’ दाहालले एकै थालमा खाइसकेको र एउटै खाटमा सुतिसकेको अवस्थामा अबको दुई महिनाभित्र दुई पार्टीबीच एकता भइसक्ने बताए।
सिलवाल संसद्मा देखिएपछि...
‘किर्ते कागज’ मा छानबिनका लागि प्रहरीबाट खोजी भइरहेका एमाले सांसद नवराज सिलवाल शनिबार संसद् प्रवेश गरेका छन्। सिलवाल संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले–माओवादी संसदीय दलको संयुक्त बैठकमा सहभागी भए।
प्रहरीको खोजी सूचीमा रहेका सिलवाललाई संसद प्रवेशक्रममा प्रहरीले नै सलाम गरेका थिए। उनी कडा सुरक्षा घेरा पार गर्दै दलको बैठक कक्षमा पसेका थिए। बैठक कक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिलवालसँग हात मिलाउँदै स्वागत गरे। गृहमन्त्री रामबहादुर थापा पनि त्यहीँ थिए। सिलवालसँग एमाले–माओवादीका अरु सांसदले पनि हात मिलाए। एक्कासि उनको प्रवेशलाई लिएर एमाले–माओवादीका सांसद, संसद् सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीले समेत मुखामुख गरे।
बैठकमा सामेल भएपछि कक्षभित्र, बाहिर र चिया पसलमा एकैछिन सिलवालसँग मोबाइलमा ‘फोटो सेसन’ नै चलेको थियो। उनले सांसदहरूसँग ‘ग्रीन टी’ पिउँदै सेल्फी पनि खिचाए। यसअघि गत फागुन ७ गते सिलवाल सार्वजनिक रूपमा प्रधानमन्त्रीनिवास बालुवाटारमा देखिएका थिए। सिलवालको छानबिन फाइल प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको छ। सिलवालको ‘किर्ते कागज’ सम्बन्धी विवादमा मुद्दा चलाउने निर्णयसहितको फाइल महानगरीय प्रहरी परिसरले गत महिना जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो। सर्वोच्च अदालतको फैसलाअनुरुप छानबिनपछि परिसरले सिलवालमाथि कारबाहीको मागसहित छानबिन फाइल सरकारी वकिलसमक्ष बुझाएको हो।
आईजीपी प्रकरणमा सर्वोच्च अदालतमा चलेको मुद्दामा ‘किर्ते कागज’ पेस गरेको भन्दै छानबिनको परमादेशसहित भएको फैसलाअनुरुप परिसरले अनुसन्धान सुरु गरेको थियो। सरकारी वकिलले परिसरको छानबिन फाइलमा अध्ययन गरिरहेको छ। ‘अझै केही कागजात बुझ्नुपर्ने देखिएको छ। सबै अध्ययन गरेर मात्र के गर्ने भनेर निर्णयमा पुग्छौं। काम अझै बाँकी छ,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सूर्य दाहालले अन्नपूर्णसँग भने।