चम्किए बेल र रोनाल्डो, लयमा फर्कियो रियल मड्रिड
काठमाडौं : ला लिगा अन्तरगत शनिबारको खेलमा रियल मड्रिडले जित निकालेको छ । अघिल्लो खेलमा स्पानियोलसँग १-० ले पराजित भइ धक्का खाएको रियल मड्रिड गेटाफेमाथि ३-१ को जित निकाल्न सफल भइ लयमा फर्किएको छ ।
रियल मड्रिडको घरेलु मैदानमा भएको खेलमा जितका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल र ग्यारेथ बेलले १ गोल गरे । खेलको २४ मिनेटमा बेलको गोलबाट अग्रता बनाएको रियल मड्रिडका लागि रोनाल्डोले पहिलो हाफको अतिरिक्त समयमा गोल गरी अग्रतालाई दोब्बर बनाएका थिए ।
पेनाल्टी पाएको गेटाफेका लागि फ्रान्सिस्को पोर्टिल्लोले ६५ मिनेटमा गोल गरी खेलमा फर्कने प्रयास गरेको थियो । ७८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरी टोलीका लागि ३-१ को जित पक्का गराए । ४७ औं मिनेटमा लोइक रिमी रातो कार्ड खाँदै बाहिरिएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो ।
जितपछि २७ खेलबाट ५४ अंक बनाएको रियल मड्रिड तेस्रो स्थानमा छ । उपाघि होडमा भने अझै निकै पछिपरिरहेको छ । २६ खेलबाट ६६ अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा र समान खेलबाट ६१ अंक रहेको यथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेका छन् भने । २६ खेलबाट ५० अंक रहेको भ्यालेन्सिया चौथो स्थानमा रहेको छ ।
ला लिगा अन्तरगत शनिबारका अन्य खेलमा सेभिल्लाले यथ्लेटिक बिल्बाओलाई, गिरोनाले भिल्लारियललाई र लेगानेजले मालागालाई समान २-० ले पराजित गरे । इआइबर र डिर्पोटिभो ला कोरुनाले १-१ को बराबरी खेले ।