पोसाकका लागि अनलाइन सपिङ
काठमाडौं : परम्परागतदेखि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध विभिन्न ब्रान्डका आधुनिक कपडाका लागि अनलाइन सपिङ सुरु भएको छ । लेविज एन्ड ब्रायन फेसन लिमिटेडले अनलाइन सपिङको रूपमा शनिबारबाट कपडा डट कमको औपचारिक सुरुवात गरेको हो ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले राजधानीमा आयोजित एक कार्यक्रममार्फत उक्त अनलाइन सपिङ सुरु गरेका हुन् । बेलायतको लन्डनमा तीन वर्ष अघिदेखि सञ्चालनमा आएको कपडा डट कमले नेपाली परम्परागतदेखि बजारमा उपलब्ध विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पोसाक बिक्री गर्ने प्रमुख उद्देश्य लिएर अनलाइन सुरु गरेको उल्लेख छ ।
पछिल्लो समयमा ई–कमर्स विश्व बजारमा निकै लोकप्रिय बन्दै गएको छ । यस्तो अवस्थामा नेपालमा समेत ई–कमर्स उद्योगको प्रवद्र्धन गर्न सघाउने उद्देश्यसहित उक्त अनलाइन साइट सञ्चालन गरिएको कपडा डट कमका प्रमुख कार्यकारी विष्णु पुरीले जानकारी दिए ।
कपडा डट कमले नेपालमै पहिलोपटक सबै जातजातिका लागि पोसाकको बिक्री सुरु गरेको छ । पुरीका अनुसार यसबाट विदेशमा रहने नेपालीले पनि ईसेवा, पेपल, डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनबाट खरिद गर्न सक्नेछन् । नेपालभित्रका उपभोक्ताले भने क्यास अन डेलिभरीको समेत सुविधा छ ।
यो साइटमा नेपाली गार्मेन्ट्स, फुटवेयर, विभिन्न गिफ्ट आइटम, केक, विद्यालयका पोसाकलगायत सामान खरिद गर्न सक्नेछन् । यी सामान खरिदमा होम डेलिभरीको सुवधासमेत कम्पनीले उपलब्ध गराउनेछ ।