मुख्यमन्त्रीसँग विकास माग्दै नगर प्रमुख

मुख्यमन्त्रीसँग विकास माग्दै नगर प्रमुख

सिमरा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलले उपमहानगरको विकास र समृद्धिको यात्रामा साथ दिन आग्रह गरेका छन्।

मुख्यमन्त्री राउतको वीरगन्जस्थित निजी निवासमा शनिबार नगर प्रमुख डा.पौडेलले पूर्वाधार हिसाबमा कमजोर उपमहानगरको सम्भावना धेरै रहेकाले विकास निर्माणको अभियानमा प्रदेश सरकारबाट सकारात्मक भूमिकाको अपेक्षा राखेको बताए।

जितपुरसिमरा उपमहानगरको वर्तमान अवस्था र सम्भावनाबारे जानकारी गराउँदै मुख्यमन्त्रीलाई डा.पौडेलले ध्यानाकर्षणपत्र बुझाएका थिए। मुख्यमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा डा.पौडेलले राष्ट्रिय गौरवका आयोजना, पर्यटन, उद्योग, प्राविधिक शिक्षालय, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या, सडक सञ्जाल, पुल, कृषि, सिँचाइलगायत विषयमा प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन्।

नगरपालिका घोषणा भएको एक वर्षमै उपमहानगर बनेको जितपुर सिमरा पूर्वाधारका हिसाबमा कमजोर छ। लामो समय जनप्रतिनिधि नहुँदा विकास निर्माणको काम सन्तोषजनक हुन नसकेको र जनताको चाहना अत्यन्त बढी रहेकाले त्यसलाई सम्बोधन गर्न कठिनाइ भइरहेको डा.पौडेलको भनाइ थियो।

समृद्ध प्रदेशको आधारका रूपमा रहेको जितपुर सिमरामा निर्वाचित भएको छोटो समयमै नगरसभा सम्पन्न गरी विकासका कामलाई अघि बढाएको जानकारी गराउँदै डा.पौडेलले आगामी दिनमा प्रदेश सरकारको सहयोगबाट विकासको अभियानलाई तीव्र रूपमा अघि बढाउन सकिने बताएका थिए।

‘प्रदेशसभा र प्रदेश सरकारले पूर्णता पाएपछि यसैको मातहत रहेको स्थानीय तहहरू हर्षित छन्, प्रदेश सरकारको अभिभावकत्वमा हामी विकासका काम अघि बढाउन चाहन्छौं’, मुख्यमन्त्री राउतलाई ध्यानाकर्षण पत्र सुनाउँदै डा.पौडेलले भने, ‘स्थानीय तहहरू समृद्ध हुँदै जाँदा प्रदेशको समग्र विकासमा मद्दत पुग्छ त्यसैले प्रदेश सरकारको प्रत्यक्ष उपस्थिति हामी चाहन्छांै।’

सामथ्र्यको हिसाबले कमजोर देखिएको प्रदेश २ लाई आत्मनिर्भर बनाउन जरुरी रहेको भन्दै नगर प्रमुख डा.पौडेलले स्थानीय तहले समृद्धि हासिल गर्दै गर्दा प्रदेश पनि सबल र सुदृढ हुँदै जाने बताए।

डा.पौडेलले ध्यानाकर्षणपत्रमा राष्ट्रिय गौरवका आयोजना दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडांै–तराई एक्सप्रेस हाईवे, विशेष आर्थिक क्षेत्र (सेज), वीरगन्ज–पथलैया औद्योगिक करिडोर, पथलैया–वीरगन्ज प्रमुख व्यापारिक मार्ग, पेट्रोलियम पाइपलाइन, पूर्वपश्चिम रेलवे, पर्सा राष्ट्रिय निकुञ्जलगायत विभिन्न आयोजनाका कारण जितपुर सिमरामा विकास र समृद्धिले छिटो गति लिन सक्ने हुँदा प्रदेश सरकारले केन्द्र सरकारलाई पहल गर्नुपर्ने उल्लेख गरेका छन्।

राष्ट्रिय गौरवका आयोजनासँगै पर्सा राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर चुरियामाई, अमलेखगञ्ज, पथलैया र वीरगन्जलाई जोडेर पर्यटन हब बनाउन सकिने, जितपुर सिमरा उपमहानगरपालिका–२३ मा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रलाई कृषिमा आधारित बहु प्राविधिक शिक्षालयका रूपमा विकास गर्न सकिने, अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्न स्थानीय तहलाई संविधानले दिएको अधिकार कार्यान्वयनमा ल्याउन प्रदेश सरकारबाट पहल हुनुपर्ने, उपमहानगरभित्र प्रस्तावित दुई तहको चक्रपथ, सडक, पुल र अन्य पूर्वाधार निर्माणमा बजेटको व्यवस्था गरिनुपर्ने, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रस्तावित क्षेत्र टाँगियाबस्तीको एक हजार चार सय ७६ घरधुरीको उचित व्यवस्थापन गरिनुपर्नेलगायत विषयलाई डा.पौडेलले प्राथमिकतामा राख्न मुख्यमन्त्री राउतसँग आग्रह गरेका छन्।

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री राउतले विकास निर्माणका काममा स्थानीय तहले देखाएको चासोबाट आफू खुसी भएको बताए।

प्रदेश सरकार बनेपछि समग्र विकासका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा योजना बनाइरहेको भन्दै मुख्यमन्त्री राउतले जितपुर सिमरा उपमहानगरको विकासका लागि आफू सधैं सकारात्मक रहने प्रतिबद्धता जनाए। ‘जितपुर सिमरा उपमहानगरमा थुप्रै सम्भावना मैले पनि देखेको छु, समृद्ध उपमहानगर बनाउन सकिने थुप्रै आधार पनि छन्’, मुख्यमन्त्री राउतले भने, ‘त्यसका लागि योजनासहित अगाडि बढ्नेछु। विकासका कामका लागि सधैं सकारात्मक हुनेछु।’

अन्य स्थानीय तहको हकमा जितपुर सिमरा उपमहानगर देखिएको भन्दै मुख्यमन्त्री राउतले समृद्धिको योजना बनाएर अघि बढ्न नगर प्रमुख डा. पौडेललाई आग्रह गर्दै आफू सहयोग गर्न तयार रहेको बताएका थिए। सोही क्रममा मुख्यमन्त्री राउतले टाँगियाबस्तीको समस्याबारे नगर प्रमुख डा.पौडेलसँग जानकारी लिएका थिए। स्थानीयको उचित व्यवस्थापनसहित टाँगिया बस्ती अन्यत्र स्थानान्तरण गर्न आफूले पहल गर्ने मुख्यमन्त्री राउतले बताए। भेटमा उपमहानगरकी उपप्रमुख सरस्वती चौधरी पनि सहभागी थिइन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.