आफू जन्मेको गाउँमा 'झुप्रो' बनाउने प्रचण्डको चाहना
काठमाडौं : सधैँजसो राजनीतिक कार्यक्रमहरूमा व्यस्त हुने पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार आफ्ना गाउँलेहरूसँग थिए। 'एउटै खोलाको पानी खानेहरू' सँग भेट्दा प्रचण्ड भावुक पनि देखिएका थिए।
'अन्नपूर्ण काठमाडौं सम्पर्क समाज' ले काठमाडौंमा गरेको कार्यक्रममा उक्त गाउँपालिकामा जन्मेहुर्केर विभिन्न निकायमा पुगेका व्यक्तिहरूलाई निम्त्याइएको थियो। जहाँ प्रचण्डलाई समाजको संरक्षकका रुपमा बोलाइएको थियो।
राज्य पुनर्संरचनाअघि 'ढिकुरपोखरी काठमाडौं सम्पर्क समाज' को कार्यक्रममा सहभागी भएको सम्झना गर्दै प्रचण्डले सम्पर्क समाजको 'अपग्रेड' भएकोमा बधाई दिए र संरक्षकको जिम्मेवारीमा राख्ने प्रस्तावलाई आफूले स्वीकार गरेको बताए।
'हामी सबै भन्छौँ- जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। देश र जन्मभूमिप्रतिको प्रेम मानिसको नैसर्गिक मनोविज्ञानको कुरा हो', 'प्रचण्डको भनाई थियो, 'आफ्नो जन्मभूमिप्रतिको लगाव, भावनात्मक र मनोवैज्ञानिक सम्बन्ध गहिरो हुन्छ।'
जुनसुकै विचार, दर्शन र राजनीतिक पार्टीको भए पनि अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धिमा केन्द्रित हुनुपर्ने प्रचण्डको भनाई थियो। उनले अन्नपूर्ण गाउँपालिकालाई नमूना बनाउन स्वास्थ्य, शिक्षा, रोजगारी, विकास र पर्यटनमा ध्यान दिनुपर्ने सुनाए।
अन्तिममा प्रचण्डले आफ्नो जन्मस्थान ढिकुरपोखरीमा घर बनाउने योजना सुनाए। 'मेरा केही साथीहरूले, त्यहीँका व्यवसायी र अरु साथीहरूले पनि, एउटा झुप्रो आफू जन्मेकै ठाउँमा बनाए हुन्थ्यो भनेर भनिराख्नुभएको छ', प्रचण्डले भने, 'त्यहाँ गएर बस्ने घर बनाइयो भने तपाईँहरूसँग अन्तर्क्रिया गर्न र त्यहाँको विकास निर्माणमा सहभागी हुन पनि सजिलो हुन्छ भन्ने सोचिराखेको छु।'
प्रचण्ड २०११ मंसिर २६ गते कास्की जिल्लाको साविक ढिकुरपोखरी गाविस वडा नम्बर २ लेवाडेमा जन्मिएका हुन्। यो अहिले अन्नपूर्ण गाउँपालिकामा पर्छ।
सुन्नुस् अडियोः