लोडसेडिङमुक्त अर्घाखाँचीमा १२ घण्टा बिजुली आउँदैन
सन्धिखर्क : अर्घाखाँचीमा एकै दिन १५ पटकसम्म बिजुली जाने र आउने समस्या भएपछि व्यवसायी मात्र होइन सर्वसाधारण समेत मर्कामा परेका छन् । लोडसेडिङमुक्त घोषणा गरिएको अर्घाखाँचीमा बिजुली नभएपछि सन्धिखर्कका मात्र होइन जिल्ला भरकै स्थानीय आजित भएको प्रेम नारायण विसीले बताए ।
उनले भने, ‘लोडसेडिङको समय ताकिदिए बरु सजिलो हुने थियो । दिनमा १० देखि १५ पटक लाइन जान्छ त्यो पनि कति बेला टुंगो हुँदैन ।’ साना उद्योग, फर्निचर र कुटानी पिसानी मिल मात्र होइन जिल्लामा सञ्चालित ६ वटा रेडियो पनि समस्यामा परेका छन् ।
बत्ति नआएको बारे विद्युत कार्यालय अर्घाखाँची शाखाको नम्बर ०७७४२०१३१ र ०७७४२०३९४ मा फोन गर्दा छिट्टै आउँछ, प्युठानबाट गएको हो भन्ने उत्तर आउने गरेको बताइएको छ । लगातार १२ घण्टा सम्म लाइन नआउने गरेको स्थानीयको गुनासो छ ।