पत्रकार महासंघ नवलपरासी शाखाको ताला खुल्यो
परासी : नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा एक महिना अघि लगाइएको ताला आइतबार खोलिएको छ । नयाँ संरचना अनुसार जिल्ला शाखा गठनसहितको माग राख्दै पश्चिम नवलपरासीमा रहेका पत्रकारका पेशागत चार संगठनले माघ २२ गते महासंघमा तालाबन्दी गरेका थिए ।
शाखा गठनका लागि बारम्बार लिखित र मौखिक माग गर्दासमेत सुनुवाइ नभएको, अध्यक्षले एकलौटी कार्यक्रम गर्ने गरेको, केही पदाधिकारी र सदस्यलाई जानकारी नै नदिइ बैठक बसेको र आफू अनुकुल निर्णय गर्ने गरेको, केन्द्रिय निर्देशनअनुसार नयाँ सदस्यता खोल्नु पर्ने भएपनि त्यसतर्फ चासो नदिइएको लगायतका माग राख्दै तालाबन्दी गरिएको थियो ।
पेशागत संगठनले राखेको मागलाई सम्बोधन गर्न शाखाबाट लिखित पत्र तथा केन्द्रबाट समेत आग्रह गरिएकाले तालाबन्दी खोलिएको पश्चिम नवलपरासी प्रेस चौतारीका संयोजक केशव पराजुलीले बताए ।
प्रेस चौतारी नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार संगठनले ७ बुँद्दे माग राखेर गरिएको तालाबन्दी महासंघका पदाधिकारीको रोहबरमा खोलिएको क्रान्तिकारी पत्रकार महासंघका जिल्ला अध्यक्ष घनश्याम पोखरेल बताए । माग सम्बोधन नभए पुनः तालाबन्दी गरिने उनको भनाइ छ ।