चुडामणिको अकुत सम्पत्तिः मुद्दा चार करोड २९ लाखको, धरौटी ४५ लाख
काठमाडौंः गैरकानुनी सम्पत्ति (अकुत) आर्जनको अभियोगमा मुद्दा चलाइएका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा विशेष अदालतले ४५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।
विशेषका रजिष्ट्रार भीमकुमार श्रेष्ठले अदालतले मागेको धरौटी रकमबापत नेपाल इन्भेष्टमेन्ट बैंक जमानी बसेका कारण साधारण तारिखमा राखिएको बताए । ‘उहाँकी पत्नी भने हाजिर हुनुभएको छैन,’ श्रेष्ठले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको अकुत सम्पत्ति मुद्दामा शर्मा आइतबारै अदालतमा उपस्थित भएका थिए । विशेषका न्यायाधीशद्वय द्वारिकामान जोशी र चण्डीकाराज ढकालको इजलासले शर्मासँग ४५ लाख धरौटी मागको आदेश दिएको हो ।
उनीविरुद्ध ४ करोड २९ लाख रुपैयाँ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग थियो । यसअघि कर फछ्र्योट आयोगको सदस्यसचिव रहँदा १ अर्ब राजश्व हिनामिना गरेको अभियोगसहित अख्तियारले अर्को मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा पनि अदालतले मागेको १ करोड रुपैयाँ धरौटी रकम बुझाएर शर्मा अदालती तारेखमा छन् ।