प्रेम र यामीलाई उपाधि
काठमाडौं : दोस्रो बीआईए ह्विलचेयर म्याराथनको उपाधि प्रेमबहादुर विक र यामी झाँक्री मगरले जितेका छन्। बीआईए फाउन्डेसनका संस्थापक अर्ध्य छोग्याल रोम्पोछेको जन्मदिनको अवसरमा आयोजना गरिएको म्याराथनको पुरुषतर्फ विक र महिलामा मगरले उपाधि जितेका हुन्।
काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको म्याराथनको पुरुषमा रमेश खत्री दोस्रो तथा पवन गुरुङले तेस्रो स्थान हात पारे। त्यसैगरी महिलामा रजनी राई दोस्रो र लाली तामाङ तेस्रो भए।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार प्राप्त गरे। विजेतालाई जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डित, ट्राफिक महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनाल बीआईएका अध्यक्ष छोग्याल रोम्पोछेलगायतले पुरस्कार वितरण गरेका थिए।
भृकुटीमण्डपबाट सुरु भएको ह्विलचेयर म्याराथन टुँडिखेल, कमलादी, पुतलीसडक हँुदै पुनः भृकुटीमण्डपमा पुगेर सम्पन्न भएको थियो। चार किलोमिटरको म्याराथनमा करिब दुई सय ह्विलचेयरकर्ताको सहभागिता रहेको आयोजकले जनायो।
बीआईएले विभिन्न ११ विधामा अपांगता भएका एक सय ५० जनालाई विभिन्न तालिम तथा सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।