कस्तो छ पाकिस्तानी प्रधानमन्त्रीको नेपाल बसाई ?
काठमार्डौः पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी दुईदिने औपचारिक भ्रमणका लागि आज ३ बजे नेपाल आउँदैछन्। प्रधानमन्त्री अब्बासीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गर्नेछन् । अब्बासी विमानस्थलबाट सिधै होटल याक एन्ड यतिमा जानेछन्।
सरकारले बेलुका साढे पाँच बजे अब्बासीलाई सैनिक मञ्च टुडिखेलमा सलामी‘गार्ड अफ अनर’ दिइने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति हुनेछ। सलामीपछि होटल याक एन्ड यतिमा ओलीले अब्बासीलाई रात्रिभोज दिनेछन्। होटलमा नै ओली र अब्बासी बीच दुई पक्षिय वार्ता हुनेछ।
मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच भेटवार्ता हुने छ। अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि अब्बासी स्वदेश फर्किनेछन्। पाकिस्तानका प्रधानमन्त्री अब्बासी ओली प्रधानमन्त्री भएपछि आउने पहिलो विदेशी सरकार प्रमुख हुन्।
उनी प्रधानमन्त्री ओलीलाई बधाई दिन र विगत ४ वर्षदेखि हुन नसकेको दक्षिण एसियाली सहयोग संगठन(सार्क)को शिखर सम्मेलनको सम्बन्धमा छलफल गर्नका लागि आउँदैछन्। २०७१ सालदेखि सार्क शिखर सम्मेलन हुन सकेको छैन। २०७१ मंसिरमा १८ औं शिखर सम्मेलन काठमार्डौमा भएको थियो। दुई÷दुई वर्षमा हुनु पर्ने सार्क सम्मेलन त्यसपछि भएको छैन। भारतले बहिस्कार गरेपछि २०७३ मंसिरमा पाकिस्तान हुने भनिएको सार्क सम्मेलन रोकिएको थियो।