ट्याक्टरले किच्न लागेकी बालिकालाई बचाउँदा गर्भवतीको ज्यान गयो
जुम्ला : ट्याक्टरले किच्दा चन्दननाथ –३ निवासी २५ वर्षीया गर्भवती हिरा अधिकारीकोे सोमबार घटनास्थलमै मृत्यु भएको छ भने एक घाइते भएकी छन् । सदरमुकाममा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना. ६ त. २५७२ नम्बरको ट्याक्टरले अन्दाजी १२ वर्षीया सविना शाहीको खुट्टा किच्न लाग्दा उद्धार गर्न गएकी अधिकारीले आफ्नै ज्यान गुमाएकी हुन् ।
प्रत्यक्षदर्शीका अनुसार उनको मृत्यु दुर्घटनामा नभइ ट्याक्टरले किचेर नै भएको हो । प्रत्यक्षदर्शी लक्ष्मीकन्या बुढा भन्छिन्, ‘बचाउन जाँदा कसरी ज्यान जान्छ ? ट्याक्टर चालकले नियतबस दुईपटक अघिपछि गरेर किच्दा उनको मृत्यु भएको हो ।’ उनलाई जानीजानी किचेको अर्का प्रत्यक्षदर्शी मनोज बुढाथोकी मगरले बताए ।
उता घाइते शाहीलाई जुम्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि सोमबारनै नेपालगन्ज लगिएको छ भने उनको अवस्था गम्भीर रहेको आफन्तको भनाइ छ । मृतक अधिकारीको पेटमा सात महिना बच्चा पनि रहेको उनीरुको भनाइ छ ।
अधिकारीको मृत्युको घटनाले जुम्ला बजार तनावग्रस्त भएको छ । विरोधका कार्यक्रम जारी राख्ने भन्दै होटल, पसल, स्टशनरी लगायत सबै बन्द छन् । युवा र महिलाको छुट्टा छुट्टै समुहले प्रहरी कार्यालय तथा प्रशासन अघि धर्ना दिएका छन् । मृतकका आफन्तले ट्याक्टर चालकलाई सुरक्षा दिएको भन्दै प्रहरी कार्यालयमा ढुंगामुढा समेत गरेका थिए । स्थिति नियन्त्रण बाहिर गएपछि दुई प्रहरी र केही स्थानिय घाइते भएका छन् ।
यता ट्याक्टर चालक बमबहादुर नेपाली अहिले प्रहरी नियन्त्रणमा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । छानविन नहुन्जेल सम्म ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहने उनको भनाइ छ ।
प्रजिअ पौडेलले भने, ‘आवेगमा आएर बजार बन्द गर्नु राम्रो होइन । यसले समग्र जिल्लाबासीलाई असर पुगेको छ । तत्काल छानविन प्रक्रिया अघि बढाएर दोषीलाई कानून बमोजिम कारवाही गरिनेछ ।’