नगरपालिकामा वडाअध्यक्षको तालाबन्दी

नगरपालिकामा वडाअध्यक्षको तालाबन्दी

वीरगन्ज : पर्साको पोखरीया नगरपालिकाको कार्यालयमा वडा अध्यक्ष र स्थानीय युवाहरुले सोमबार तालाबन्दी गरेका छन्। वारुण यन्त्र सञ्चालनका लागि बिना सूचना र प्रतिस्पर्धा नगराइ नौजना कर्मचारी नियुक्त गरिएको भन्दै स्थानीय युवा र वडा अध्यक्षले नगरपालिका कार्यालयमा सोमबार तालाबन्दी गरेका हुन्।

मेयर दिप नारायण रौनीयार, उपमेयर सल्मा खातुन र प्रशासकीय अधिकृत नाथु साहले बोर्ड बैठकबाट निर्णय नगरी आफू खुशी दुईजना चालक र सातजना फायर म्यान गरी नौजना कर्मचारी नियुक्त गरेको भन्दै स्थानीय युवा र वडा अध्यक्षले नगरपालिका कार्यालयको मुल गेटमा तालाबन्दी गरेका हुन्।

कर्मचारी नियुक्तीको विरोधमा पोखरीया नगरपालिकाको वडा नम्बर १ का वडा अध्यक्ष बन्काप्रसाद कुर्मी , ३ का अजयप्रसाद कलवार, ७ का नन्दलालप्रसाद कुर्मी , ८ का किशोरीप्रसाद , ९ का रामबाबुप्रसाद चौहान र १० का सोनालालप्रसाद साह रहेका छन्। स्थानीय युवा र वडा अध्यक्षले सोमबार नगरपालिका कार्यालय अगाडि टायर बालेर नाराबाजी गर्नुका साथै मेयर रौनीयार , उपमेयर खातुन र प्रशासकीय अधिकृत साहको पुत्ला दहन पनि गरेका छन्।

नगरपालिकाका मेयर रौनीयार, उपमेयर खातुन र प्रशासकीय अधिकृत साहले आइतबार वारुण यन्त्रको चालकमा हरिहर महरा र राजेशप्रसाद तेली तथा फायर म्यानमा मेघराज यादव , बलिराम गिरी , भगवान प्रसाद कुर्मी , ज्ञानी साह कानु , नन्दकिशोर प्रसाद , रमेशसाह कलवार र दिनानाथ चौरसीयालाई आफूखुशी नियुक्त गरेको वडा अध्यक्षको आरोप छ ।

नियुक्त गरिएका कर्मचारीलाई तालिमका लागि वीरगन्ज महानगरपालिकाको वारुण यन्त्र शाखामा पठाइसकिएको जानकारी पाएको वडा नम्बर ७ का वडा अध्यक्ष नन्दलालप्रसाद कुर्मीले बताए।बोर्ड बैठकमा वारुण यन्त्र सन्चालनका लागि कर्मचारी नियुक्त गर्न पटक पटक प्रस्ताव राख्दा पनि मेयर र उपमेयरले कुनै सुनुवाइ गरेनन् , कुर्मीले भने ,‘ तर आइतबार साँझ अचानक बिना कुनै जानकारी र प्रतिस्पर्धा रातारात मेयर र उपमेयरले नौजना कर्मचारी नियुक्त गरेको छन् , नियुक्ती खारेज नभएसम्म तालाबन्दी र आन्दोलन जारी रहन्छ।

पोखरीया नगरपालिकाका मेयर रौनीयारले भने वारुण यन्त्र सञ्चालनका लागि कसैलाई पनि नियुक्त नगरिएको बताए। आठ महिनादेखि खरिद गरेर प्रयोगबिहीन अवस्थामा रहेको वारुण यन्त्र तत्काल सञ्चालनका लागि नौ जनालाई तालिम लिनका लागि मात्र वीरगन्ज पठाइएको हो ,मेयर रौनीयारले भने ,‘ तालिम पछि उनीहरुको योग्यताको आधारमा मात्रै नियुक्ती प्रक्रिया अगाडि बढाइन्छ। अहिले भने कर्मचारी नियुक्तीको सन्दर्भमा बोर्ड बैठकबाट कुनै निर्णय नभएको मेयर रौनीयारले बताए।

प्रशासकीय अधिकृत नाथु साहले भने मेयरको निर्देशनमा नौजनाको नाम आएपनि चारजनालाई मात्र तालिमको लागि वीरगन्ज पठाइएको र तालिम पछि ती चारजनालाई मात्रै करारमा नियुक्ती गरेर तत्कालका लागि वारुण यन्त्र सञ्चालन गरिने योजना रहेको बताए।पोखरीया नगरपालिका कार्यालयले आठ महिना पहिले ५२ लाख रुपैयाँमा खरिद गरेको वारुण यन्त्र, चालक र फायर म्यान नहुँदा प्रयोगविहीन अवस्थामा छ।


 

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.